खेल

नेपाल ट्वान्टी-२० लिग: पोखराको हारले काठमाडौं प्लेअफमा

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विराटनगर सुपर किङ्सलाई सात विकेटको नतिजा सुम्पिएसँगै काठमाडौं नाइट्सको नेपाल ट्वान्टी-२० लिगको प्लेअफमा प्रवेश सम्भावना कमजोर बनेको थियो।

तर, दोस्रो खेलमा फार वेस्ट युनाइटेडसँग पोखरा एभेन्जर्सले ४१ रनको नतिजा सुम्पिएसँगै काठमाडौं भाग्यमानी साबित हुँदै प्लेअफमा प्रवेश गर्न सफल भयो। यससँगै प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लाग्यो। पहिलो खेलमा काठमाडौंको हार हुँदा पोखरा ९ खेलबाट ६ अंकसहित पाँचौं स्थानमा थियो।काठमाडौं भने १० खेलबाट आठ अंक जोड्दै चौथो स्थानमा थियो। पोखरालाई प्लेअफमा प्रवेश गर्न फार वेस्टमाथिको जित पर्याप्त थियो। तर, टस जितेर ब्याटिङ गरेको फार वेस्टले कप्तान हस्मतउल्लाह साहिदी र ओपनर विनोद भण्डारीको बिस्फोटक ब्याटिङमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८७ रनको बलियो योगफल तयार पार्‍यो।

फार वेस्टको विशाल योगफलका लागि हस्मतउल्लाह र विनोदले पहिलो विकेटका लागि १३२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। हस्मतउल्लाहले ५१ बलमा ६ चौका र दुई छक्कासहित ६७ रन जोडे।विनोदले ४७ बलमा ५९ रन हिर्काए। उनको इनिङमा ६ चौका र दुई छक्का रह्यो। पोखराका अभिमन्यु मिथुनले दुई र प्रतिश जिसीले एक विकेट लिए।लिगमा लगातार पाँच खेल हारेको पोखराले त्यसपछि लगातार तीन खेल जित्दै प्लेअफ प्रवेशको सम्भावना कायम राखेको थियो। तर, अन्तिम दुई खेलमा पनि हार ब्यहोरेसँगै पोखराको यात्रा लिग चरणमा नै सीमित भयो। जितका लागि १८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा १४६ रन मात्र जोड्यो।

१२औं ओभरको समाप्तीमा ७८-४ को स्थितिमा रहेको पोखराले १३औं र १४औं ओभरमा क्रमशः २४ र २१ रन जोड्दै जितको सम्भावना बिउँत्याएको थियो। प्रतिश जिसीले ११ बलमा पाँच छक्का मद्दतमा ३४ रन जोडे। सिद्धान्त लोहनीले २५ बलमा एक चौका र दुई छक्का मद्दतमा २८ रन जोडे। प्रतिश र सिद्धान्त पवेलियन फर्किएपछि पोखराका अन्य कुनै पनि ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन्।

फार वेस्टका दुर्गेश गुप्ताले तीन तथा साहिदी र प्रकाश जैसीले समान दुई विकेट निकाले। पोखराको हारसँगै लिगको प्लेअफ समीकरणसमेत पूरा भयो। जारी लिगमा उत्कृष्ट लयमा रहेका लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्सले यस अघि नै शीर्ष दुईका रूपमा प्लेअफमा स्थान बनाइसकेका छन्। समान १० खेल सकिँदा शीर्ष स्थानको लुम्बिनीको १६ अंक र दोस्रो स्थानको जनकपुरको १४ अंक छ।यी दुई टोली बीच पहिलो प्लेअफको भेट पक्का भैसकेको छ। यी दुई टोली बीचको विजेताले फाइनलमा स्थान बनाउनेछ।

पहिलो क्वालिफायरमा पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। तेस्रो स्थानको विराटनगर र चौथो स्थानको काठमाडौंबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुँदै छ। काठमाडौंमाथि जितसँगै विराटनगरले १० खेलबाट १० अंक जोड्दै तेस्रो स्थान पक्का गर्‍यो। काठमाडौंले प्रस्तुत गरेको १५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर अर्जुन साउद तेस्रो ओभरको पहिलो बलमा पवेलियन फर्किंदा विराटनगरको खातामा २१ रन थियो।

दोस्रो विकेटका लागि ओपनर गौरान्सु शर्मा र कप्तान रोहित पौडेलले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्दै विराटनगरको इनिङ उकासे। रोहितले ४२ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ६६ रन जोडे। गौरान्सु ४९ बलमा चार चौकासहित ५१ रनमा अविजित रहे। हुसेन तालतले २२ रन जोडे।उनले १२ बलमा दुई चौका र एक छक्का हिर्काए। काठमाडौंका अविनाश बोहोराले दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनको योगफल खडा गरेको थियो। काठमाडौंका सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ तथा सन्दिप रजालीले ३० रन जोडे। कप्तान ज्ञानेन्द्र मल्ल १३ बलमा दुई चौका र एक छक्कासहित २२ रनमा नटआउट रहे। विराटनगरका राज नाननले चार ओभरमा एक मेडनसहित मात्र १३ रन खर्चेर चार विकेट लिए ।

प्रकाशित: २४ पुस २०७९ ०३:३९ आइतबार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान