खेल

२२ औं आहा रारा पोखरा गोल्डकप: चर्च ब्वाईजको उत्कृष्ट पुनरागमन जित

गोल गरेपछि चर्च ब्वाईजका स्ट्राईकर अन्जन विष्ट सेलब्रेशन गर्दै। तस्बिर उमेश पुन/नागरिक

उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब २२ औं आहा रारा पोखरा गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नेपाल पुलिस क्लब भने पहिलो खेलबाटै बिदाई लिएको छ।

पोखराको आहा रारा गोल्डकपमा गर्विलो इतिहास बोकेको नेपाल पुलिस क्लब चर्च ब्वाईजसँग २–१ गोलले पराजित हुदैं बाहिरिन पुग्यो। पोखरामा आफनो शाख जोगाउने पुलिसको प्रयास अतिरिक्त समयमा विफल भयो।

पहिलो हाफमै गोल गर्दै उत्कृष्ट शुरुवात गरेको पुलिस भने दोस्रो हाफमा लय समाउन नसकेपछि चर्च ब्वाईजले पुनरागमन गर्यो। खेलको ७८ औं मिनेटमा आइपुग्दा चर्च ब्वाईज खेलमा फर्कियो। एक गोलले पछि परेको अवस्थामा चर्च ब्वाईजलाई खेलमा फर्काउन अन्जन विष्टले गोल गरे। केही दिन अघि मात्रै मनाङ मस्र्याङ्गी क्लबबाट अलग्गिएका विष्ट चर्च ब्वाईजमा आवद्ध हुदैै पोखरा रंगशाला फुटबल मैदानमा नेपाल पुलिस क्लब विरुद्ध उत्रिए। 

खेलको २५ औं मिनेटमा रविशंकर पासवानको गोलमा पुलिसले अग्रता लियो। चर्च ब्वाईजका कप्तान अनन्त तामाङले क्लियर गर्न नसकेको बल कलेक्ट गर्दै रविले निरकुमारलाई पास दिए। निरकुमारले पनि डिबक्स भित्र वान टु वान पास फेरी रविलाई दिए। रविले डिबक्स भित्रबाट फष्ट बारमा गोल गर्दै पुलिसलाई स्पष्ट अग्रता दिलाए। पहिलो हाफमा दुवैले गोलको लागि अवसर सृजना गर्न तल्लिन थिए। खेलको ९ औं मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकिक अवसरलाई चर्च ब्वाईजले सदुपयोग गर्न सकेन्। अन्जन विष्टको प्रहार क्रसबार माथिबाट बाहिरिन पुग्यो। १४ औं मिनेटमा नेपाल पुलिसका लागि निरकुमार राईका पावरफुल सट दिनेश राजबंशीलाई लागेर रिफ्लेक्ट हुन पुग्यो। ३१ औं मिनेटमा निरकुमारकै पासलाई रविशंकर पासवानले हानेको फितलो प्रहार चर्च ब्वाईजको गोलकिपरकै हातमा पर्यो।

खेलमा फर्किन चर्च ब्वाईजले लगातार कोशिस गर्यो। ७८ औं मिनेटमा गोल गर्दै चर्च ब्वाईज खेल फर्कियो। तेज तामाङको कर्नर बललाई एरिक विष्टले हेड गरे। विष्टको हेडलाई पुलिसका खेलाडीकै बीचबाट अन्जन विष्टको सटिक प्रहार गोलमा परिणत भएपछि खेल थप रोमाञ्चक बन्यो। पोखराको चिसो मौसममा दर्शकको उपस्थिति न्यून रहेपनि चर्च ब्वाईजको गोलसँगै खेल रोमाञ्चकसँगै प्रतिस्पर्धात्मक बन्यो।

बराबरी गोल फर्काउनु अघि चर्च ब्वाईजले आक्रमणलाई शसक्त बनायो। ५१ औं मिनेटमा दिनेशले दिएको थ्रो बललाई अनन्त तामाङको हेडपासलाई आशिष चापागाईले सदुपयोग गर्न सकेनन्। आशिषको प्रहार आउट हुन पुग्यो। ५९ औं मिनेटमा चर्चका लागि अर्को पुलिसको पोष्टमा आक्रमण बुन्यो। अन्जनको हेड पुलिसका गोलकिपरले बचाउ गरे। खेल सकिदाँ दुवै टोली १–१ गोलमा टुंगियो।

निर्धारित समयमा बराबरी पछि थपिएको समयमा चर्च ब्वाईजले निर्णायक गोल गर्दै पुलिसको यात्रामा ठेस पुर्यायो। ९९ औं मिनेटमा तेज तामाङको कर्नर बललाई अन्जन विष्टले हेड गरे। पुलिसकै सिक्स यार्ड बक्सभित्र हुलमलकै अवस्थामा अनन्त तामाङले गोल गरे। उनको गोल चर्च ब्वाईजको अघिल्लो यात्राको लागि निर्णायक बन्यो। पुलिसको पोखरा बसाई छोटियो। चर्च ब्वाईजका प्रशिक्षक विक्रम लामाले नयाँ टिम भएकोले खेलाडीको फर्मेसन मिलाउन गाह्रो भएको बताए। ‘दोस्रो हाफमा केही सुधार गर्यौ र जित निकाल्यौं’ उनले भने। प्रशिक्षक लामाले आगामी खेलमा अझै सुधार गर्ने उत्कृष्ठ प्रदर्शन गर्ने अठोट लिए।

अन्जन विष्ट खेलमा म्यान अफ दि म्याचको हकदार बने। सहारा क्लबको आयोजना, हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा रहेको आहा रारा पोखरा गोल्डकपको शनिबार शसस्त्र प्रहरी बल(एपीएफ क्लब) र धरान फुटबल क्लब बीच हुने छ।  

प्रकाशित: १५ पुस २०७९ १२:११ शुक्रबार

२२ औं आहा रारा पोखरा गोल्डकप चर्च ब्वाईज