खेल

राखेप पुरानै अडानमा

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को प्रतिनिधिमण्डलसँग पुरानै प्रस्ताव दोहोर्‍याएको छ। आइसिसीको प्रतिनिधिमण्डलले नेपाल भ्रमणको दोस्रो दिन बुधबार राखेप सदस्यसचिव केशवकुमार विष्टसँग क्यान विवाद समाधानका विषयमा छलफल गरेको थियो।

आन्तरिक विवादमा फसेको क्यानलाई आइसिसीले तीन महिनाअघि निलम्बन गरेको थियो।

राखेप सदस्यसचिव विष्टले निर्वाचित क्यान पदाधिकारीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता गरे आफूले गठन गरेको क्यान भंग गर्दै नयाँ सिराबाट अघि बढ्ने प्रस्ताव गर्दै आएका छन्। उनले आइसिसी प्रतिनिधिसँग पनि त्यही भनाइ दाहोर्‍याएका छन्।

'अहिलेसम्मका घटनाक्रमका विषयमा छलफल भयो। जसको जहाँ त्रुटि भए पनि अब अघि बढ्ने कुरामा हामी प्रस्ट छौं,' विष्टले नागरिकसँग भने, 'मुद्दा फिर्ता गरेमा सबै सरोकारवालासँग बसेर आइसिसीसँग समन्वय गरेर अघि बढ्न तयार छौं भन्ने जानकारी गरायौं। त्यसमा उहाँहरूले राम्रो प्रस्ताव आएको भन्नुभएको छ।'

 क्यान निलम्बन गरेको आइसिसीले नेपालको पछिल्लो अवस्था बुझ्न तीन सदस्यीय टोली खटाएको थियो। टोलीमा एसियाली विकास व्यवस्थापक वन्दुला वार्नापुरा, आर्थिक व्यवस्थापक अमर शेख र कानुनी विभाग प्रमुख पाउल म्याकरोहन छन्।

एकातिर सरकारी हस्तक्षेप र अर्कोतिर विवादस्पद निर्वाचन भएको कारण देखाउँदै आइसिसीले अप्रिल २५ मा क्यानलाई निलम्बन गरेको थियो। मंसिर अन्त्यमा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन सम्पन्न भयो। तर त्यसलाई मान्यता नदिएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अर्को महिना रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो। चन्दको नेतृत्वमा निर्वाचित समितिले राखेप लगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधीन छ।

प्रतिनिधिमण्डलले बिहीबार राखेप सदस्यसचिव तथा विवादित दुवै क्यान अध्यक्ष र महासचिवसँग संयुक्त रूपमा छलफल गर्ने भएको छ। 'हाम्रो प्रस्तावमा संयुक्त बैठकमा छलफल हुन्छ,' विष्टले भने, 'सबै पक्ष तयार भएमा हामी शून्यबाट काम गर्न तयार छौं।'

आइसिसीको प्रतिनिधिमण्डलले मंगलबार पूर्वअध्यक्षहरू विनयराज पाण्डे र टंक आङबुहाङ, निर्वाचित समितिका अध्यक्ष चन्द र उनको समिति तथा प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासँग छुट्टाछुट्टै भेटेको थियो। प्रशिक्षक टमाटा र पारससँग भने टोलीले नेपालले खेल्ने प्रतियोगिताको तयारीबारे छलफल गरेका थिए। अध्यक्ष र पूर्वअध्यक्षहरूसँग भने क्यानको निर्वाचन र अहिलेको अवस्थाबारे बुझेको थियो।

प्रकाशित: १३ श्रावण २०७३ ०३:४० बिहीबार

राखेप पुरानै अडानमा