खेल

आर्मीको प्रशिक्षकमा न्यौपाने

काठमाडौं– फुटबलका पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपाने त्रिभुवन आर्मी क्लबको प्रशिक्षक नियुक्त भएका छन्।

मेघराज केसीको दुईवर्षे सम्झौता टुंगिएपछि न्यौपानेलाई नयाँ प्रशिक्षकमा सेनाले नियुक्त गरेको हो । हालै प्रशिक्षकको ए लाइसन्स उत्तीर्ण गरेका नवीनको सम्झौता एकवर्षको रहेको प्रमुख सेनानी रामकाजी रानामगरले जानकारी गराएका छन् ।

शारीरिक तालिम तथा प्रशिक्षक विभागका प्रमुख रानामगरले नागरिकसँग भने, ‘उहाँले भर्खरै ए लाइसेन्स उत्तीर्ण गर्नुभएको छ । युवा हुनुहुन्छ । उहाँको आगमनले नेपाली सेनाले आउँदा दिन फुटबलमा अझै फड्को मार्ने आशा लिएका छौं । खेलाडीकै सल्लाहमा हामीले उहाँलाई नियुक्त गरेका हौं ।’

रानामगरले पूर्वप्रशिक्षक केसीको प्रशंसामा भने, ‘उहाँको कार्यकाल सुखद रह्यो ।’ केसीको नेतृत्वमा आर्मीले गतवर्ष राष्ट्रिय लिगमा दोस्रो स्थान प्राप्त गरेको थियो ।

न्यौपानेले प्रशिक्षणको जिम्मा लिएको आर्मी दोस्रो क्लब हो । उनले दुईवर्षअघि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको प्रशिक्षण सम्हालेका थिए । घरेलु फुटबलमा एकवर्ष प्रतिबन्धमा पर्दा लामो समय खेलाडीमा सक्रिय न्यौपानेलाई मनाङले प्रशिक्षकको जिम्मेवारी सुम्पेको थियो । उनको प्रशिक्षणमा मनाङले दुई वर्षअघि प्रेसिडेन्ट्स कपको छनोट चरणमा भाग लिएको थियो ।

२०५३ मा नक्साल युवा मण्डलबाट खेलजीवन सुरु गरेका न्यौपानेले अर्को वर्षको ‘ए’ डिभिजन लिग सोही क्लबबाट खेलेका थिए । त्यसपछि उनी २०५५ देखि २०६३ मनाङ, २०६४ देखि २०६७ सम्म एनआरटी र २०६७ देखि ०६८ मा हिमालयन शेर्पामा रहे । २०६९ मा मनाङ फर्केर खेलाडी र प्रशिक्षक सहायकमा समेत क्रियाशील रहे । मनाङले २०५७, ०६०, ०६२ र ०७० मा लिग च्याम्पियन बन्दा उनी टोलीको महŒवपूर्ण सदस्य थिए । लेफ्टब्याकका रूपमा स्थापित न्यौपानेले टोलीको आवश्यकताअनुसार सेन्टर डिफेन्डरदेखि फरवार्डसम्मको भूमिका निर्वाह गरेका थिए ।

न्यौपानेले राष्ट्रिय टोलीबाट झन्डै ५ वर्ष खेलेका थिए । सन् २००३ मा एसियन कप छनोटबाट २००७ को अन्त्यसम्म उनी टोलीका महŒवपूर्ण सदस्य रहे ।

प्रकाशित: ५ श्रावण २०७३ ०२:४४ बुधबार

आर्मीको प्रशिक्षकमा न्यौपाने