सेन्ट इटिने- आर्सनलसँग बुधबारमात्र अनुबन्धित ग्रान्ट साकाले पेनाल्टी खेर फाल्दा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोल्यान्ड युरो २०१६ को क्वार्टरफाइनल पुग्ने पहिलो टोली बनेको छ। जियोफ्री गुइचार्ड रंगशालामा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल थप समयमा लम्बिएको थियो। त्यसमा पनि दुवै टोलीबाट गोल नभएपछि पेनाल्टी सुटआउटमा नतिजा आएको हो।
बोरुसिया डर्टमन्डका विङ्गर ज्याकोब ब्लाचेस्कोस्कीले ३९ औं मिनेटमा गरेको गोलमा पोल्यान्डले अग्रता लिएको थियो। तर, स्विट्जरल्यान्डका जर्दान साकिरीलेसकिन ८ मिनेट बाँकी हुँदा ‘एक्रोब्याटिक’ प्रहारमा दर्शनीय गोलबाट बराबरी गरेका थिए।
युरोपियन च्याम्पियनसिपपछि आर्सनल जाने तयारीमा रहेका स्विट्जरल्यान्डबाट दोस्रो पेनाल्टी प्रहार गरेका मिडफिल्डर साकाले बाहिर हानेपछि स्विस टोलीको फ्रान्स यात्रा टुंगिएको हो। पोल्यान्डका पाँचै खेलाडीले गोल गरे।
४–४ को स्थितिमा ब्लाचेस्कोस्कीले निर्णायक प्रहारमा सही दिशा दिएपछि पोल्यान्ड सन् १९८२ को विश्वकपपछि पहिलोपल्ट ठूला प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो। यो जितसँगै पोल्यान्डको अपराजित यात्रा १८ खेलसम्म लम्बिएकोछ। पोल्यान्डका लागि यो कीर्तिमानी यात्रा हो।
‘आशा गरौं यो यात्रा फाइनलसम्म पुग्नेछ। यो निकै कठिन खेल थियो। स्विट्जरल्यान्डले हामीलाई गाह्रो बनायो,’ गतवर्ष फिओरेन्टिनाबाट उत्कृष्ट प्रदर्शन गरेका ब्लाचेस्कोस्कीले भने, ‘उनीहरूको हातबाट हामीले नतिजा खोस्यौं। म धेरै खुसी छु। हाम्रो लागि यो ऐतिहासिक क्षण हो किनकि हामी युरोको अन्तिम ८ मा पुगेका छौं।’
पोल्यान्डले अब बिहीबार मार्सेमा पोर्चुगल र क्रोएसियाबीचको विजेता टोलीसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
‘यस्तो खेलका लागि हामीले तयारी गरेका थियौं,’ पोल्यान्डका प्रशिक्षक एडम नवाल्काले भने, ‘स्विट्जरल्यान्ड विश्वस्तरीय टोली हो। उनीहरूले दोस्रोहाफमा जसरी पुनरागमन गरे त्यो कुनै अनौठो होइन। तर, बराबरीपछि पनि मेरो टोलीले आफ्नो सम्भावना जोगाइराख्नु महत्वपूर्ण हो। मार्सेमा हुने क्वार्टरफाइनलका लागि हामी मानसिक रूपमा तयार छौं।’
स्विट्जरल्यान्का स्टार साकिरीले साका यो निराश क्षणबाट बाहिर आउने बताए। ‘साका धेरै व्यावसायिक खेलाडी हुन् र उनी यसबाट बाहिर निस्कन सक्छन्,’ म्यान अफ दी म्याच साकिरीले भने, ‘उनी निराश छन् तर फुटबलमा यस्तो गल्ती भइराख्छ।’
दुवै टोलीका लागि यो खेल ऐतिहासिक थियो। यसअघि दुवै टोली युरोपियन च्याम्पियनसिपको नकआउट चरण पुग्न सकेका थिएनन्।
‘यो निकै निराशजनक क्षण हो। हामी ठूलो सफलताको नजिक पुगेका थियौं,’ २४ वर्षे फरवार्ड साकिरीले भने, ‘त्यो निकै सुन्दर गोल थियो र देशका लागि गोल गर्न पाउँदा म गौरवान्वित हुन्छु तर दुःखको कुरा हामी बाहिरियौं।’
छनोट प्रतियोगितामा सबैभदा धेरै १३ गोल गरेका रोबर्ट लेवान्डोवस्कीले फ्रान्समा फेरि एकपटक गोल गर्न सकेनन्। तथापि उनले टाइब्रेकरमा गोल गरेका थिए।
बायर्न म्युनिखका फरवार्डले नियमित जस्तो मिडफिल्डमा आएर खेल्नुपरेकोछ। पहिलो हाफमा पोल्यान्डले खेल नियन्त्रणमा राखे पनि दोस्रो हाफ भने स्विट्जरल्यान्ड हाबी भयो। स्विस टोलीका फुलब्याक जोहान जोउरोले पास सफल हुन नसक्दा बल पोल्यान्डका लेवान्डोवस्कीको खुट्टामा परेको थियो। तर, लेवान्डोवस्कीले स्विट्जरल्यान्डका गोलकिपर यान सेमरलाई कटाएर दिएको पासमा अर्काडिउजले हानेको प्रहार आकासिएको थियो। लगत्तै स्विट्जरल्यान्डका फाबियन स्चेयरले हानेको हेडिङ प्रहार सिधै पोल्यान्डकागोलकिपर लुकास फाविनास्कीको हातमा गएको थियो।
प्रकाशित: १२ असार २०७३ ०२:४८ आइतबार