खेल

आइसल्यान्डलाई अवसर, इङल्यान्डसामु चुनौती

च्यान्टिली- युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा सोमबार राती भेट हुँदा आइसल्यान्ड एउटा ठूलो अवसर संगेटने प्रयासमा हुनेछ भने रोए हड्सनको इङल्यान्ड अन्तर्राष्ट्रिय फुटबलमा लज्जाजनक निराशाबाट जोगिन संघर्षरत हुन सक्छ।

३ लाख ३० हजारमात्र जनसंख्या भएको आइसल्यान्डका लागि युरोपियन च्याम्पियनसि खेल्नु नै ठूलो उपलब्धी थियो। त्यसमा नकआउट चरणसम्मको यात्राको अर्को उपलब्धी सानो देशले थपिसकेको छ। अव टोलीसामु फुटबल इतिहासकै सबभन्दा ठूलो स्तव्धतापूर्ण नतिजा ल्याउने अर्को अवसर छ।

उता ५० वर्षदेखि कुनै ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने प्रतिक्षामा रहेको इङल्यान्ड चरम दबाबमा छ। अझ समुह चरणको संघर्षरत नतिजाका कारण प्रशिक्षक हड्सन पनि दबाबमा छन्।

'मैले आइसल्यान्डको चुनौतीवारे खास सोचेको छैन,' हड्सनले भने, 'हामी उनीहरुसँग खेल्नका लागि तयार छौं। जितको लक्ष्यका साथ मैदान उत्रिँदा हामी आफ्नो क्षमताले भ्याएसम्म सतप्रतिसत दिनेछौं। त्यो खेलपछि हामीले जित्न सकेनौं वा भाग्यको भरमा जित्यौं भने पनि चर्को आलोचना बेहोर्नु पर्न सक्छ। राम्रो खेलेर जित्यौं भने मानिसहरुले यिनिहरुले राम्रो गरे भन्लान।'

सोमबारको खेलमा विजय हासिल गर्नेले स्टेड डे फ्रान्समा आयरल्यान्ड वा आयोजक फ्रान्समध्ये एकसँग क्वार्टरफाइनल प्रतिस्पर्धा गर्नेछ। समुह चरणको अनपेक्षित प्रदर्शनका कारण इङल्यान्डले अन्तिम १६ को खेलमा आइसल्यान्डलाई पराजित गरे पनि त्यसपछि प्रतियोगितामा कठिन प्रतिद्वन्द्वीहरुको पालैपालो सामना गर्नुपर्नेछ। पहिलो खेलमा रुससँग १–१ को बराबरीमा रोकिएको इङल्यान्डका लागि दोस्रो खेलको इन्जुरी समयमा ड्यानिअल स्टुरिजले गोल गरेपछि टोली वेल्समाथि २–१ को जित हासिल गर्न सफल भएको थियो। समुहको अन्तिम खेलमा स्लोभाकियासँग गोलरहित बराबरीमा चित्त बुझाएपछि टोली उपविजेताको हैसियतमा सिमित हुँदै नकआउट चरण प्रवेश गरेको थियो।

स्लोभाकियाविरुद्धको खेलमा पहिलो रोजाईबाट ६ खेलाडी परिवर्तन गरेको भन्दै आलोचित हड्सनले आइसल्यान्डसँग कप्तान वायन रुनी, डेले अली, काइल वाकर र ड्यानी रोजलाई पहिलो रोजाईमा फर्काउने अपेक्षा गरिएको छ। तर आक्रमणमा ह्यारी केन र रहिम स्टर्लिङले पहिलो दुई खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेकाले प्रशिक्षक समस्यामा छन्। वेल्सविरुद्धको खेलमा गोल गरेका जेमी भार्डे र स्टुरजि पनि स्लोभाकियासँग प्रभाव जमाउन सफल भएनन्।

लार्स लेजरब्याकको आइसल्यान्डले रक्षात्मक प्रदर्शनमा विशेष जोड दिँदै काउन्टर अट्याकमार्फत सफलता हासिल गरेको थियो। समुह 'एफ' बाट उपविजेताका रुपमा अगाडि बढ्दा टोलीले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललार्य १–१ को बराबरीमा रोकेको थियो। हंगेरीसँग अन्तिम समयको आत्मघाति गोलका कारण १–१ को बराबरी नतिजा निस्कियो भने अन्तिम १६ मा स्थान सुरक्षित गर्नका लागि टोलीले अस्ट्रियाविरुद्धको अन्तिम खेल २–१ को नतिजामा जितेको थियो।

६८ वर्षे हड्सन र एक वर्ष कम उमेरका लेजरब्याक ४० वर्षदेखिका मिल्ने साथी हुन्। प्रशिक्षकका रुपमा लेजरब्याक हड्सनका ठूला प्रशंसक पनि हुन्। 'हड्सन भनेको एउटा अत्यन्तै क्षमतावान प्रशिक्षक र असल मानिस हुन्। पक्कै पनि इङल्यान्डसँग खेल्नु हाम्रा लागि ठूलो चुनौती हो। तर हामी हड्सन र इङल्यान्डलाई सामना गर्न तयार छौं,' लेजरब्याकले भने, 'मैदानवाहिर हाम्रो उनीहरुप्रति ठूलो सम्मान छ। तर मैदानमा हामी त्यसलाई वेवास्था गर्नेछौं।'

प्रकाशित: १३ असार २०७३ ०४:०० सोमबार

आइसल्यान्डलाई अवसर इङल्यान्डसामु चुनौती