खेल

‘चौथो चौदण्डीगढी मेयर कप’: वडा नं. ४ फाइनल प्रवेश

मेयर कप फुटबलमा सहभागी चौदण्डीगढी १० को खेलाडी टोली। तस्विरः महेश्वर

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी ‘चौथो चौंदण्डीगढी मेयरकप फुटबल प्रतियोगिता ०७९’ मा वडा नंं ४ फाईनल प्रवेश गरेको छ। बिहीबार सम्पन्न पहिलो दिनको सेमिफाइनलमा ६ नं. वडालाई २ का विरुद्ध ४ गोलले पराजित गर्दै ४ नं. वडाले फाइनलको यात्रा तय गरेको हो।

बेलटारस्थित रामप्रसाद राई स्मृति रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा ४ नं. ले सागर राईको ह्याट्रिकसहित ४ गोल गरेर फाइनलमा प्रवेश पाएको हो। खेल सुरु भएको २० औं मिनेटमा गोल गरेका राईले त्यसपछि ३६ र ६८ औं मिनटमा क्रमशः २ गोल थपेर ह्याट्रिक गर्न सफल भएका थिए। उनको ह्याट्रिक भन्दा अघि नै सोही टिमका नवल तामाङले खेल सुरु भएको १५ औं मिनटमै पहिलो गोल गरेर ४ आफ्नो टिमलाई अगाडि बढाइसकेका थिए।

प्रतिस्पर्धी ६ नं. वडाको तर्फबाट २ गोल मात्र हुन सक्यो। ६ नं. का खेलाडीहरु अर्जुन खातीले ४८ औँ मिनटमा पहिलो जवाफी गोल फर्काएका थिए भने अर्का खेलाडी अनिश बस्नेतले इन्जुरी टाइमको उपयोग गर्दै ७१ औँं मिनटमा दोस्रो गोल थप्न सफल भएका थिए।

पुस २ गते सुरु भएको प्रतियोगिताको शुक्रबार हुने अन्तिम सेमिफाइनलमा वडा नं. ७ र १० बीच प्रतिस्पर्धा हुने आयोजक नगर खेलकुद विकास समितिका सचिव अनुपराज खत्रीले बताए। उनका अनुसार नगरपालिकाका १० मध्ये १ नं. वडाबाहेक सबै वडाबाट खेलाडी समूहले प्रतियोगितामा भाग लिएका छन्।

विजेता टिमलाई ५० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ। उपविजेताले २५ हजार नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ। त्यस्तै उत्कृष्ट र उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता, गोलरक्षकलगायत बिधागत पुरस्कार पनि बितरण गरिने प्रतियोगितामा उदीयमान खेलाडीलाई २ हजार नगद तथा उत्कृष्ट प्रशिक्षकलाई ३ हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ।

‘हाम्रा खेलाडी हाम्रो नगर, वडावडामा फुटबलको लहर’ भन्ने नाराका साथ आयोजित प्रतियोगिता नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरिएको हो। नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल आउँदो १० गते हुने सचिव खत्रीले बताएका छन्।  

प्रकाशित: ७ पुस २०७९ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App