खेल

रणनीतिक फुटबलको नमुना

युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा जर्मनी र इटालीबीच खेल तय भएपछि फुटबल दर्शकहरुमा उच्च प्रतिस्पर्धाको खेल हेर्न पाउने अपेक्षा थियो। दुवै टोलीले जारी युरोपियन च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकाले पनि कडा प्रतिस्पर्धाको अपेक्षा स्वभाविक थियो। खेल अपेक्षा अनुसारकै रोमाञ्चक बन्यो। माथिल्लो स्तरको प्रतिस्पर्धामा पनि नतिजाका लागि १ सय २० मिनेटमात्र होइन टाई–ब्रेकरमा पनि ९/९ पेनाल्टी सम्म कुर्नुपरेको यो दूर्लभ खेल हो।
निर्धारित समयको खेलमा जसरी जर्मनी केही हावी थियो । त्यस आधारमा जर्मनीले नियमित समयमै खेल जित्नु पर्ने थियो । तर, आफ्नै गल्तिमा टोलीले जितका लागि निकै संघर्ष गर्नुप¥यो । ठूलो प्रतियोगितामा जर्मनीसँग नहारेका कारण इटाली फेरी पनि जित्ने कतिपयको अनुमान थियो । विश्व च्याम्पियन जर्मनीले जारी युरोपियन च्याम्पियनसिपमा गरेको उच्च प्रदर्शनका कारण इटाली यसपाली असफल हुने कतिपयको अनुमान थियो ।
इटालीसँगको इतिहास बदल्नुपर्ने चुनौती जर्मनीलाई थियो । विश्व च्याम्पियनको हैसियतका कारण जर्मनीमाथि समर्थकको सफल नतिजा अपेक्षा थियो । ठिक विपरित इटाली भने स्टार नामको उपस्थितीविनाको टोली लिएर फ्रान्स यात्रामा निस्किएको थियो । जसका कारण इटालीलाई खास दबाब थिएन । दुई टोलीको मानसिकता शनिबार मैदानमा प्रस्टसँग झल्कियो । पूरा समय खेलमा नियन्त्रण राखे पनि जर्मनीमाथि दबाब देखिन्थ्यो भने इटाली स्वभाविक रुपमा रणनीतिक खेलमा केन्द्रित थियो । जर्मनीमाथिको दबाब थोमस मुलर, मेसुट ओजिल र कप्तान बास्टियन स्वास्टाइगरजस्ता तीन मुख्य खेलाडी पेनाल्टी सुटआउटमा समेत चुक्दा प्रष्ट भयो ।
रणनीतिक खेलमा केन्द्रित हुँदा नियमित समयमा दुवैले आफ्नो छवि अनुसारको प्रदर्शन गरेनन् । जर्मनी अट्याकिङ फुटबलका लागि चिनिन्छ । रक्षापंक्तिमा शसक्त मानिने इटाली काउन्टर अट्याकमा बढी सफल हुने गरेको छ । यी दुईबीचको प्रतिस्पर्धामा न जर्मनीले पूरा आक्रामक खेल्यो, न इटाली काउन्टर अट्याकमा गयो । अन्तिम १६ सम्मका खेल हेर्दा मारियो गोमेज, थोमस मुलर, मेसुट ओजिल जस्ता खेलाडीको आक्रमण रोक्न विपक्षीलाई हम्मे हम्मे पथ्र्यो । तर, इटालीविरुद्ध उनीहरु हावी भएनन् । रक्षापंक्ति जव्वर बनाएर काउन्टर अट्यासमा गोल गर्ने रणनीतिक इटालीविरुद्ध विजय निकाल्नै पर्ने दबाबका साथ मैदान छिरेको जर्मनीले पहिलो पटक फरक शैलीमा खेल्यो । इटालीको रणनीतिक फुटबल विफल पार्न जर्मनीले आफू अभ्यस्त नभएको ४–४–२ को रणनीति अख्तियार ग¥यो । आफूले गोल गर्न नसके पनि गोल नखाने सुरक्षित फुटबल जर्मनीको प्राथमिकतामा थियो । इटालीले पनि आफ्नो जोनको सुरक्षा त ग¥यो । तर विपक्षी पोस्टमा खासै धावा बोल्न सकेन । ‘डेन्जर जोन’मा जति बढी बल खेलाउन सक्यो त्यति नै गोलको सम्भावना रहन्छ । तर, जर्मनी र इटालीबीचको खेलमा त्यो देख्न पाइएन।
युरोपियन टोलीमा एक दुई खेलाडी परिवर्तन हुँदैमा प्रदर्शन प्रभावित हुँदैन । अरु खेलाडी पनि उत्तिकै क्षमतावान हुन्छन भन्ने यो खेलले प्रमाणित ग¥यो । इटालीले केही मुख्य खेलाडी नहुँदा पनि विश्व च्याम्पियनविरुद्ध कमजोर प्रदर्शन गरेन । तथापी दुवै टोलीले गोलको लागि भने निर्धारित ९० मिनेट र थप ३० मिनेटभर संघर्ष गर्नुप¥यो । ६५ मिनेटमा मेसुट ओजिलको गोलबाट पछि परेपछि भने इटाली रक्षात्मक रणनीतिमा सिमित रहेन । पछि परेको अवस्थामा जोखिम नमोली खेल बराबरी गर्न नसकिने देखेपछि इटाली चढेर खेल्नु स्वभाविक थियो । बराबरी गर्न सक्दा त्यसपछिको नतिजा जेपनि हुन सक्थ्यो । इटालीले विपक्षी टोलीको डेन्जर जोनमा बल बढी खेल्ने प्रयासमा पेनाल्टी प्राप्त ग¥यो । पेनाल्टी गोलपछि खेल बराबरीमा पुग्यो । बराबरीपछि फेरी दुवै टोलीको प्रदर्शन सुरुकैजस्तो रणनीतिक भयो । बराबरीपछि बाँकी समय ‘सेफ्टी फस्र्ट फुटबल’ दुवैको रणनीति भयो । गोल गर्न नसक्दा भन्दा गोल खादा बढी दबाब हुने गर्छ । त्यसले दुवै टोलीले थप समयमा पनि जोगिएर खेले ।
बल धेरै आफ्नो नियन्त्रणमा हुँदा पनि जर्मनी आक्रमणमा जान चाहेन । इटाली त्यो भन्दा पनि जोगिएर खेल्न चाहँदा जर्मनीका गोलकिपर म्यानुयल नुयुर खासै व्यस्त हुनु परेन । उनले रक्षापक्तिलाई साथ दिएर खेलेका थिए ।
अघिल्ला खेलहरुमा जस्तो जर्मनीको समन्वयमा कमि देखिन्थ्यो । सधै ४–२–३–१ को रणनीतिमा खेल्ने वानी परेको जर्मनीले पहिलो पटक नयाँ शैली अपनाउँदा त्यस्तो समस्या आएको हो । अघिल्ला खेलहरुमा जस्तो विपक्षी गोलकिपरलाई थकाउन जर्मन खेलाडी शनिबार सफल भएनन् । इटालीका जियानलुइजी बुफोनलाई व्यस्त बनाउन पनि जर्मनीको नयाँ रणनीति सफल भएन्।
क्वार्टरफाइनल भन्दा सेमिफाइनल अझै बढी चुनौती सामना गर्नुपर्ने हुन्छ । पेनाल्टी सुटआउटमा नतिजा निकाल्न पनि जर्मनी सफल मानिन्छ । त्यसका आधारमा पनि टोलीले ५ पेनाल्टीमै नतिजा निकाल्न सक्नु पथ्र्यो । तर, त्यहाँ पनि टोली कमजोर रह्यो । विपक्षी टोलीको नाम इटाली भएकाले जर्मनीका स्टार खेलाडीहरु नै दबाबमा आए । मुख्य खेलाडीको पेनाल्टी चुक्नु र बाँकीले गोल गर्नुले टोलीमाथिको दबाब प्रमाणित हुन्छ । बुफोन र नुयुर दुवै विश्वकै उत्कृष्ट गोलकिपर हुन् । पेनाल्टीमा उनीहरु दुईकै परिक्षा थियो । दुवै टोलीका खेलाडीले आफै मिस गर्नुवाहेक नुयुरले २ र बुफोनले १ पेनाल्टी रोके । अन्तमा त्यही निर्णायक बन्यो । नुयुरले आफू विश्वकै उत्कृष्ट गोलकिपर मध्ये एक भएको प्रमाणित गरे।

 

प्रकाशित: २० असार २०७३ ०२:०३ सोमबार

रणनीतिक फुटबलको नमुना