खेल

भलिबलमा नेपाल-भारत भिड्दै

काठमाडौं- नेपाल र भारतको महिला भलिबल टोलीले पाँच महिनापछि बिहीबार त्रिपुरेश्वरस्थित कभर्डहलमा पुनः एकअर्काविरुद्ध खेल्दैछन्। विश्व भलिबलमा आफ्नो प्रभाव विस्तार गरिरहेको टोली हो भारत। भारतले अहिलेसम्म दक्षिण एसियाली खेलकुद(साग) मा तीनपटक महिला भलिबल समावेश हुँदा सबैमा स्वर्ण पदक जितेको छ। दक्षिण एसियाको शीर्ष टोली भारत विश्व वरीयतामा ५७औं स्थानमा छ भने नेपाल वरीयताविहीन छ।

भारतसँग मैत्रीपूर्ण खेल्न पाउनु नेपालका लागि महŒवपूर्ण अवसर भएको बताउँछन् भलिबलका पदाधिकारी। उक्त अवसर जुराइदिएको छ नेपाललाईअन्तर्राष्ट्रिय भलिबल महासंघबाट सहयोगमा प्राप्त नयाँ म्याटले।

मैत्रीपूर्ण खेललाई प्रायः हरेक प्रशिक्षकले नयाँ खेलाडीको क्षमता परीक्षण गर्ने अवसरका रुपमा लिन्छन्। तर, नेपालले बिहीबार र शुक्रबार खेल्ने मैत्री खेलमा एउटै पनि नयाँखेलाडीले डेब्यु गर्ने मौका पाउँदैनन्। नेपालले यस खेललाई छनोट गरेको टोलीमा १२औं साग खेलेको टोलीले निरन्तरता पाएको छ।

राष्ट्रिय टोलीका प्रशिक्षक सुदेशकुमार रिमाल मैत्रीपूर्ण खेलका लागि तयारी कम भएको गुनासो गर्छन्। प्रि–म्याच कन्फ्रेन्समा रिमालले भने, 'मैत्रीपुर्ण खेलले नयाँ खेलाडीको आत्मविश्वास र उसको क्षमता जाँच्ने मौका दिन्छ। तर हामीसँग समय कम भएका कारण नयाँ खेलाडीलाई विश्वास गर्ने अवस्था भएन।'

उनले मैत्रीपूर्ण खेल्ने टोली तयार पार्न १९ खेलाडी बन्द प्रशिक्षणमा राखेका थिए। नयाँ खेलाडी टोलीमा नभए पनि मैत्रीपूर्ण खेललाई आगामी १३ औं साग तयारीको रूपमा लिएको रिमालले बताए। उनले थपे, 'भारतसँग विगतमा भन्दा राम्रो खेल्ने कोसिस गर्छौं। हाम्रो मुख्य लक्ष्य आगामी सागका लागि मनोबल बढाउनु पनि हुनेछ।'

अन्तर्राष्ट्रिय भलिबल महासंघले उपलब्ध गराएको करिब २८ लाख पर्नेम्याटको उद्घाटन अन्तर्राष्ट्रिय खेलबाट हुनुपर्ने नियम छ। नेपालले त्यसको लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको थियो।

पाँच महिनाअघि भारतले श्रीलंकालाई सोझो सेटमा हराउँदै घरेलु कोर्टमा १२औं सागको स्वर्ण जितेको थियो।स्वर्ण जितेकी कप्तान पूर्णिमा एमएसको कप्तानीमा भारतले मैत्रीपूर्ण खेल खेल्नेछ। 

भारत दुवै खेलमा सहज जित निकाल्दै घर फर्कन चाहन्छ। भारतीय प्रशिक्षक वैशाली पहादतारीले नेपालविरुद्धको खेलले आपसी सम्बन्धसुमधुर बनाउने बताउँछिन्। उनले भनिन्, 'नेपालले बोलायो। हामी निमन्त्रण स्वीकार्दै आयौं। तर कोर्टमा उत्रिएपछिआफ्नो स्तरबढाउने कोसिस गर्छौं।'

दोस्रोपटक नेपाल आएकी वैशाली व्यक्तिगत रुपमा नेपाल भ्रमणविशेष बनाउने योजनामा छिन्। सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं साफ खेलकुदमा उनको कप्तानीमा भारतले स्वर्ण जितेको थियो। १७वर्षपछि नेपाल आउँदा उनी प्रशिक्षकको भूमिकामा छिन्।

उनका अनुसार मैत्रीपूर्ण खेलका लागि छनोट गरेको भारतीय टोली मिश्रित छ। टोलीमा भएका ९ खेलाडी १२ औं सागको स्वर्ण जितेकाखेलाडी हुन्। र भारतीय टोलीको आक्रमणको नेतृत्व रेखा, निर्मला र टिरिन एन्टोनीले गर्ने छिन्। उनीहरूलाई मध्यभागबाट स्मिसा केएस र जोसिफ निस्घाले स्पाइक गर्दै साथ दिनेछन्।

यता नेपाली टोलीमा राष्ट्रिय टोलीकी कप्तान बिनिता बुढाथोकी सबैभन्दा अनुभवी खेलाडी हुन्। ३१ वर्षीया विनितासँग आठौं, १० र १२औं साग खेलेको अनुभव छ। टोलीकीउपकप्तान मञ्जु गुरुङ र कोपिला उप्रेतीले १०र १२औं साग खेलेका छन्।

कप्तान विनिता घरेलु कोर्टमा नेपालले भारतलाई कडा चुनौती दिने लक्ष्यसहित कोर्टमा उत्रने बताउँछिन्। उनले भनिन्, 'हामीले भारतलाई कुनै पनि खेलमा हराउन सकेका छैनौं। उनीहरूको स्तर हाम्रोभन्दा माथि छ। तर विगतको कमजोरी सुधार्दै राम्रो खेल्ने कोसिस गछर्ौं।'

नेपालले पछिल्लो दुइ वर्षमा भारतसँग तेस्रोपटक खेल्दैछ।दुई वर्षअघि काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिप र १२ औं सागमा नेपालले भारतसँग सोझो सेट ३–० लेखेल गुमाएको थियो।

बिहीबार नेपाली टोली स्पाइकर प्रतिभा माली र सरस्वती चौधरीको प्रदर्शनमा निर्भर रहनेछ। १५ वर्षीया प्रतिभा र सरस्वतीले मुख्य स्पाइकरमा खेल्नेछन्।नेपालको बलियो पक्ष स्पाइकिङ भएको कप्तान विनिता बताउँछिन्। उनका अनुसार नेपालको कमजोर पक्ष साइड स्पाइकिङ जोन हो। अर्को कमजोर पक्ष क्विक स्पाइक पनि हो।

त्यसबाहेक लिबेरो कमला पुन, ब्लकर कोपिला उप्रेती, साइड स्पाइकबाट अरुणा शाही प्रशिक्षक रिमालको पहिलो रोजाइमा पर्ने सम्भावना छ। प्रशिक्षक रिमालसँग दोस्रो विकल्पका रुपमा ओपन स्पाइकर मञ्जु गुरुङ, नेबिका चौधरी, साइड स्पाइकर रेश्मा भण्डारी, मिडिल ब्लकरका रुपमा मनिषा चौधरी हुनेछन्।

नेपालको सम्भावित टोलीः

सेटरः बिनिता बुढाथोकी(कप्तान), ओपन स्पाइकरः प्रतिभा माली, सरस्वती चौधरी, साइड स्पाइकरः अरुणा शाही, क्विक/ब्लकरः कोपिला उप्रेती, लिबेरोः कमला पुन।

प्रकाशित: १३ श्रावण २०७३ ०३:४३ बिहीबार

भलिबलमा नेपाल-भारत भिड्दै