खेल

इष्टर्न ओपन गल्फ शुरु, पहिलो दिन धराने गल्फर निरज शीर्षस्थान

सुर्य नेपाल इष्टर्न ओपनको पहिलो दिन शीर्ष स्थानमा रहेका निरज तामाङ। तस्बिर: रोहित राई

चार दिने सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन स्थानीय गल्फर निरज तामाङ ५ अण्डर ६५ स्कोरका साथ शीर्ष स्थानमा रहन सफल भएका छन्।

पार ७० को धरान गल्फ कोर्षमा उनले फ्रन्ट नाइटमा ६ अण्डर ३० को उत्कृष्ट कार्ड बनाए भने ब्याक नाइनमा १ ओभर ३५ को कार्ड बनाए। फ्रन्ट नाइनमा पहिलो होल पार खेलेर शुरुवात गरेका निरजले दोस्रो, तेस्रो, पाँचौं, छैटौं, सातौं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाएका थिए। उनले पार ४ को नवौं होलमा इगल खेल्दै २ स्ट्रोक जोगाए पनि आठौं होलमा बुगी खेलेपछि फ्रन्ट नाइनमा ६ अण्डर ३० को कार्ड बनाए।

ब्याक नाइनमा पनि १० औं होलमा बर्डी खेल्दै शुरुवात गरे पनि निजरले फ्रन्ट नाइनमा जस्तो लय समात्न सकेनन्। उनले १० औं, ११ औं र १२ औं होलमा बर्डी खेले पनि १३ औं, १४ औं, १७ औं र १८ औं होलमा बुगी खेप्दै स्ट्रोक खेर फालेपछि ब्याक नाइन १ ओभर ३५ को कार्ड बनाएका थिए। ‘पहिलो दिन यति धेरै अण्डर हुन्छ जस्तो लागेको थिएन, आज सबैभन्दा राम्रो पटिङ भयो। अरु ठिकै थियो, पटिङले साथ दियो,’निरजले भने,‘भोली दोस्रो दिन पनि अझ धेरै बर्डी गर्ने नभए पनि ५ अण्डरलाई कायमै राख्ने लक्ष्य लिएर खेल्छुँ।’ निरज १३ आंंै दक्षिण एसियाली खेलकुदमा गल्फतर्फको स्वर्ण पदक विजेता खेलाडी पनि हुन्।

यसैगरि, समान ४ अण्डर ६६ स्कोरका साथ धराने गल्फर शुक्रबहादुर राई र सञ्जय लामा संयुक्त दोस्रो स्थानमा छन्। शुक्रले फ्रन्ट नाइनमा १ अण्डर ३५ को कार्ड बनाउदा ब्याक नाइनमा ३ अण्डर ३१ को कार्ड बनाए। सञ्जले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाएका थिए भने ब्याक नाइनमा १ अण्डर ३३ को कार्ड बनाए।

यस्तै, ३ अण्डर ६७ स्कोरका साथ भुवन नगरकोटी चौथो स्थानमा छन्। उनले फ्रन्ट नाइनमा लेभल ३६ को कार्ड बनाउदा ब्याक नाइनमा ४ अण्डर ३१ को कार्ड बनाए। पाँचौ स्थानमा रहेका जयराम श्रेष्ठले लेभर पार ७० को कार्ड बनाएका छन्। उनले फ्रन्ट नाइनमा २ ओभर ३८ को कार्ड बनाउदा ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए। 

समान २ ओभर ७२ स्कोरका साथ रवि खड्का, रमेश अधिकारी, रामे मगर, टंकबहादुर कार्की, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति र वलभद्र राई (मणी) संयुक्त छैटांै स्थानमा छन्। यसैगरि, एमेच्योरतर्फ भने धराने खेलाडी राजकुमार राई १ ओभर ७१ स्कोरका साथ पहिलो स्थानमा छन्। उनले फ्रन्ट नाइनमा १ ओभर ३७ को कार्ड बनाउदा ब्याक नाइनमा इभन पार खेलेका थिए। एमेच्योरतर्फ धरानकै खेलाडी रुपेन गुरुङ ३ ओभर ७३ स्कोरका साथ दोस्रो स्थानमा छन्।

नेपाल प्रोफेस्नल गल्फर एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा ११ जना एमेच्योरसहित कुल ४० जना खेलाडीहरु सहभागी छन्। प्रतियोगिताको दोस्रो दिन कट जोगाउन सफल २१ औं स्थानसम्म रहेका खेलाडीहरु मात्र तेस्रो दिन फाइनलको लागि छनौट हुनेछन् । चौथो दिन भने प्रो एम स्पर्धा हुनेछ। प्रोफेस्नलतर्फका विजेता खेलाडीले नगद पुरस्कार १ लाख ४० हजार पाउनेछन्। कट जोगाउन सफल खेलाडीहरुलाई पनि नगद पुरस्कार दिइनेछ भने एमेच्योरतर्फ पहिलो र दोस्रो खेलाडीलाई ट्रफी दिइनेछ। 

प्रकाशित: १२ पुस २०७९ १२:२१ मंगलबार

गल्फ प्रतियोगिता