खेल

संकटालाई आहा–रारा गोल्डकपको उपाधि

पोखरामा जारी आहा–रारा गोल्डकपको शनिबार भएको फाइनल खेल। तस्बिरः नागरिक

संकटा क्लवले पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको उपाधि हात पारेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अमेरिकाको मिनेसोटा राज्यको भुटनिज यूथ स्पोर्टस क्लवलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले १२ लाख रुपैयाँ राशी नगद पुरस्कार सहित उपाधि हात पारेको हो।  

संकटाले आहाराराको उपाधि हात पारेको यो दोश्रो पटक हो। यसअघि १९ औं संस्करणमा संकटाले उपाधि हात पारेको थियो। संकटाले दोश्रोपटक उपाधि हात पार्दा दोश्रो पटक पनि विदेशी टिमलाई नै पराजित गरेको छ। उपविजेता भुटनिज यूथ स्पोर्टसले ६ लाख रुपैयाँ हात पारेको छ।  

उपाधि विजेता संकटा क्लव। तस्बिरः उमेश पुन/नागरिक

संकटाले जितका लागि अतिरिक्त समय खेल्नुपरेको थियो। निर्धारित समयमा दुवै टिमले बराबरी २ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा संकटाका सुनिल बलले गोल गरेर टिमलाई उपाधि दिलाएका हुन्।  

खेलको ८ मिनेटमा संकटाका सुरज जिउ ठकुरीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। संकटाकै मेसुकेले ३५ मिनेटमा दोश्रो गोल थपेर अन्तर दोब्बर बनाएका थिए। संकटाले गोल अन्तर दोब्बर पारेको २ मिनेटमै भुटनिजका सेल्टेलिनले गोल थपेर अन्तर घटाए। पहिलो हाफको अतिरिक्ति समयमा भुटनिजका विल्सले गोल गरेर खेललाई बराबरी तुल्याएका थिए।  

प्रकाशित: २३ पुस २०७९ १०:४६ शनिबार

उपाधि आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता संकटा क्लव