खेल

हाजार्डले लिए सन्यास

कतार विश्वकपको समूह चरण नै पार गर्न असफल बेल्जियम फुटबलको ‘गोल्डेन जेनेरेसन’ का सदस्यमध्ये एक इडन हाजार्डले अन्तर्राष्ट्रिय फुटबल करियरबाट संन्यास लिएका छन्।

अहिलेको बेल्जियमको टोलीलाई ‘गोल्डेन जेनेरेसन’ का रूपमा हेरिएको थियो। तर, कप्तान हाजार्डकै नेतृत्वमा बेल्जियमले समूहचरण पार गर्न सकेन। विश्वकप जारी रहँदै नै रियाल मड्रिडका ३१ वर्षे फरवार्ड हाजार्डले सामाजिक मार्फत संन्यासको घोषणा गरेका हुन्।

‘एक अध्याय अन्त्य गर्ने निर्णयमा पुगेको छु,’ उनले सामाजिक सन्जाल इन्स्टाग्राममा उनले पोस्ट गरेका छन्, ‘तपाईंहरूको साथ र समर्थनप्रति आभारी रहनेछु। सन् २००८ देखि यो खुसीका लागि सबैलाई धन्यवाद दिन चाहन्छु। मैले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियर अन्त्य गर्ने निर्णय पनि गरेको छु।’ बेल्जियम टिमले ‘अल द बेस्ट कप्तान’ भन्दै ट्विट गरेको छ।

अट्याकिङ मिडफिल्डर हाजार्डले सन् २००८ मा युवाअवस्थामा बेल्जियमबाट डेब्यु गरेका थिए। उनले कुल १२६ खेलमा ३३ गोल पूरा गरेका छन्। उनी सम्मिलित गोल्डेन जेनेरेसन सन् २०१८ को रसिया विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो। यस क्रममा बेल्जियमले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले हराउँदै सनसनी मच्चाएको थियो। फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम यसपटक भने समूहचरण पार गर्न असफल रह्यो। मोरक्को र क्रोएसिया सम्मिलित समूह ‘ए’ मा बेल्जियम तेस्रो भयो। यो समूहको खेलमा बेल्जियम २२औं फिफा वरीयताको टोली मोरक्कोसँग स्तब्ध बन्न पुग्यो।

‘गोल्डेन जेनेरेसन’ को टोलीमा अधिकांश खेलाडीको उमेर ३० वर्ष वरपर छ। कप्तान हाजार्डले केही वर्ष फुटबल खेल्न सक्ने भए पनि संन्यास लिने निर्णय गरे। कतार विश्वकपअगाडि हाजार्डले आफ्नो टोलीले विश्वकप जित्न सक्ने दाबी गरेका थिए। तर, उनको टोलीले खराब प्रदर्शन गर्दै समूहचरण नै पार गर्न सकेन।

बेल्जियमले खराब नतिजा सामना गरेपछि उनी संन्यास लिने निर्णयमा पुगेका हुन्। हाजार्ड सन् २०१२ मा फ्रेन्च क्लब लिलेबाट चेल्सीमा पुगेका थिए। चेल्सीमा पुगेपछि उनी इङ्लिस प्रिमियर लिगकै चर्चित खेलाडी बन्न पुगे। चेल्सीबाट उनले दुई पटक लिगको उपाधि पनि जिते।

उनी सन् २०१९ मा चेल्सीबाट रियाल मड्रिड पुगेका हुन्। तर, त्यहाँ उनले चोटका कारण निकै संघर्ष गरिरहेका छन्। कतार विश्वकप चलिरहँदा उनी, केभिन डी ब्रुएना र गोलकिपर थिबाउट कोर्ट्वाबीच द्वन्द्व रहेको समाचार बाहिरिएको थियो, जुन समाचारप्रति प्रशिक्षक रोबर्टो मार्टिनेजले सत्यता नरहेको प्रतिक्रिया दिएका थिए। कतार विश्वकपको समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक मार्टिनेजले पनि उक्त पदबाट राजीनामा दिइसकेका छन्।  

प्रकाशित: २२ मंसिर २०७९ ०३:४२ बिहीबार

कतार विश्वकप इडन हाजार्ड