खेल

एमबाप्पेको प्रदर्शनमा टिकेको फ्रान्सको यात्रा

कतारमा जारी विश्वकप २०२२ मा यदि कुनै खेलाडीले सनसनी मच्चाइरहेका छन् भने ती खेलाडी फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पनि एक हुन् भन्दा फरक नपर्ला।

उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा साबिकको विजेता फ्रान्सले अन्तिम १६ को टिकट काटेको हो। फ्रान्सले अन्तिम १६ मा आइतबार पोल्यान्डको सामना गर्दै छ। पोल्यान्डका लागि भने फ्रान्सलाई स्तब्ध पार्दै क्वार्टरफाइनलमा स्थान बनाउने आशा कप्तान रोबर्ट लेवान्डोवस्कीमा टिकेको छ। एमबाप्पे यसै महिनाबाट २४ वर्षमा प्रवेश गर्दैछन्।

जारी विश्वकपमा उनी जुन लयमा हुनुपर्ने हो, त्यहाँ नपुगेको पनि हुन सक्छ। तर एमबाप्पेले विश्वकपका १० खेलमा सात गोल गरिसकेका छन्। एमबाप्पेले विश्वकपमा गरेको कुल सात गोलमध्ये तीन गोल जारी विश्वकपको हो। फ्रान्सले अस्ट्रेलियाविरुद्ध ४–१ को जित निकाल्दा उनले एक गोल गरेका थिए।

दोस्रो खेलमा पनि उनकै दुई प्रेरणामा फ्रान्सले डेनमार्कमाथि २–१ को जित निकाल्दै एक खेल अगावै अन्तिम १६ को टिकट काटेको हो। रुस विश्वकपमा एमबाप्पेले कुल चार गोल गरेका थिए, जसमध्ये एक गोल क्रोएसियाविरुद्ध फाइनलको हो। एमबाप्पेको यस पटकको लक्ष्य हो, सन् १९६२ पछि फ्रान्सलाई विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बनाउनु। ब्राजिलले सन् १९६२ विश्वकप उपाधिको रक्षा गरेको थियो।

ब्राजिलको विश्वकप उपाधि रक्षा गर्दाका नायक थिए, महान् फुटबलर पेले। फ्रान्सको उपाधि रक्षामा प्रशिक्षक डिडियर डेसच्याम्पका लागि पनि एमबाप्पे सबैभन्दा विश्वासिलो पात्र हुन सक्छन्। उच्च लयमा रहेका स्ट्राइकर करिम बेन्जिमाले चोटका कारण विश्वकप उद्घाटनको पूर्वसन्ध्यामा टोलीबाट नाम फिर्ता लिएपछि फ्रान्सको प्रदर्शन प्रभावित हुने अनुमान थियो। तर एमबाप्पेले टोलीमा बेन्जिमाको कमी हुन दिनएन् र उनलाई ओलिभर जिरौउडले पनि साथ दिए।

‘एमबाप्पेमा कुनै घमण्ड छैन,’डेसच्याम्पले भने, ‘उनी हाम्रा लागि महत्त्वपूर्ण खेलाडी हुन् र उनको प्रदर्शनमा टोलीको उपाधि रक्षाको लक्ष्य कहाँसम्म पुग्छ भन्ने निर्धारण गर्छ। रुस विश्वकपमा उनी युवा थिए। तर पनि उनले परिपक्व प्रदर्शन गरेका थिए। उनमा यस पटक कति परिपक्वता आइसकेको छ, त्यो जारी विश्वकपमा उनको प्रदर्शनले पनि प्रमाणित गर्छ।’

डेसच्याम्पले ट्युनिसियाविरुद्ध समूह चरणको तेस्रो खेलमा एमबाप्पेसहित कप्तान ह्युगो लोरिस, एन्टोनी ग्रिजमन र ओलिभर जिरौउडजस्ता महत्त्वपूर्ण खेलाडीलाई आराम दिएका थिए। सो खेल फ्रान्सले १–० ले हार्‍यो। तर पनि फ्रान्स समूह ‘डी’ को विजेताको रूपमा अघिल्लो चरण प्रवेश गर्न सफल भयो। पोल्यान्डविरुद्ध एमबाप्पे, लोरिस, ग्रिजमन र जिरौउड टोलीमा फर्कनेछन्। फ्रान्स र पोल्यान्ड सन् १९८२ को विश्वकपपछि पहिलो पटक आमनेसामने हुन लागेका हुन्। यस खेलमा पोल्यान्डको तुलनामा फ्रान्स बलियो टोली हो। तर, एमबाप्पे युरो कप २०२० को अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध निर्णायक पेनाल्टी गुमाएको घटनाबाट निकै सजक छन्।

समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनासँग निराश भएको पोल्यान्ड मेक्सिकोलाई गोलअन्तरमा पछि पार्दैै समूह उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो। साउदी अरेबियाविरुद्धको दोस्रो खेलमा निकालेको २–० को जितमा लेवान्डोवस्कीले दोस्रो गोल गरेका थिए। जुन लेवान्डोवस्कीका लागि विश्वकपमा पहिलो गोल पनि हो। त्यो गोल पोल्यान्डको अन्तिम १६ को यात्रामा निर्णायक पनि बन्यो। ‘यो मेरो अन्तिम विश्वकप सहभागिता हो भन्ने मलाइ थाहा छ र मैंले विश्वकपमा गोल खाता खोल्न सफल भएँ, त्यसमा म खुसी छु,’लेवान्डोवस्कीले भनेका थिए। लेवान्डोवस्कीले छनोट चरणमा ९ गोल गरेका थिए। एमबाप्पे र लेवान्डोवस्की विश्वकपमा एक अर्काविरुद्ध मैदान उत्रिएको खेल विश्व जगतका लागि निकै दुर्लभ घटना हुनेछ।

त्यस्तै समूह ‘बी’ को विजेता इङ्ल्यान्डले आइतबार नै अफ्रिकन राष्ट्र सेनेगलको सामाना गर्नेछ। समूह ‘ए’ को पहिलो खेलमा नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको सेनेगल दोस्रो खेलमा कतार र तेस्रो खेलमा इक्वेडरलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको थियो। पहिलो खेलमा व्यहोरेको हारपछि उत्कृष्ट पुनरागमन गरेको सेनेगल गारेथ साउथगेटको टोली इङ्ल्यान्डका लागि क्वार्टरफाइनल प्रवेशको लक्ष्यमा बाधक बन्न सक्छ। इङ्ल्यान्डले पहिलो खेलमा इरानलाई हराएको थियो। दोस्रो खेलमा भने अमेरिकासँग बराबरीमा रोकिएको थियो, इङ्ल्यान्ड। तेस्रो खेलमा वेल्सलाई हराउँदै इङ्ल्यान्डले अन्तिम १६ मा स्थान बनाएको हो।

प्रकाशित: १८ मंसिर २०७९ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App