खेल

मकवानपुर गोल्डकपमा २१ लाख बचत

हेटौंडामा गत जेठमा सम्पन्न चौथो स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा २१ लाख ३६ हजार ४०१ रुपैयाँ बचत भएको छ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार गोल्डकपका लागि एक करोड ३१ लाख ५६ हजार ४५४ रुपैयाँ आम्दानी भएकोमा एक करोड ९ लाख ६७ हजार ९५३ रुपैयाँ खर्च भएको थियो। गोल्डकपबाट २१ लाख ३६ हजार ४०१ रुपैयाँ बचत भएको र २ लाख ५१ हजार रुपैयाँ उठ्न बाँकी रहेको प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए।

प्रतियोगिताको लागि हेटौंडा उपमहानगरपालिकाले २४ लाख १६ हजार ७८१, प्रदेश खेलकुद विकास समितिले ४१ लाख ९१ हजार ३८५, मकवानपुरका ८ वटा गाउँपालिकाबाट ३३ लाख ७० हजार ६८८, हेटौंडा स्कूल अफ म्यानेजमेण्टबाट ६ लाख ९८ हजार, टिकट विक्रीबाट २२ लाख ३ हजार ६०० र अन्य आम्दानी २ लाख ७६ हजार रुपैयाँ भएको थियो । गोल्डकपमा खेलाडीको भत्तामा ३३ लाख ३० हजार, पुरस्कारमा २८ लाख एकहजार ६ सय रुपैयाँ, रेफ्री खर्च ६ लाख ९९ हजार, चौर व्यवस्थापनमा ५ लाख ९४ हजार २७५, गोल्डकप तयारीमा ३ लाख २५ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।

प्रतियोगिता समापन भएको करिब ७ महिनापछि पत्रकार सम्मेलनमार्फत आम्दानी खर्च विवरण सार्वजनिक गरिएको हो। आम निर्वाचन लगायतका कारणले विवरण सार्वजनिकमा ढिलाई भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए। मकवानपुरको स्थानीय तहहरुको आर्थिक सहयोग एवम् फुटबल संघको आयोजनामा प्रतियोगिता हुँदै आएको छ। १२ वटा टिमको सहभागिता रहेको मकवानपुर गोल्डकपको चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको थियो। आम्दानी खर्च विवरण सार्वजनिक कार्यक्रममा प्रतियोगिता संयोजक प्रताप बिष्टको विदाई समेत गरिएको थियो। उनले तीन संस्करण संयोजकको भूमिका निर्वाह गरेका थिए।

पाँचौ मकवानपुर गोल्डकपको तयारी

पाँचौ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन पहिलो हप्ताबाट गर्ने तयारी गरिएको छ। आयोजक मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाले ए डिभिजन लिग फुटबल सुरु हुनु अघि फागुन ४ गतेबाट प्रतियोगिता गर्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाइएको जानकारी दिए। ‘मकवानपुर गोल्डकपको पाँचौ संस्करण फागुन ४ गतेबाट सुरु गर्ने तयारी गरेका छौं। हामीले प्रश्ताव गरेको समयमा अन्य कुनैपनि गोल्डकप आयोजकले समय मागेको छैन’, एन्फा केन्द्री सदस्य समेत रहेका लामाले भने, ‘हामी प्रतियोगितालाई निरन्तरता दिँदै जानेछौं। यस बर्षको गोल्डकपका लागि हामी तयार छौं।’ पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्कीसहित फुटबल संघ पदाधिकारीहरु उपस्थित थिए।

प्रकाशित: १८ पुस २०७९ १२:३० सोमबार

मकवानपुर गोल्डकप