खेल

‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ मा पाहुना टिम स्तब्ध

घरेलु टिमहरु नेर्पा र डिएफसी फाइनलमा

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा बिपक्षीलाई ‘कर्नर एट्याक’ को दाउ हेर्दै नेर्पाका खेलाडी। तस्बिरः महेश्वर

खोटाङको दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता २०७९’मा पाहुना टिमका अगाडि घरेलु टिमहरु हावी हुँदै उपाधिको दावेदार भएका छन्। बिहीबार सम्पन्न सेमिफाइनलमा नेर्पा स्पोर्टस् क्लब खोटाङ र दिक्तेल फुटबल क्लब (डिएफसी) पाहुना टिमलाई पन्छाउँदै फाइनल प्रवेश गरेका हुन्।

नेर्पाले चियाबारी फुटबल क्लब इलामलाई र डिएफसीले मानेभन्ज्याङ क्लब ओखलढुंगालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्। दिक्तेलस्थित माटीखोरे खेल मैदानमा जारी प्रतियोगितामा नेर्पाले चियाबारीलाई ६–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। नेर्पाका लागि साईमन लिम्बु र बिक्की राईले समान २–२ गोल तथा बिजु भुजेल र सुदिप श्रेष्ठले १–१ गोल गरेका थिए।

खेल सुरु भएको आठौँ मिनेटमै नेर्पाका साईमनले पहिलो गोल गरेर टिमलाई अघि बढाएका थिए भने २० औं मिनटमा सुदिपको प्रहारले जाली चुम्यो। अर्का खेलाडी बिक्कीले २६ औं मिनटमा तेस्रो गोल गर्न सफल भए भने ३९ औँ मिनटमा चौथो गोल गर्न साईमन सफल भए। मध्यान्तरपछि पाँऔँ मिनटमै बिजुले पाँचौ गोल गर्दा बिक्कीले २६ मिनटमा छैठौँ गोल थपेर टिमलाई फाईनल पु¥याई छाडे। मध्यान्तरअघिको १४ औँ मिनटमा १ गोल फर्काएका चियाबारीका सञ्जय रम्तेल ३५ औँ मिनटमा अर्को गोल गर्न सफल भए पनि उनको टिमले अरु गोल थप्न नसक्दा फाईनलको सपना अधुरै रह्यो।

दोस्रो खेलमा डिएफसीसँग भिडेको ओखलढुंगाको मानेभन्ज्याङ फुटबल क्लव भने टाईब्रेकरमा फाईनल पुग्नबाट बञ्चित भएको हो। खेल सुरु भएको १५ औँ मिनटमा डिएफसीका खेलाडी मनिष लिम्बुले १ गोल गरेर टिमलाई अघि बढाउँदा मानेभन्ज्याङका मानकृष्ण राईले ३ मिनेटभित्रै १८ औँ मिनटमा जवाफी गोल फर्काउन सफल भए। तर, निर्धारित समयभित्र दुवैपक्षबाट थप गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिन पुगेको हो। टाईब्रेकरमा ६–५ को अन्तरले मानेभन्ज्याङलाई पराजित गरी डिएफसी फाइनलमा पुगेको हो।

पहिलो सेमिफाइनल खेलमा नेर्पाका बिजु भुजेल र दोस्रोमा ओखलढुंगाका टेकेन रानामगर म्यान अफ द म्याच घोषित भए। जनही २ हजार ५ सय नगद, मेडल र प्रमाणपत्रद्वारा भुजेललाई जिल्ला प्रहरी कार्यालयका निरीक्षक राजकुमार राईले तथा मगरलाई पूर्व खेलाडी चन्द्र श्रेष्ठले पुरस्कृत गरे।

०६८ जेठ २ गते सवारी दुर्घटनामा परी निधन भएको नर्सरीका विद्यार्थी अनुप राईको स्मृतिमा स्थानीय माउण्ट एभरेष्ट ईङ्लिश वोर्डिङ स्कुल दिक्तेलले गोल्डकपको सुरुवात गरेको हो। यसअघि ०७३ र ०४ का २ संस्करण एक्लैले आयोजना गरेको स्कुलले यो तेस्रो संस्करण भने क्तिेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमी (केएफए)सँगको साझेदारीमा सञ्चालन गरेको मूल आयोजक समितिका सहसंयोजक सगुन ताम्राकारले बताए। ताम्राकारका अनुसार प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार हुदैछ।

गत १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।  प्रतियोगिता विजेताले २ लाख ५१ हजार नगद, ट्रफि र प्रमाणपत्र, उपविजेताले १ लाख ११ हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने ताम्राकारले बताए। सेमिफाइनलसम्म पुग्ने २ टिमलाई पनि २५–२५ हजार नगद, कप, मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

बिधागततर्फ म्यान अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई ७ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र टिम प्रशिक्षक तथा अनुशासित टिम प्रत्येकलाई ५ हजार ५ सय ५५ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

प्रकाशित: २१ पुस २०७९ १३:३५ बिहीबार

फुटबल