खेल

स्पेनिस क्लबसँग गण्डकीको मैत्रीपूर्ण फुटबल प्रतियोगिता

आगामी पुस १३ गते स्पेनको बी डिभिजन क्लब मैत्रीपूर्ण फुटबलको लागि पोखरा आउने भएको छ। स्पेनको बी डिभिजनको काथेरेन्यो फुटबल क्लव मैत्रिपूर्ण खेल्न पहिलो पटक पोखरा आउन थालेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो।  

लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजनामा र कास्की जिल्ला फुटबल संघको सहकार्यमा स्पेनको काथेरेन्यो फुटबल क्लबसँग गण्डकी प्रदेशको फुटबल टीम पुस १३ गते पोखरा रंगशालामा मैत्रिपूर्ण फुटबल खेल खेल्ने फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताए। विश्वकप खेलेका पूर्व खेलाडी मिचेन, मानवेल सहितका खेलाडीहरुको साथमा ८ जना पत्रकार सहित ५२ जनाको टोली गण्डकी पोखरा आउने उनले सुनाए।  

फाउण्डेसनका महासचिव एकराज गिरीले ‘शान्तिका लागि फुटबल’ भन्ने अभियान नेपालबाट शुरु गरिने बताए। अभियानले खेलाडी तथा खेलकुदको विकासमा थप टेवा पुग्ने उनले दाबी गरे। हालसम्म आफुहरुले १६ देशमा समन्वय गरेको महासचिव गिरीले बताए।

नेपाली फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले स्पेन जस्तो देशका खेलाडीहरुसँग पोखरामा खेल्न पाउनु निकै खुशीको कुरा भएको बताए। आफुहरुको टिमको तयारी सुरु भएको बताएका उनले राजेन्द्र तामाङको प्रमुख प्रशिक्षणमा आफुहरु तयारीमा जुट्दै गरेको जनाए। केही दिनमा २५ जना खेलाडीहरु छनौट गरी मैत्रिपूर्ण खेलको लागि कम्तिमा एक हप्ता प्रशिक्षण गर्ने भएको कप्तान गुरुङले जनाए। पूर्व खेलाडी सुन्दर थापाले पोखरापछि काठमाडौंमा मैत्रीपुर्ण खेल हुने बताए।  

प्रकाशित: २९ मंसिर २०७९ ०८:३७ बिहीबार

मैत्रीपूर्ण फुटबल