खेल

जुम्लामा ५० करोडमा प्रदेशकै नमुना रङ्गशाला निर्माण हुने

जुम्लामा अत्याधुनिक रङ्गशाला निर्माण हुने भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका -५ मा अवस्थित (राजासिम)मा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रङ्गशाला निर्माण हुन लागेको हो।

रङ्गशाला नहुँदा खेलाडीहरूलाई अभ्यास गर्न,जिल्लास्तरीय विभिन्न खेलकुद आयोजना गर्न समस्या हुने गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र बहादुर खड्काले बताए। उनका अनुसार प्रदेशकै नमुना रङ्गशाला निर्माण हुनेछ,रङ्गशालाका लागि टेण्डर आह्वान भइसकेको छ। अबको २ वर्षमा सुविधायुक्त रङ्गशाला सहितका अन्य संरचना निर्माण हुने छन्।

सघन सहरी विकास कार्यक्रम अन्तर्गत रङ्गशाला बन्न लागेको हो। कुल ५० करोड लगानी मध्ये १३ करोड लागतमा रङ्गशाला निर्माण हुने छ भन्ने बाँकी ३७ करोड लागतमा बाहिरका अन्य सुविधायुक्त संरचना बन्ने छन्। जुम्लाको रङ्गशाला निर्माण प्रदेश गौरवकै आयोजना हो। अबको दुई वर्षपछि जुम्लामा सुविधायुक्त रङ्गशाला भन्ने कुराले खेलाडीहरू निकै हर्षित हुन थालेका छन्। ५० करोड लगानीमा दुई वर्ष भित्र निर्माण हुने अत्याधुनिक रङ्गशाला भित्र विभिन्न ११ वटा संरचना निर्माण हुने छन्। बाहिर निर्माण हुने अन्य संरचनाले खेलको क्षेत्रकै विकासमा जोड दिइने छ। जस अन्तर्गत पहिलो विश्व कीर्तिमानी धावक ‘हरि बहादुर रोकाया’ रङ्गशाला निर्माण हुने छ।

त्यस्तै रानी ताल पार्क निर्माण, चन्दननाथ नगरपालिका अगाडि सटर निर्माण, चन्दननाथ ८ को पक्की वडा कार्यालय भवन निर्माण,जुम्ला बजारमा कटिङ ढुङ्गा छाप्ने काम हुने छन्। कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु, कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, धाईपालादेखि भण्डारी वडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायतका ११ वटा संरचना रङ्गशाला सँगसँगै निर्माण हुनेछन्।

यस्तै सघन सहरी विकास कार्यक्रम अन्तर्गत नै डोल्पाको ठूली भेरी नगरपालिकामा २५ करोड लागतमा रङ्गशाला र सडक, त्रिपुरासुन्दरी नगरपालिकामा २५ करोड लागतमा सडक,पार्क र गेष्टहाउस निर्माण हुने खड्काले जनाए। उनका अनुसार कालिकोटको राष्टकोट नगरपालिकाको आरसिपी बजामा २० करोडमा ३० वटा सटर निर्माण हुने छन्। माथिल्लो कर्णालीका सहित ८ जिल्ला कार्यक्षेत्र रहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले चालु आव मा सडक भवन लगायतका २५ वटा आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित: १९ पुस २०७९ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App