खेल

अष्ट्रेलियन टोलीसँग मुरलिधरन

कोलम्बो- अस्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले स्पिनर हस्ती मुथैया मुरधिधरनको सहयोगमा श्रीलंकाली माटोमा आफ्नो टोलीले सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। उपमहाद्वीपका पछिल्ला भ्रमण सुखद नरहेकाले पनि कप्तान स्थिम र उनको टोली सचेत देखिएको छ।

टेस्ट क्रिकेटका सर्वाधिक विकेट लिएका मुरलिधरन केही दिनअघि मात्र अस्ट्रेलियाको अस्थायी सल्लाहकार बनेका छन्। अस्ट्रेलिया र श्रीलंकाबीच जुलाई २६ बाट टेस्ट क्रिकेट शृंखला सुरु हुँदैछ। पछिल्लोपटक २०१३ मा दक्षिण एसियाको भ्रमण क्रममा अस्ट्रेलियाले भारतविरुद्धका चारै टेस्टमा हार बेहोरेको थियो।

स्थिमले श्रीलंकाविरुद्धका तीन टेस्ट, पाँच एकदिवसीय र दुई वटा ट्वान्टी–२० मा अस्ट्रेलियन टोलीले उच्च तापक्रमदेखि चिसो ठाउँमा समेत खेल्न सक्ने विश्वास व्यक्त गरे।

उनले भने, 'पछिल्ला केही वर्षयता उपमहाद्वीपमा हामी त्यति सफल हुन सकेका छैनौं। यो भ्रमणले त्यसमा केही परिवर्तन आउन सक्छ।'

कप्तान स्थिमले स्थानीय वातावरणसँग घुलमिल हुन टोलीले शृंखलाअघि पनि बढीभन्दा बढी समय श्रीलंकामा बिताउन चाहेको बताए।

'आउने क्रिकेट शृंखला रोमाञ्चक हुनेछ। तर उपमहाद्वीपको भ्रमण सधैँ कठिन हुने गरेको छ,' उनले थपे, 'यहाँ थप समय बिताउँदा र विज्ञहरूको सल्लाहले फाइदा पुग्नेछ।'

अस्ट्रेलियाका पूर्व खेलाडी स्टुवार्ट ल र मुरलिधरनले अस्ट्रेलियन टोलीलाई सल्लाह–सुझाव दिनेछन्।

झन्डै दुई दशक टेस्ट क्रिकेटमा बिताएका मुरलिधरनले १ सय ३३ टेस्ट क्रिकेटमा ८ सय विकेट लिएका थिए। तर उनले खेलाडीका रूपमा अस्ट्रेलियामा खेल्दा भने निकै आलोचना खेप्नुपरेको थियो। उनको बलिङ एक्सन अवैधानिक नभएको औपचारिक पुष्टि हुनुअघि अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री जोन हवार्डले मुरलिधरनलाई 'चकर' को समेत आरोप लगाएका थिए।

सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका विवादास्पद मुरलिधरनलाई विज्ञका रूपमा टोलीमा राखिएको भन्ने प्रश्नको जवाफमा स्मिथले भने, 'हामी सबैलाई थाहा छ उनी निकै अनुभवी खेलाडी हुन्। यहाँको विकेटबारे उनलाई थाहा छ। उनले हाम्रा स्पिनरलाई मद्धत गर्नेछन्। उनी जस्ता महान खेलाडी शृंखलाअघि हाम्रो टोलीमा रहनुले निकै फाइदा पुग्नेछ।'

श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले भने मुरलिधरनको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे। 'मेरो विचारमा यो विवादास्पद जिम्मेवारी हो। तर यो व्यावसायिक जिम्मेवारी हो। अब उनी प्रशिक्षण टोलीमा छन्,' उनले भने, 'स्थानीय व्यक्तिको सल्लाहले पक्कै पनि विदेशी टोलीलाई फाइदा पुग्नेछ।'

अस्ट्रेलियन टोलीका कप्तान डारेन लेम्यानले शृंखलाका लागि टोली तयार रहेको बताए। उनले 'हामी शृंखलाभन्दा केही समयअघि नै यहाँ आएका छौं। थप समय बिताउँदा त्यसले आउने शृंखलामा मद्धत पुग्न सक्छ।'

श्रीलंकाको पछिल्लो इङ्ल्यान्ड भ्रमण भने सुखद रहन सकेन। इङ्लिस टोलीसँगको प्रतिस्पर्धात्मक शृंखलाले टोलीलाई फाइदा पुगेको प्रशिक्षक ग्राहम फोर्डले बताए। उनले भने, 'इङ्ल्यान्डसँगको शृंखला निकै प्रतिस्पर्धात्मक थियो। कतिपय खेलाडी आफ्नो खेलजीवनको सुरुआतमा छन्, ती खेलाडीका लागि त्यो भ्रमण फलदायी रह्यो। अब आउने शृंखलामा त्यो अनुभव काम आउन सक्छ।'

प्रकाशित: ३१ असार २०७३ ०५:५१ शुक्रबार

अष्ट्रेलियन टोलीसँग मुरलिधरन