खेल

फागुन अन्तिम साता एनएफबीएफ दोस्रो मिष्टर पोखरा

कास्की बडिल्डिङ तथा फिटनेश एशोसिएसनले आगामी फागुनको अन्तिम साता ‘एनएफबीएफ दोस्रो मिष्टर पोखरा’ आयोजना गर्ने तयारी गरेको छ। एशोसिएसनले अगामी फागुन २६ र २७ गते लुम्बिनी र गण्डकी प्रदेशस्तरीय दोस्रो मिष्टर पोखरा आयोजना गर्ने निर्णय गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।   

संघले विभिन्न ६ वटा तौल समूहका खेलाडीहरुले ओभरअलमा प्रतिस्पर्धा गर्ने छन्। ५५ केजी, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गराईने संघका द्वितीय उपाध्यक्ष दिपक बास्तोलाले बताए। उनका अनुसार प्रत्येक तौलबाट विजेता खेलाडीले ओभरअल(फाईनल) प्रतिस्पर्धा गर्ने छन्। ओभरअल प्रतिस्पर्धीका विजेताले नगद १ लाख रुपैयाँ राशीको पुरस्कारसहित दोस्रो मिष्टर पोखराको ताज सजाउने छन्।  

प्रतियोगितामा पुरुष तथा महिला फिजिकमा समेत प्रतिस्पर्धा गराईने उपाध्यक्ष बास्तोलाले सुनाए। प्रत्येक तौल समूहका विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीले नगद २०, १५ र ८ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन्। फिजिक तर्फको विजेताले समान ३०, २० र १५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ।  

पोखरामा ३८ वटा जिमखाना छन्। दोस्रो मिष्टर पोखरामा दुईसय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघको छ। गण्डकी र लुम्बिनी प्रदेशस्तरीय भएकोले गण्डकीका विभिन्न जिल्ला र लुम्बिनीका विभिन्न जिल्लाबाट समेत खेलाडीको सहभागिता हुने भएकोले २ सय भन्दा बढी खेलाडी आउने अपेक्षा गरिएको उनको भनाई थियो। फिजिक तर्फ महिला र पुरुष तर्फ समान ५०÷५० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।  

प्रकाशित: ९ पुस २०७९ ११:१९ शनिबार

मिष्टर पोखरा