खेल

मुसाको आतुरता

लन्डन- लेस्टरले कीर्तिमानी रकममा भित्याएका अहमद मुसाले गोलकिपिङ छोडेर स्ट्राइकरमा पोजिसन परिवर्तन गर्नु आफ्नो करिअरको सबैभन्दा राम्रो निर्णय भएको बताउँदै इङलिस प्रिमियर लिगमा त्यसको प्रभाव देखाउन आफू आतुर रहेको बताएका छन्।

नाइजेरियाका २३ वर्षे अन्तर्राष्ट्रिय खेलाडी यसै महिनाको पूर्वार्द्धमा सिएसकेए मस्कोबाट १ करोड ९७ लाख युरोमा किङ पावर रंगशाला आएका थिए। शारीरिक रूपमा सानो कदको भएकाले स्कुले जीवनमै मुसाले गोलकिपिङ त्याग्दै पोसिजन फेरेका थिए। इङ्लिस प्रिमियर लिगलाई शारीरिक रूपमा विश्वकै सबैभन्दा कठिन स्पर्धा मानिन्छ। तर, ५ फिट ७ इन्चका स्ट्राइकर इङ्लिस फुटबलको शारीरिक भिडन्तका लागि आफू तयार रहेको बताउँछन्।

मुसाले स्कुलबाट खेल्ने क्रममा ग्लोब्स थन्क्याएर फरवार्ड खेल्न थालेका थिए। सानो उमेरमा गरेको त्यही निर्णयका कारण करिअर अगाडि बढेको उनको विश्वास छ। पोजिसन परिवर्तन गरेकै कारण व्यावसायिक करिअर इङ्ल्यान्डसम्म पुगेको मान्ने मुसा लेस्टरमा आफूभन्दा ६ वर्ष जेठा इङ्ल्यान्ड स्ट्राइकर जेमी भार्डेको स्थायी विकल्प हुन सक्छन्।

'१० देखि १२ वर्षको उमेरसम्म म गोलकिपर थिएँ। तर मैले पोजिसन फेरेँ। त्यो मेरो जीवनको सबैभन्दा राम्रो निर्णय थियो। त्यसो नगरेको भए म यहाँ हुने थिइनँ। व्यावसायिक गोलकिपरका रूपमा यहाँसम्म आइपग्नु सहज हुने थिएन,' उनले भने, 'सुरुआती दिनमा मलाई गाह्रो भएको थियो। पछि धेरै मानिसले पनि स्ट्राइकर हुन तिमी धेरै सानो छौं भन्न थाले। तर मैले अब शरीरको आकारप्रति महत्व दिन छाडेँ। मेरो विचारमा म पनि जेमी भार्डेजस्तै हुँ। मसँग तीब्र गति छ। म कडा मिहिनेत गर्न रुचाउँछु। हामी धेरै कुरामा उस्तै छौं।'

भार्डेसँग अझै सँगै नखेलेकाले आफूसँग उनीभन्दा तीव्र गति भएको दाबी गर्न नसके पनि भार्डेजस्तै हुने इच्छा रहेको उनले बताए। 'मलाई भार्डेको खेल्ने शैली खुब मनपर्छ। मेरो विचारमा हामी दुईको तालमेल राम्रो मिल्नेछ। लेस्टरसँग अनबन्धित हुन मलाई यो राम्रो समय हो। अहिले टोली उपाधि रक्षाको अभियानमा छ,' मुसाले भने, 'सबै नाइजेरियाली खेलाडीहरू प्रिमियर लिग खेल्न मन पराउँछन्। म पनि नाइजेरियाली भएकाले यहाँ आउन पाउनु मेरा लागि गर्वको विषय हो। मेरा लागि यो सही लिग हो।'

लेस्टरको अभ्यास तरिकाबाट आफू अत्यन्तै प्रभावित भएको बताउने मुसाले प्रिमियर लिगमा उपाधि रक्षाका लागि आफ्नो तर्फबाट शतप्रतिशत मिहिनेत गर्ने बताए। अभ्यासदेखि नै प्रि्रमियर लिग रुसभन्दा धेरै कडा भएको उनको अनुभव थियो।

प्रकाशित: ४ श्रावण २०७३ ०३:१२ मंगलबार

मुसाको आतुरता