खेल

नेइमारको गोल, पेलेप्रति प्रार्थना

ब्राजिलियन नेइमार पुरानै शैलीमा फर्किंदा फिट थिए र उनले गोल पनि गर्दै महान् फुटबलर पेलेको सर्वकालीन गोलको कीर्तिमाननजिक पुगेका छन्।

ब्राजिलले मंगलबार एसियन प्रतिद्वन्द्वी दक्षिण कोरियामाथि रबाफिलो जित निकाल्दा नेइमारको प्रदर्शनले दक्षिण अमेरिकी टोलीलाई उत्साह प्रदान गरेको छ। चोटका कारण उनले दुई खेल गुमाइसकेका थिए। चोटबाट पुनरागमन गरेका नेइमारले पेनाल्टी अवसरमा पनि गोल गरे। त्यससँगै उनले राष्ट्रिय टोलीबाट ७६ गोल पूरा गरे। पेले ब्राजिलको सर्वकालीन गोलकर्ता (७७) हुन्, जसले साओ पाउलोको एक अस्पतालबाट दक्षिण कोरियासँगको खेल हेरेका थिए। ‘म धेरै डराएको थिएँ। घाइते भएपछि मेरा लागि निकै कठिन समय रह्यो,’ नेइमारले भने, ‘त्यो रात म धेरै रोएँ। अन्ततः चोटबाट फर्किएको छु।’

फिजियोथेरापीमा सफलतापछि नै यो सम्भव भएको नेइमारको भनाइ छ। श्वासप्रश्वासमा समस्या भएपछि ८२ वर्षे पेलेले साओ पाउलोको एक अस्पतालमा उपचार गराइरहेका छन्। कतारमा रहेका अधिकांश ब्राजिलियन समर्थक उनै महान् खेलाडीको अवस्थालाई लिएर चिन्तित छन्। नेइमारले पनि पेलेकै तस्बिर बोकेका थिए। पछि टिमका खेलाडीले नै उनको तस्बिरका साथ फोटो खिचाए। ९७४ रंगशालामा अधिकांश ब्राजिलियन समर्थकले ब्यानर र पेलेको सम्मानमा टिसर्ट लगाएका थिए। केही समर्थकले पेलेको ठूलो फोटोअंकित ब्यानर पनि बोकेका थिए।

यसबीच ब्राजिलले प्रत्येक १० मिनेट एक गोल गरेको थियो। जहाँ ब्राजिलका महान् खेलाडी पेलेले पनि १० नम्बरको जर्सी लगाउने गर्थे। ‘पेले जुन अवस्थाबाट गुज्रिरहेका छन्, यतिबेला उनको बारेमा कुरा गर्न कठिन भइरहेको छ,’ नेइमारले भने, ‘आशा गरौं उनी छिट्टै ठीक हुनेछन्। उनलाई चाँडै निको होस् भन्ने हाम्रो प्रार्थना पनि छ।’

यता एसियन राष्ट्र दक्षिण कोरिया सन् २००२ पछि पहिलोपटक अन्तिम १६ पार गर्ने लक्ष्यमा थियो। तर, ब्राजिलसँग हारेसँगै कोरियाको लक्ष्य पूरा हुन सकेन। दक्षिण कोरियाले घरेलु मैदानमा आयोजना भएको विश्वकपमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो।

नेइमारले सर्बियासँगको पहिलो खेलमा दायाँ खुट्टामा चोट बोकेका थिए। त्यसपछि उनले समूह चरणका दुई खेल नै गुमाउनुपर्‍यो। उनले विश्वकप नै गुमाउने हुन् कि भन्ने चर्चा पनि सुरु भएको थियो। तर, उनी टोलीमा फर्किन सफल भए। दक्षिण कोरियाविरुद्ध भने नेइमारमा चोटको असर देखिएन। उनले प्रभावशाली प्रदर्शन गर्दा ब्राजिलले लगातार आठौं पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो। नेइमारको पेनाल्टी गोल यो विश्वकपमा उनको पहिलो पनि हो। खेलको १३औं मिनेटमा पाएको पेनाल्टी अवसर उनले सदुपयोग गरेका हुन्। त्यो गोलसँगै नेइमारका सहकर्मीले उनीसँग उत्सव मनाए।

यस क्रममा नेइमार, भिनिसियस जुनियर र अन्य खेलाडीले सँगै डान्स गर्दै आकाशतिर हातले सम्बोधन गरेका थिए। सन् २०१४ को विश्वकपमा पनि नेइमारले क्वार्टरफाइनलमा चोट सामना गरेका थिए। जसको कारण ब्राजिलियन टोलीले घरेलु भूमिमा भएको विश्वकपको सेमिफाइनलमा अप्रत्याशित हारको सामना गर्नुपर्‍यो, जहाँ ब्राजिल जर्मनीसँग ७-१ ले स्तब्ध भएको थियो। विश्वमा महँगा खेलाडी भए पनि नेइमारले विश्वकपमा भने ब्राजिललाई सफलता दिलाउन सकेका छैनन्। त्यसैले पनि उनले आलोचना सामना गर्नुपरेको छ।

सोमबार नेइमारले पेले र रोनाल्डोजस्तै तीन विश्व कपमा गोल गर्ने खेलाडीको आँकडा पूरा गरेका छन्। नेइमारको टोली ब्राजिलले आगामी शुक्रबार क्रोएसियाविरुद्ध खेल्दै छ। युरोपियन टोलीमाथि जित निकाल्दै ब्राजिल यस पटक आफ्नो दाबेदार कायमै राख्ने लक्ष्यमा हुनेछ। साथै ब्राजिलियन खेलाडी पनि यसपटक उपाधि जित्दै महान् खेलाडी पेलेलाई उपहार दिन चाहन्छन्।  

प्रकाशित: २१ मंसिर २०७९ ०२:१९ बुधबार

नेइमारमाको गोल पेलेप्रति प्रार्थना