खेल

स्पेनको यात्रामा इटालीको चुनौती

पेरिस- लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेर कीर्तिमान बनाउने  लक्ष्यमा रहेको भिसेन्टे डेल बोस्कीको स्पेनले सोमबार आफ्नो ठूलो अभियानको बाटोमा फेरी इटालीलाई पन्छाउन सक्नुपर्नेछ।

लगातार दुई युरोपियन च्याम्पियनसिपका साथै बीचमा एउटा विश्वकपको पनि उपाधि उचाल्नुअघि स्पेनले ठूला प्रतियोगिताको अन्तिम चरणमा पाँच पटक भेट हुँदा इटालीसँग कहिल्यै विजय हासिल गर्न सकेको थिएन। युरो २००८ अन्तर्गत भियानामा भएको क्वार्टरफाइनलले त्यो इतिहास परिवर्तन गर्‍यो। पेनाल्टी सुटआउटमा कमजोर इतिहास भएको स्पेनले दुवै इतिहास पुर्नलेखन गर्ने क्रममा इटालीलाई टाई–ब्रेकरमा हराएर सेमिफाइनलमा स्थान पक्का गर्‍यो। त्यही संस्करणबाट स्पेनले लगातार तीन मुख्य उपाधि जितेको थियो। 

'स्पेनिस राष्ट्रिय टोलीका लागि त्यो दिन सबभन्दा महत्वपूर्ण थियो,' स्पेन कप्तान इकर कासियासले भने, 'त्यहीँबाट हामीले विजयी लय समात्यौं।'

२०१० मा विश्वकप जितेपछि २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि रक्षा गर्ने क्रममा स्पेनले इटालीसँग फेरी दुई पटक भिड्नुपर्‍यो। पहिलो खेलमा १–१ को बरारी नतिजा निस्किए पनि फाइनलमा डेल बोस्कीको टोलीले ४–० को प्रभाव जमायो। त्यसपछि २०१३ को अन्तरमहादेशीय कपको सेमिफाइनलमा पनि दुई टोलीबीच भेट हुँदा स्पेनले बाजी मार्‍यो। युरोपियन च्याम्पियनले इटालीसँगका पछिल्ला ११ भेटमा एकपटकमात्र हार भोग्नुपरेको छ। २०११ मा भएको मैत्रीपूर्ण खेलमा स्पेनले २–१ को जित हासिल गरेको थियो।

इटालीको लागि चेल्सीका स्पेनिस मिडफिल्डर सेस फ्राब्रिगास मुख्य चुनौती बन्ने गरेका छन्। २००८ मा उनैले स्पेनका लागि विजयी गोल गरेका थिए भने २०१२ को पहिलो खेलमा पनि स्पेनको तर्फबाट बराबरी गोल फाब्रिगासले नै गरेका थिए। फाइनलमा डेभिड भियाको गोलमा स्पेनले अग्रता लिँदा फाब्रिगासले नै पास दिएका थिए।

युरोपियन च्याम्पियनसिपपछि इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेले चेल्सीको बागडोर सम्हाल्दैछन्। त्यसैले सोमबारको खेल फाब्रिगासका लागि भविश्यका प्रशिक्षकविरुद्धको हुनेछ। 'उनीहरु जसरी खेलिरहेका छन्, त्यसले हामीलाई थप आक्रामक बनाउने छ। इटालीको रक्षापंक्ति तोड्नका लागि हामीले आक्रामक खेलमा जोड दिनुपर्छ। उनीहरु काउन्टर अट्याकमा प्रभावकारी छन्। हामी त्यसतर्फ पनि सचेत हुनुपर्छ,' फाब्रिगासले भने।

चेक गणतन्त्र र टर्कीमाथि विजय हासिल गर्दै स्पेनले सुखद पारामा प्रतियोगिताको सुरुआत गरेको थियो। तर समुहको अन्तिम खेलमा क्रोएसियासँग २–१ ले स्तव्ध भएपछि डेल बोस्कीको टोली फाइनलसम्मको लागि कठिन बाटो स्विकार्न बाध्य भयो। इटालीमाथि विजय हासिल गरे पनि टोलीले त्यसपछि उपाधि रक्षाको अभियान सफल पार्न विश्व च्याम्पियन जर्मनी र फ्रान्सजस्ता ठूला टोलीको सामना गर्नु पर्न सक्छ।

इटालीका लागि प्रभावकारी मिडफिल्डर एन्टोनियो क्यान्ड्रेभा चोटका कारण सोमबारको खेलमा अनुपस्थित हुने भएका छन्। जुन कोन्टेका लागि सुखद समाचार होइन। समुहको पहिलो खेलमै उच्च अपेक्षा गरिएको प्रतियोगिताकै मुख्य दावेदारमध्ये एक बेल्जियमलाई हराएको कारण इटालीका प्रशिक्षक स्पेनसँगको खेलका लागि पनि धेरै दबाबमा छैनन्।

'हामीभन्दा बढि दबाबमा स्पेन छ। उनीहरु साविक विजेता हुन्। त्यसैले हामी दबाबरहित भएर जित्ने लक्ष्यका साथ खेल्नेछौं,' कोन्टेले भने, 'उनीहरु विश्वकै उत्कृष्ट खेलाडीहरुको राम्रो टोली हुन्। तर यसको मतलब उनीहरुलाई हराउन नसकिने होइन। हामी उनीहरुलाई हराउन सक्षम छौं।'

क्यान्ड्रेभा खेल्न नसके पनि युभेन्ट्सका जर्जियो चिलियानी क्लब सहयात्री आन्द्रिया बार्जाग्ली र लियोनार्दो बोनुचीलाई साथ दिन रक्षापंक्तिमा फर्किनेछन्।

प्रकाशित: १३ असार २०७३ ०४:०७ सोमबार

स्पेनको यात्रामा इटालीको चुनौती