खेल

फिफा वरियतामा नेपाल ६ स्थान तल

काठमाडौं- फिफा विश्व वरीयताक्रममा नेपाल ६ स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताक्रममा नेपाल १ सय ८८ औं स्थानमा सीमित भएको छ।

दक्षिण एसियाली प्रतिद्वन्द्वीमध्ये नेपाल चौथो स्थानमा छ भने ४६ एसियाली देशका बीचमा नेपाल ३९ औं स्थानमा छ। नेपालभन्दा तल दक्षिण एसियाका भुटान १ सय ९२, श्रीलंका १ सय ९३ र पाकिस्तान १ सय ९४ औं स्थानमा छन्। दक्षिण एसियाली देशमध्ये अफगानिस्तान सबैभन्दा माथि १ सय ५० औं स्थानमा छ। अफगानिस्तानले अघिल्लो महिनाको तुलनामा ६ स्थानको फड्को मारेको हो। दोस्रो स्थानमा भारत छ। ११ स्थान माथि उक्लिएको भारत १ सय ५२ औं स्थानमा पुग्दा माल्दिभ्स १ सय ७४ औं स्थानमा यथावत छ।

सन् १९९१ बाट फिफाले आफ्ना सदस्य राष्ट्रबीच राष्ट्रिय टोलीको प्रदर्शनका आधारमा वरीयता छुट्टाउने चलन थालेको थियो। त्यही वर्ष डिसेम्बरमा १ सय २४ औं स्थान हासिल गर्नु फिफा वरीयतामा नेपालको अहिलेसम्मको सबैभन्दा माथिल्लो पोजिसन हो। यसैवर्ष जनवरीमा नेपाल विश्व वरीयताक्रमको इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुग्दा १ सय ९६ औं स्थानमा झरेको थियो।

बितेको महिना सम्पन्न कोपा अमेरिकाको फाइनल पुग्न सफल अर्जेन्टिना र बेल्जियम शीर्ष दुई स्थानमा कामय रहेको वरीयताक्रममा वेल्सले स्मरणीय फड्को मारेको छ। गत साता सम्पन्न युरोपियन च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गर्ने क्रममा सेमिफाइनलसम्म पुगेको क्रिस कोलम्यानको टोली वरीयतामा १५ स्थानको फड्को मार्दै ११ औं स्थानमा उक्लियो। 

युरोपियन च्याम्पियनसिपको समूह बी मा इङ्ल्यान्डसँग पराजित भएको वेल्सले उत्तरी आयरल्यान्ड, वरीयताक्रमको दोस्रो स्थानको बेल्जियम तथा रुसलाई पराजित गरेको थियो। सेमिफाइनलमा टोली पोर्चुगलसँग २–० को पराजय भोग्दै घर फर्किएको थियो। युरोपियन च्याम्पियनसिप जित्न सफल पोर्चुगल दुई स्थान माथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ। त्यस्तै फाइनलमा पराजित युरो २०१६ को आयोजक फ्रान्स १० स्थानको फड्को मार्दै सातौं स्थानमा पुगेको छ। यसैगरी समान दुई स्थान तल झरेका स्पेन र ब्राजिल क्रमशः आठौं र नवौं स्थानमा छन् भने इटाली दुई स्थान माथि उक्लिँदै शीर्ष १० मा समेटिएको छ।

फ्रान्समा निराशाजनक प्रदर्शन गरेको इङ्ल्यान्ड दुई स्थान तल झरेको छ। ३ लाख ३० हजार जनसंख्याको सानो देश आइसल्यान्डसँग पराजित भएको इङ्ल्यान्ड १३ औं स्थानमा झर्दा आइसल्यान्ड भने २२ औं स्थानमा उक्लिएको छ। युरोपियन च्याम्पियनसिपअघि ३४ औं स्थानमा रहेर फ्रान्सको यात्रामा निस्किएको टोलीले १२ स्थान सुधार गरेको हो। वरीयताक्रमको यो सुधारले आइसल्यान्डलाई युरोपेली फुटबलको महारथी नेदरल्यान्ड्सभन्दा पनि माथि पुर्‍याएको छ। यसपालि युरोपियन च्याम्पियनसिपमा छनोट हुनसमेत असफल भएको नेदरल्यान्ड्स अघिल्लो महिनाको तुलनामा १२ स्थान तल झर्दा २६ औं स्थानमा सीमित भएको छ।

वरीयताक्रमको शीर्ष पाँच स्थानमा कुनै फेरबदल नहुँदा कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि रक्षा गरेको चिली पाँचौं स्थानमा कायम छ। कोलम्बिया तेस्रो तथा जर्मनी चौथो स्थानमा यथावत छन्।

प्रकाशित: ३१ असार २०७३ ०५:५८ शुक्रबार

फिफा वरियतामा नेपाल स्थान तल