खेल

वेल्स प्रशिक्षकद्वारा अस्वीकार

पेरिस- वेल्स प्रशिक्षक क्रिस कोलम्यानले इङ्ल्यान्डको प्रशिक्षण सम्हाल्ने सम्भावना अस्वीकार गरेका छन्। रोए होड्सनले छाडेपछि इङ्ल्यान्डमा प्रशिक्षकको पद खाली छ।

ग्यारी स्पिडको आकस्मिक निधनपश्चात कोलम्यानले २०१२ मा वेल्सको जिम्मेवारी सम्हालेका थिए। उनले वेल्सलाई युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्म डोहोर्‍याएका छन्। अब फाइनलका लागि टोलीले बुधबार लियोनमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ। १९५८ पछि वेल्स पहिलोपल्ट ठूलो प्रतियोगितामा सहभागी भएको हो।

४६ वर्षे कोलम्यानले मे महिनामै आफ्नो सम्झौता २०१८ विश्वकपको अन्त्यसम्म लम्ब्याइसकेका छन्। त्यसैले पनि उनको सम्भावना निकै कम थियो।

‘यो त्यस्तो विषय हो,जुन कहिल्यै हुन सक्दैनथ्यो। मेरो दिमागमा यो छिरेकै थिएन,’ वेल्सलाई पहिलोपटक ठूलो प्रतियोगिताका अन्तिम ४ मा पुर्‍याउन सफल कोलम्यानले भने, ‘म वेल्समै जन्मिएको हुँ र वेल्समै रहन चाहन्छु।’

फुलह्याम र रियाल सोसिडाडलाई प्रशिक्षण दिइसकेका कोलम्यानले इङ्ल्यान्डमा फर्किनु भन्दा युरोपका ठूला क्लबमा जाने इच्छा व्यक्त गरे।

‘म विदेशी क्लब सम्हाल्न चाहन्छु। किनकि त्यो च्याम्पियन्स लिग खेल्ने क्लबको प्रशिक्षक हुने राम्रो अवसर हो,’ कोलम्यानले थपे, ‘साँचो बोल्ने हो भने प्रिमियर लिगबाट च्याम्पियन्स लिग खेल्ने क्लब निकै धनी, ठूलो क्लब हुन्छ जहाँ मेरो कुनै सम्बन्ध छैन। त्यसैले च्याम्पियन्स लिग क्लबको प्रशिक्षक बन्ने राम्रो विकल्प भनेको विदेश नै हो। वेल्स बाहेक अरु कुनै देशको प्रशिक्षक बन्ने सम्भावना छैन। त्यो मैले सोचेको पनि छैन।’

चार वर्षयता इङ्ल्यान्डको प्रशिक्षण सम्हालिरहेका हड्सनले अन्तिम १६ मा आइसल्यान्डसँग २–१ को लज्जास्पद हार बेहोरेपछि पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: २१ असार २०७३ ०३:२२ मंगलबार

वेल्स प्रशिक्षकद्वारा अस्वीकार