खेल

जनकपुर रोयल्सको जर्सी सार्वजनिक

आगामी शुक्रबारदेखि सुरु हुने नेपाल ट्वान्टी-२० क्रिकेट लिगमा फ्रेन्चाइज टोली जनकपुर रोयल्सलाई वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथले कप्तानी गर्ने भएका छन्।

काठमाडौं मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जनकपुरले आफ्नो टोली घोषणा र जर्सी सार्वजनिक कार्यक्रममा ट्रेभोनले कप्तानी गर्ने जानकारी दिएको हो। मंगलबार नै जनकपुरले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो। ट्रेभोनले वेस्ट इन्डिजबाट सन् २०१० मा यु–१९ विश्वकप खेले पनि सिनियर टोलीमा भने स्थान बनाउन सकेका छैनन्। बायाँ हाते ब्याट्सम्यान ट्रेभोनले सन् २०१३ देखि ०१५ सम्म क्यारेबियन प्रिमियर लिग (सिपिएल) बाट खेलेका थिए। सो कार्यक्रममा ३१ वर्षे ट्रेभोनले कप्तानी गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै जनकपुरलाई उपाधि दिलाउने लक्ष्य रहेको विश्वास व्यक्त गरेका छन्।

जनकपुरमा उनीसहित वेस्ट इन्डिजका तीन क्रिकेटर छन्। जनकपुरका बलर केसरिक विलियम्स र चाडविक वाल्टन वेस्ट इन्डिजका हुन्। अफगानिस्तानका अलराउन्डर सरफुदिन असरफ, समिउल्लाह सिनवारी, श्रीलंकाका असान प्रियान्जन पनि जनकपुरमा आबद्ध छन्। यी तीनैले आफ्नो देशको राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। जनकपुरको मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी हुन्।

स्पिनर ललित राजवंशी, सुसन भारी, अलराउन्डर आदिल आलम, शीर्ष ब्याट्सम्यान सन्दीप जोरा, दिलीप नाथ, अलराउन्डर सागर पुन, ब्याटिङ अलराउन्डर पवन सर्राफ, तीव्र गतिका बलर जितेन्द्र मुखिया, खडक बोहोरा र राजेश पुलामीले जनकपुर रोयल्सबाट खेल्दै छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश पटवाललाई जनकपुरले मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने पहिलो संस्करणको नेपाल ट्वान्टी-२० लिग आगामी पुस ८ गतेबाट २६ गतेसम्म सञ्चालन हुनेछ। 

प्रकाशित: ६ पुस २०७९ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App