खेल

एम्बाप्पेलाई सहज छैन गोल थप्न

अभ्यासका क्रममा फ्रान्सेली टोली। तस्बिर: एपी

अल बायत स्टेडियममा हुने आतिसबाजी या पप संगीतमा कसैको ध्यान जाने छैन, किनकि त्यहाँ वालिद रेग्रेगुईको मोरक्को टोलीले फ्रान्सविरुद्ध विश्वकप सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ।

४७ वर्षे प्रशिक्षक रेग्रेगुईको टोली मोरक्को विश्वकप सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन र पहिलो नै अरब राष्ट्र बनिसकेको छ। त्यसैले दोहाको अडिटोरियममा भएको प्रि-म्याच कन्फ्रेन्समा रेग्रेगुईको टोली मोरक्कोले डिडियर डेसच्याम्प्सको टोली फ्रान्ससँग भिड्नुअगाडि त्यसको पूर्ण फाइदा लिँदै आफ्नो भनाइ राख्यो।

विश्वकप सहभागितामा सुधारका साथै ऐतिहासिक यात्रा जारी राखेको मोरक्कोको प्रमुख परीक्षा डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध हुनेछ। अफ्रिकन टोली मोरक्कोले डिफेन्डिङ च्याम्पियन फ्रान्स र विश्व फुटबलमा नयाँ स्टार स्टाइकर किलियन एम्बाप्पेविरुद्ध पनि खेल्नुपर्नेछ। लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो युग ढल्किँदै गर्दा एम्बाप्पेको उदय भइरहेको छ। बुधबारको खेल सांस्कृतिक र राजनीतिक आस्थासँग पनि जोडिनेछ, किनकि फ्रान्सले सन् १९१२ देखि १९५६ सम्म मोरक्कोमा शासन गर्थ्यो। मोरक्कोले कतारमा सबैखाले अनुमानलाई पछि पार्दै नयाँ इतिहास कायम गरिसकेको छ ।

किनकि मोरक्कोले समूहचरणमा फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई हराएको थियो भने नकआउट चरणमा युरोपियन फुटबलका पावरहाउस स्पेन र पोर्चुगललाई स्तब्ध पार्दै सेमिफाइनलमा स्थान बनायो। यो सफलता यसअघि कुनै पनि अरब र अफ्रिकन टोलीले प्राप्त गरेका थिएनन्, जुन मोरक्कोले हासिल गरेको छ। ९२ वर्षको विश्वकप इतिहासमा नयाँ कथा रचिएको छ। तर,अझै त्यो कथाको अन्त्य भने भइसकेको छैन। ‘मलाई विश्वकप जित्न सक्छौ भनेर सोधियो। मैले पनि उत्तर दिएँ किन नसक्नु, सक्छौं। हामीले सपना देख्न पाउँछौं। सपना देख्न तिमीले त्यसको मूल्य तिर्नु पर्दैन,’ वालिद रेग्रेगुईले भने।

मोरक्कोका प्रशिक्षक रेग्रेगुईको जन्म फ्रान्समा भएको हो। उनै रेग्रेगुईले अब जोसुकै टोली मोरक्कोसँग खेल्दा डराउने या सचेत हुने प्रतिक्रिया दिए। त्यसमा फ्रान्स पनि रहने उनको भनाइ छ। यद्यपि, फ्रान्सले भने यसअघि नै कडा परीक्षा पास गरिसकेको छ। किनकि फ्रान्सले क्वार्टरफाइनलमा विश्वकपकै दाबेदार मानिएको बलियो टोली इङ्ल्यान्डलाई हराएको थियो। त्यो खेलमा एम्बाप्पे केही शान्त थिए, जुन बिरलै हुने गर्दछ। अहिलेसम्म कुनै पनि खेलाडीले पाँच गोलभन्दा बढी गरेका छैनन्। तर, एम्बाप्पे भने सर्वाधिक पाँच गोल गर्ने खेलाडीको सूचीमा एक्ला हुन्।

उनै एम्बाप्पेलाई पनि मोरक्कोविरुद्ध गोलसंख्या थप्न सहज हुने छैन। किनकि यस विश्वकपमा कुनै पनि टोलीले मोरक्कोविरुद्ध गोल गर्न सकेका छैन। यस विश्वकपमा मोरक्कोले एक गोल मात्र खाएको छ, त्यो गोल पनि आत्मघाती हो। गत अगस्ट ३१ मा रेग्रेगुई मोरक्कोको प्रशिक्षकमा नियुक्त भएका थिए। त्यसयता ९ खेलमा कुनै पनि टोलीका खेलाडीले मोरक्कोविरुद्ध गोल गर्न सकेका छैनन्। मोरक्कोलाई सेमिफाइनलमा चोटले पनि सताउनेछ। एग्वेर्ड र सेन्टर ब्याक रोमेन साइस चोटका कारण बुधबार मैदान बाहिर रहन सक्छन्। तथापि, मोरक्को एक खेलाडीमा निर्भरभन्दा पनि अनुशासित शैलीमा टिम गेम खेलिरहेको छ।

मोरक्कोका प्रशिक्षक रेग्रेगुईले आफ्नो टोली अफ्रिकाप्रतिको मानसिकतामा परिवर्तन गर्न तयार रहेको समेत धारणा राखेका छन्। आफ्ना खेलाडीले उत्कृष्ट नतिजाभन्दा तलको पुरस्कार ग्रहण नगर्ने पनि प्रशिक्षकको भनाइ छ। ‘हामी थप यात्रा अगाडि बढाउन लड्नेछौं। यो लडाइँ अफ्रिकाको लागि पनि हो। समग्र अरब भूमिका लागि पनि,’ उनले भनेका छन्। रेग्रेगुईले आफ्ना डिफेन्डर असरफ हाकिमी फ्रान्सका स्टार एमबाप्पेलाई रोक्न तयार रहेको पनि बताए। हामिकी र एम्बाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) का सहकर्मी हुन्।

तर, उनले फ्रान्स एउटा खेलाडीमा मात्र निर्भर नरहेको पनि उनले स्वीकार गरे। ‘फ्रान्स एउटा खेलाडीमा मात्र निर्भर छैन। फ्रान्सलाई रोक्न हाकिमी आफ्ना अन्य खेलाडीलाई उत्साह प्रदान गर्न तयार छन्,’ उनले भने। रेग्रेगुईले मोरक्कोको जितका आधार नै ‘टिम स्पिरिट’ रहेको धारणा राखेका छन्, जहाँ अल बायत रंगशालामा उसले धेरै समर्थकको पनि साथ पाउनेछ। त्यो खेलमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रों पनि उपस्थित हुने सम्भावना छ। हजारौं संख्यामा हरियो र रातो झन्डा अंकित मोरक्कोका समर्थकले त्यो मैदान भरिने आशामा मोरक्को छ।

त्यसैले त्यो खेल मोरक्कोका खेलाडीका लागि घरेलु मैदानमा खेलेजस्तो अनुभव हुनेछ। ‘हाम्रो साथमा अर्जेन्टिना र ब्राजिलका जस्तै समर्थक हुनेछन्। यी दुई राष्ट्रलाई विश्वका कुनाकुनाबाट समर्थन गर्न आइपुगेका छन्,’ रेग्रेगुईले भने, ‘हामी पनि त्यसै गरी खेल्नेछौं। फ्रान्सविरुद्ध हामीले घरेलु मैदानको अभास हुनेछ ।’

फ्रान्समा अनुभवी र क्षमतावान् स्टारले भरिएको छ। एम्बाप्पे र एन्टोनी ग्रिजम्यानले यस विश्वकपमा प्लेमेकरका रूपमा आफूलाई उभ्याएका छन्। यी दुईको नेतृत्वमा अग्रपंक्ति ओलिभर जिरौडले समाल्नेछन्।

जिरौडले यस विश्वकपमा मेसीसँगै समान चार गोल गरिसकेका छन्। इङ्ल्यान्डविरुद्ध पनि उनले विजयी गोल गरेका थिए। फ्रान्सको कुनै पनि पोजिसनबाट आक्रामण हुनेछ। किनकि उसका डिफेन्ससम्म पनि त्यो क्षमता छ। फ्रान्सका डिफेन्डर राफाइल भरानले विश्वको २२औं वरीयताको टोली मोरक्कोबाट कुनै पनि खतरा नहुने आशा व्यक्त गरे। ‘हाम्रो अनुभवी यो टोलीले त्यस्तो अवस्था सामना गर्नुपर्ने छैन भन्नेमा विश्वस्त छु ,’ उनले भने, ‘मोरक्को यहाँसम्म कुनै पनि अवसर पाएर आएको होइन। उसले त्यो साबित पनि गरेको छ। तर, पनि हामी अर्को लडाइँ लड्न तयार छौं।’  

प्रकाशित: २८ मंसिर २०७९ ०१:३३ बुधबार

मोरक्कोका प्रशिक्षक रेग्रेगुई अल बायत स्टेडियममा हुने आतिसबाजी या पप संगीत