खेल

भारतद्वारा शृंखला क्लिन स्विप

 श्रेयस ऐयर र रविचन्द्रन आश्विनको सम्हालिएको ब्याटिङ प्रदर्शनमा बंगलादेशमाथि तीन विकेटको जितसहित भारतले दुई टेस्टको शृंखला २–० ले क्लिन स्विप गरेको छ।  

आइतबार ४५–४ बाट चौथो दिनको खेल सुरु गरेको भारत ७४ रन जोड्दा थप ३ विकेट गुमाएपछि दबाबमा परेको थियो। भारत जितबाट मात्र ७१ रन टाढा थियो र ३ विकेट बाँकी थियो। ऐयरले ४६ बलमा ४ चौकाको मद्दतमा २९ रन जोडे भने आश्विनले ६२ बलमा ४ चौका र १ छक्काको मद्दतमा अविजित ४२ रन जोडे। ऐयर र आश्विनले आठांै विकेटका लागि अविजित ७१ रनको साझेदारी गरेका थिए।  

तीन एकदिवसीय खेलको शृंखला २–१ ले आफ्नो पक्षमा पारेको बंगलादेशले टेस्टमा भने उल्लेख्य प्रदर्शन गर्न सकेन। बंगलादेशले टेस्ट क्रिकेटमा भारतलाई हराउन सकेको छेैन। १२ मध्ये १० टेस्ट भारतले जितेको छ भने दुई बराबरीमा टुङ्गिएको छ। १२ मध्ये ५ टेस्ट भारतले इनिङ अन्तरले जितेको छ।

भारतले गत साता चित्तागोङमा सम्पन्न पहिलो टेस्टमा बंगलादेशलाई १ सय ८८ रनले हराएको थियो। दोस्रो इनिङमा बंगलादेशका मेहदी हसन मिर्जाले ५ र साकिब अल हसनले २ विकेट लिए।  

यसअघि बंगलादेशले पहिलो इनिङमा २ सय २७ रन जोडेको थियो। भारतले भने पहिलो इनिङमा ३ सय १४ रन जोडेको थियो। पहिलो इनिङमा भारतका ऋषभ पन्तले ९३ र ऐयरले ८७ रन जोडेका थिए। भारतले पहिलो इनिङमा बंगलादेशमाथि ८७ रनको अग्रता लिएको थियो। दोस्रो इनिङमा पनि बंगलादेशले उल्लेख्य प्रदर्शन गर्न सकेन। बंगलादेशले दोस्रो इनिङमा २ सय ३१ रन मात्र जोडेको थियो। भारतले जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको थियो।

‘म झुट बोल्न चाहन्नँ, ड्रेसिङ रुमको वातावरण निकै तनावपूर्ण थियो,’ रोहित शर्मा चोटका कारण बाहिरिएपछि भारतीय टोलीको कप्तानी सम्हालेका केएल राहुलले भने भने, ‘यहाँ ब्याटिङ गर्न निकै कठिन छ। दुवै इनिङमा बंगलादेशले पनि हामीलाई दबाबमा राखेको थियो। सबैको योगदान रह्यो। श्रेयस ऐयरले धैयपूर्ण ब्याटिङ गर्दा हामी जित निकाल्न सफल भयौं।’

प्रकाशित: ११ पुस २०७९ ०१:४७ सोमबार

भारतद्वारा शृंखला क्लिन स्विप