खेल

आफ्नै गल्तीमा जर्मनी चुक्यो

फ्रान्स र जर्मनीबीचको युरोपियन च्याम्पियनसिपको सेमिफाइनल विश्वभरका फुटबल दर्शकले व्यग्रसाथ कुरेका थिए। एउटा रोमाञ्चक प्रतिस्पर्धा हुने धेरैको अनुमान थियो। सुरुआती पाँच मिनेट हेर्दा फ्रान्सले जर्मनीलाई बराबरीको टक्कर दिनेछ। तर, ५ मिनेटपछि जर्मनीले आफ्नो पूरै क्षमता प्रदर्शन गर्दै खेल एकपक्षीय रूपमा नियन्त्रणमा राखेको थियो। मध्यान्तर हुँदासम्म पनि जर्मनीले फ्रान्समाथि पूर्ण नियन्त्रण बनायो। जर्मनी त्यति हाबी र जर्मन त्यति रक्षात्मक हुनुपर्ला भन्ने कसैको अनुमान थिएन। जर्मनीले यसरी छरिएर खेल्यो कि फ्रान्सले आफ्नो पद्धतिको प्रवाह नगरी रक्षापंक्तिमा ध्यान दिनुपर्‍यो। जर्मनीका पहिलो रोजाइका मारियो गोमेज, सामी खेडिरा, म्याट हुमेल्स नहुँदा पनि टोलीमा त्यसको असर परेन। जर्मनीले आफूलाई विश्व फुटबलको उत्कृष्ट टोलीमा प्रमाणित गर्‍यो। तर, नतिजा उसको हुन सकेन। सबै क्षेत्रमा हाबी भएर पनि जर्मनीले सफल नतिजा निकाल्नबाट वञ्चित हुनुपरेको छ। फ्रान्सले उच्च प्रदर्शनभन्दा पनि जर्मनीको गल्तीमा गतिलो फाइदा उठाएको छ। ठूलो स्तरको फुटबलमा नामी टोलीले पनि गल्ती गर्छन् भन्ने जर्मनीको प्रदर्शन मान्न सकिन्छ।

विश्वकप जितेपछि जर्मनीको प्रदर्शन उतारचढावपूर्ण थियो। तथापि युरोपियन च्याम्पियनसिपको सुरुआत भने दमदार ढंगले गर्‍यो। तर, टोलीका खेलाडीलाई चोटले सताइरहँदा टोलीमा मन्द रूपमा त्यसको असर परिरह्यो। टोलीले विगतमा भन्दा यसपटक गोल गर्ने सिलसिलामा भने कमी रह्यो। प्रिक्वार्टरफाइनल बाहेकका खेलमा टोलीले गोलका लागि संघर्ष नै गर्नुपर्‍यो। यसपटक पूरा च्याम्पियनसिपभर खेल नियन्त्रणमा राख्नुका बाबजुद गोल गर्न नसक्नु जर्मन टोलीको कमजोरी हो। सबैभन्दा आशा गरिएका थोमस मुलरको प्रदर्शन ठिकठाक भए पनि उनी स्कोरिङमा चुके। उनी टोलीबाट गोललाई भर गरिएका खेलाडी हुन्। उनले गोल गर्न नसक्दा आफूमात्र होइन टोली पनि दबाबमा पर्‍यो।

त्यति मात्र होइन जर्मनीजस्तो विश्व च्याम्पियन टोलीले गल्ती गर्दा खेलमा कमजोर रहेर पनि फ्रान्स नतिजा लिन सफल भयो। दुईवटा अनावश्यक गल्तीले जर्मनी पराजित बन्यो। फ्रान्सले जर्मनीलाई हराएको होइन, जर्मनी आफ्नो कारण हार्‍यो। पहिलो हाफको अधिकांश समय खेल आफ्नो पक्षमा राखेर इन्जुरी समयमा बास्टियन स्वास्टाइगर जस्ता खेलाडीले बल 'ह्यान्ड' गर्नु गल्ती थियो। विपक्षी टोलीको गल्तीमा पाएको गोल गर्ने मौका फर्ममा रहेका एन्टोनी ग्रिजम्यानले उपयोग गरे। त्यो खेलमा जर्मनीका लागि जति ठूलो धक्का थियो, फ्रान्सलाई मनोबल उच्च बनाउने कारण थियो।

उक्त गोलपछि दोस्रो हाफमा फ्रान्सले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न नसके पनि पहिलो हाफभन्दा थोरै सुधारिएको प्रदर्शन गर्‍यो। आफूले बारम्बार गल्ती गर्ने हो भने हार जोगाउन सकिन्न भन्ने जर्मनीको प्रदर्शनबाट थाहा हुन्छ। खेलभरमा दुईटा गल्ती बाहेक खेल जर्मनीको पक्षमा थियो तर ती दुई गल्ती नै हारका लागि पर्याप्त बन्यो। जेरोमी बोएटिङ ६१ औं मिनेटमा घाइते हुनु जर्मनीका लागि अर्को घाटा थियो। त्यसपछि जर्मनीको रक्षापंक्ति केही धर्मराएको थियो। ७२ औं मिनेटमा जर्मन रक्षापंक्तिका खेलाडीको अनावश्यक गल्तीमा अर्को गोल थपियो। क्लियर गर्नुपर्ने बल आफ्नो डेन्जर एरियामा पास दिनेको मूल्य जर्मनीले चुकाउनुपर्‍यो। ओभरकन्पि्कडेन्स घातक हुन्छ भन्ने एउटा गतिलो प्रमाण त्यो पनि थियो। रक्षापंक्तिको असमदारीका कारण गोलकिपर म्यानुयल नुयुरमाथि दबाब पर्‍यो, उनले पञ्च गरेकै बल ग्रिजम्यानलाई पास मिलाएजस्तै भयो। ग्रिजम्यानले त्यो मौका पनि चुकाएनन्, गोल थपे। दोस्रो गोल नहुँदासम्म पनि जर्मनी कुनै पनि बेला खेलमा फर्कन सक्ने सम्भावना देखिएको थियो। दोस्रो गोलपछि भने फ्रान्समा पनि मनोबल उच्च हुँदै गयो। जर्मनीले च्याम्पियनसिपभर तीन गोल खायो। ती सबै आफ्नै गल्तीमा थियो।  त्यसमा दुईवटा पेनाल्टी र रक्षापंक्तिको अनावश्यक गल्तीमा गोल भएको हो। बोएटिङ र स्वास्टाइगर जस्ता विश्वस्तरीय खेलाडीबाट त्यस्तो गल्ती अपेक्षा गरिएको हुन्न। जर्मनीलाई हराउने कुनै टोली छैन तर टोली आफ्नै कारण भने पराजित हुनसक्छ भन्ने फ्रान्ससँगको नतिजाले देखाएको छ।

फुटबलमा राम्रो खेलेर मात्र जित्नुपर्छ वा जित्छ नै भन्ने हुँदैन। खेलका स–साना घटना पनि निर्णायक बन्न सक्छन् र नतिजा अपेक्षाविपरीत हुनसक्छ भन्ने फ्रान्सको जितबाट भन्न सकिन्छ। फ्रान्सले आफ्नो लयमा खेलेको थिएन। जर्मनीलाई गोल गर्न नदिनु र उनीहरूको कमजोरीको फाइदा उठाउनु नै जितको मुख्य कारण रह्यो।

फुटबलमा भाग्यभन्दा बढी मिहिनेतमा विश्वास गरिन्छ। तर, भाग्य र इतिहासको पनि कतै न कतै अर्थ रहेको हुन्छ। जर्मनीलाई भाग्यले ठगेजस्तो घरेलु मैदानमा फ्रान्स भने भाग्यमानी भएको छ। घरेलु मैदानमै विश्वकप र युरोपियन च्याम्पियनसिपमा विजेता बनेको फ्रान्सले जर्मनीजस्तो सशक्त टोलीलाई हराउनुमा धेरथोर भाग्यको साथ रह्यो। यद्यपि भाग्यले मात्र फ्रान्सले जितेको होइन। जर्मनीजस्तो आक्रमण टोलीलाई बहादुरीपूर्वक रोक्नु उसको सफलताको कारण पनि हो।

प्रकाशित: २५ असार २०७३ ०२:४० शनिबार

आफ्नै गल्तीमा जर्मनी चुक्यो