खेल

२२ औं आहारारा पोखरा गोल्डकप: संकटा र भुटनिजलाई उपाधिको प्रतिक्षा

फाईनल खेलको पूर्वसन्ध्यामा प्रशिक्षकद्वय। तस्बिरः उमेश पुन÷नागरिक

आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि छिनोफानो शनिबार हुदैंछ । दुवै फाइनलिष्ट संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका उपाधि उचाल्दै इतिहास कोर्ने सपना साँचेका छन्। योजनाको रणनीति बुन्न व्यस्त छन्।  

संकटा दोस्रो पटक उपाधि उचाल्ने योजनामा रहनेछ । संकटाको योजनालाई विफल बनाउँदै सात समुन्द्र पारी आहाको उपाधि लैजान लक्ष्य र सपना भुटनिजको छ। उपाधिको लागि दुवैले त्यहीस्तरको प्रतिस्पर्धा गर्नुपर्ने खाँचो छ।  

भुटनिजको डिफेण्डर लाईन निकै बलियो छ। संकटाको मिडफिल्ड निकै उत्कृष्ट छ। दुवै लयमा छन्। उत्कृष्ट नजितासँगै फाईनलसम्मको यात्रा तय गरेका हुन्। फाईनलमा गल्ती क्षम्य हुने छैन्। सानो गल्तीले उपाधि विमुख बन्नुपर्ने कारण बन्नेछ। त्यसको लागि दुवै टोली सजग छन्। कमजोरीमा खेल्दै उपाधि उचाल्ने योजना दुवैको उस्तै छ। दुवै टोलीको दावी पनि उपाधि उचाल्ने नै छ। जस्लो स्कोर निकाल्छ उसैले उपाधि हत्याउने छ।  

संकटाको स्ट्राइकिङ लाईनअपमा मेसुके र स्टेफन विनोङ छन्। अघिल्ला खेलहरुमा दुवैका उत्कृष्ट साझेदरी र समन्वय देखिदैं आएको छ। फाईनलमा दुवै चलेको अवस्थामा भुटनिजको डिफेण्डरलाई रोक्नै सकस पर्न सक्छ। त्यसो र प्रविन बस्नेत र रोजिन प्रजापतिको ‘कम्बिनेसन’ मिल्यो भने भुटनिजले सहज स्कोर निकाल्न सक्छ। अग्ला कदका डिफेण्डरको आड भरोसमा भुटनिजमा छ। मिगेल पालाफक्स, ओर्टेगा लगायत जस्ता खेलाडीले पनि भुटनिजलाई अझ बलियो बनाएको छ।  

संकटाको मिडफिल्डमा सुनिल बल आफैं राष्ट्रिय खेलाडी हुन्। मिडफिल्डमा उनी जमेको अवस्थामा स्ट्राकरलाई बल उपलब्ध गराउने क्षमता राख्छन्। उनको प्रदर्शनले पनि संकटालाई उपाधि दिलाउने आशा र अपेक्षा प्रशिक्षक सल्यान खड्गीको छ। ‘जित्नै लागि आउने हो । तयारी नै त्यही अनुसार हुन्छ’ प्रशिक्षक खड्गीले भने–‘रणनीतिक तयारीमा छौं। दोस्रो उपाधि उचाल्ने लक्ष्यमा छौं।’ संकटाले १९ औं संस्करणको उपाधि उचालेको थियो।  

आहा रारा गोल्डकप आफैंमा मोफसलकै प्रतिष्ठित गोल्डकप हो। प्रतिष्ठित गोल्डकप उचाल्ने सौभाग्य निकै कमै टोलीले मात्रै पाएका छन्। त्यसो र प्रदीप हुमागाँईले आहाको उपाधि उचाल्ने सौभाग्य पाईसकेका छन्। आहाको ११ औं संस्करणमा थ्रीस्टार च्याम्पियन बन्दा प्रशिक्षकको जिम्मेवारी हुमागाँईको काँधमा थियो। त्यसले पनि हुमागाँई उपाधि उचाल्नेमा आफु निकै विश्वस्त रहेको सुनाउँछन्।  

‘पोखरामा आहा रारा गोल्डकपको छुट्टै मजा छ। उत्साह छ। रौनक छ। हामी उपाधि उचाल्नै आएका हौं’ भुटनिज युथ स्पोर्टस क्लबका प्रशिक्षक हुमागाँईले शनिबार विहान पत्रकार भेटघाटमा भने, ‘पोखराको मैदान हामीलाई  होमग्राउण्ड जस्तै हो। होम ग्राउण्डकै भाईभ आएको छ। खेलाडीहरु पनि उत्साहित छन्।’ ११ औंको उपाधि उचालेको र एघारवर्षपछिको गोल्डकपको उपाधि उचाल्ने संघारमा रहँदा उनी आफैं फरक क्लबको प्रशिक्षकको जिम्मेवारीमा छन्।  

उनले आफुभन्दा सिनियर फुटबलर एवं प्रशिक्षकसँग उपाधि प्रतिस्पर्धा गर्न पाउनु नै सौभाग्य ठान्छन्। ‘संकटा प्रोफेसनल क्लब हो। उनीहरुसँग प्रतिस्पर्धा हाम्रो लागि पनि उत्कृष्ट हो’ उनी भन्छन, ‘उपाधि उचाल्ने लक्ष्यलाई साकार बनाउने ध्यानमा छौं।’  

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२औं संस्करणको आहा रारा पोखरा गोल्डकपले शनिबार उपाधिको टुंगोसँगै विट मार्ने छ। विजेताले ट्रफी उचाल्ने छ । उपविजेताले ६ लाख रुपैयाँ थाप्ने छ। विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्ने छ। उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर पाउने छ । उत्कृष्ट पाँच विधाले नगद प्राप्त गर्ने छन्।  

प्रकाशित: २२ पुस २०७९ ०८:२२ शुक्रबार

आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता