खेल

फेरि अन्योलमा नेपाल ट्वान्टी-२० लिग

पटकपटक सारिँदै आएको नेपाल ट्वान्टी-२० लिगको आयोजना मिति नजिकिँदै गर्दा फ्रेन्चाइज टोली नै अन्योलमा परेका छन्।

भारतीय कम्पनी सेभेन थ्री स्पोटर््सले कमर्सियल अधिकार पाएको नेपाल ट्वान्टी–२० लिग शुक्रबारदेखि सुरु हुने तय छ। तर, आयोजनाको मिति आउन दुई दिन बाँकी छँदा नेपाली क्रिकेटको प्रशासकीय निकाय नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी नै बेखबर भएका छन्। क्यानले आठ वर्षका लागि भारतीय कम्पनी सेभेन थ्रीलाई ३३ करोड भारुमा आर्थिक अधिकार बेचेको थियो। यद्यपि, यो निर्णयसँगै विवादमा तानिएको नेपाल ट्वान्टी-२० लिग पटकपटक सारिँदै आएको छ। तेस्रो पटक मिति तय गरे पनि क्यानले त्यसका लागि सन्तोषजनक रूपमा तयारी थालेका थिएन।

विदेशका चर्चित फ्रेन्चाइज लिगसँग समय जुध्नु, क्यानभित्रै आन्तरिक कलह, यसअघि नेपालमा फ्रेन्चाइज क्रिकेट गर्दै आएको एभरेस्ट प्रिमियर लिग (इपिएल) द्वारा क्यानमाथि मुद्दा दर्ता र क्यानकै फितलो व्यवस्थापनका कारण नेपाल ट्वान्टी-२० लिग पटकपटक अवरोध हुन पुगेको थियो। तथापि, क्यानले तेस्रो पटक भने जुनसुकै अवस्थामा पनि आयोजना गर्ने बताए पनि दुई दिन बाँकी छँदा तयारीमा शून्यता देखिएको छ। उल्टै यसबारे प्रश्न गर्ने प्रयास गर्दै क्यानका कुनै पनि पदाधिकार सम्पर्कमा छैनन्। सबै जिम्मेवार पदाधिकारीले फोन अफ गरेका छन्।

कमर्सियल अधिकार पाएको सेभेन थ्री नै यो आयोजनाबाट भागिसकेको चर्चा चलिरहेको समय क्यानका पदाधिकारीको सम्पर्कविहीन भएका हुन्। पहिलो संस्करणको नेपाल ट्वान्टी–२० लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्स र लुम्बिनी अल स्टार गरी ६ फ्रेन्चाइज टोलीले खेल्दै छन्।

यद्यपि, अहिलेसम्म जनकपुर र विराटनगरले कार्यक्रमको आयोजना गर्दै टोली र जर्सी सार्वजनिक गरेका छैनन्। अन्य टोलीले भने सामाजिक सन्जालबाट टोली सार्वजनिक गरे। यो निर्णयको पछाडि कुनै पनि तेस्रो पटक पनि निर्धारित समयमा लिग हुनेमा विश्वस्त नभएका हुन्।

बुधबार जर्सी सार्वजनिक कार्यक्रममा विराटनगर सुपर किङ्सका म्यानेजर राहुल शर्माले पनि निर्धारित मितिमा नै ट्वान्टी–२० लिग हुनेमा आफूहरू विश्वस्त नरहेको प्रतिक्रिया दिए। ‘यो नेपालका लागि ठूलो अवसर हो। तर, दुई दिन बाँकी छँदा पनि खेल हुन्छ हुँदैन विश्वस्त देखिएका छैनौं। विदेशी खेलाडी पनि नेपाल आइसकेका छन् र हामी पनि तयार छौं,’ शर्माले भने, ‘यदि खेल भएन भने विदेशी खेलाडी नेपाल घुमेर फर्किन्छन्।’

यता, विभिन्न टोलीमा समावेश रहेको विदेशी खेलाडीको पनि श्रम स्वीकृति हुन सकेको छैन। केही फ्रेन्चाइज टोली नेपालमा दर्ता नभएकाले सिफारिस प्रक्रियामा अवरोध आएको बुझिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पनि आवश्यक कागजात नपुगेकाले श्रम स्वीकृतिका लागि राखेपको सिफारिस प्रक्रिया अगाडि बढ्न नसकेको बताएका छन्। ‘आवश्यक कागजात पूरा नभएकाले रोकेका हौं। हामी पनि नेपाल ट्वान्टी-२० होस् भन्ने चाहन्छौं। उहाँहरूले प्रक्रिया पूरा गर्नु भएपछि यहाँबाट सिफारिस दिनेछौं,’ सदस्यसचिव घिसिङले भने।

क्यानले खेलाडीको श्रम स्वीकृतिमा मात्र होइन आयोजनाका लागि कुनै पनि तयारीबारे सार्वजनिक गरेका छैन। यसको अर्थ के बजारमा चर्चा भए जस्तै भारतीय कम्पनी क्यानसँग नै बेखबर भएको हो त? त्यसका प्रश्न क्यानका पदाधिकारीसँग मात्र छ। तर, उनीहरू सञ्चारमाध्यमको सम्पर्कमा नै आउन चाहेका छैनन्।  

प्रकाशित: ७ पुस २०७९ ०२:४८ बिहीबार

नेपाल ट्वान्टी-२० लिग नेपाली क्रिकेटको प्रशासकीय निकाय नेपाल क्रिकेट संघ (क्यान)