खेल

पोखरामा बुधबारदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता

१२ इभेण्टमा २५ जिल्लाका ३ सय भन्दा बढी खेलाडी सहभागिता

प्रतियोगिताबारे जानकारी दिदैं कास्की जिल्ला व्याडमिन्टन संघका सचिव फणिन्द्र तिमिल्सिनासहित संघका पदाधिकारीहरु। तस्बिरः धन बस्नेत/नागरिक

नेपालका शीर्ष वरियताका व्याडमिन्टन खेलाडी बुधबारदेखि पोखरामा शुरु हुने प्रथम राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने छन्। शीर्ष वरियतासँगै नेपालका विभिन्न जिल्लाका झण्डै ३ सय खेलाडीहरुले विभिन्न इभेण्टमा उपाधि प्रतिस्पर्धामा एरिनामा उत्रिने छन्।  

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला व्याडमिन्टन संघको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्टमा उपाधि प्रतिस्पर्धा हुने छ। राष्ट्रिय प्रतियोगिताको लागि कास्की जिल्ला व्याडमिन्टन संघ अन्तिम तयारीमा जुटेको सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा यु–१९ विश्वका शीर्ष वरियताका प्रिन्स दाहाल, नेपालका शीर्ष वरियताकी नङ्सल तामाङसहितका खेलाडीहरु पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा उपस्थिति हुने छन्।  

पोखरा आयोजना गरिएको यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो। प्रतियोगितामा विभिन्न २५ जिल्लाका ३ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने संघका सचिव फणिन्द्र तिमिल्सिनाले जानकारी दिए। यसभन्दा अघि संघले विद्यालयस्तरीय, जिल्लास्तरीय एवं महानगरस्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको थियो।  

पुरुष एकल, पुरुष युगल, महिला एकल, महिला युगल, खुल्ला मिक्स युगल, यु १७ छात्र तथा छात्रा, यु १२ छात्र तथा छात्रा, ३५ वर्षमाथिको भेट्रान्स, ४५ वर्षमाथिको भेट्रान्स र ५५ वर्षमाथि उमेर समूहको भेट्रान्स इभेण्ट प्रतियोगितामा समेटिएको छ। पुरुष एकल विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोस्थान प्राप्त गर्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन्। पुरुष युगल विजेताले ५०, ३० र २० हजार रुपैयाँको राशी प्राप्त गर्ने संघका कोषाध्यक्ष एवं अर्थ संयोजक मिन गुरुङले बताए।  

महिला एकल र युगल विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताको हकमा २० हजार र तेस्रो स्थानमा रहने एकल र जोडीले पनि २० हजार रुपैयाँ नै प्राप्त गर्ने छन्। मिक्स इभेण्ट विजेताले पनि ३०, २० र २० हजार प्राप्त गर्ने छन्। यु १७ छात्र तथा छात्रा विजेताले १५, १० र १० हजार प्राप्त गर्ने संघले जनाएको छ। यु १२ छात्र तथा छात्राले पनि १५, १० र १० हजार नै पाउने छन्।  

३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीले ३०, २० र २० हजार रुपैयाँ पाउँदा ४५ वर्ष र ५५ वर्षमाथिको उमेर समूहको विजतो तथा उपविजेता र तेस्रो स्थानमा आउने खेलाडीहरुले पनि समान ३०, २० र २० हजार रुपैयाँ पुरस्कार पाउने छन्। पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा खेलाईने छ। हलको चारैवटा कोर्टमा प्रतियोगिता सञ्चालन गरिने छ। संघले प्रत्येक विधामा ८ कम्तीमा टिम सहभागि नभएको अवस्थामा उक्त टिम  स्वतह रद्द हुने जनाएको छ। संघले खेलाडीले पहेलो कार्ड पाएको अवस्थामा १ हजार, रेड कार्ड पाएको अवस्थामा २ हजार र ब्लाक कार्ड पाएमा ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ र नेपाल व्याडमिन्टन संघको नियमानुसार कार्वाही समेत गरिने उल्लेख गरेको छ। खेलाडीले अनिवार्य रुपमा आफनो परिचयपत्र पेश गर्नुपर्ने छ।  

प्रकाशित: ११ पुस २०७९ ०८:१४ सोमबार

खुल्ला व्याडमिन्टन प्रतियोगिता पोखरा