खेल

‘अस्ट्रेलियालाई हल्का रूपमा लिँदैनौं’

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले अन्तिम १६ मा अस्ट्रेलियालाई प्रतिद्वन्द्वीको रूपमा पाए पनि उनीहरूलाई हल्का रूपमा भने नलिने बताएका छन्।

स्कोलानीले यसअघि नै समूहचरणको पहिलो खेलमा साउदी अरेबियालाई कमजोर टोलीका रूपमा लिएर गल्ती गरिसकेकाले पुनः सो गल्ती नदोहोर्‍याउने बताए।

समूह ‘सी’ को पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग स्तब्ध भएको थियो। यद्यपि दोस्रो खेलमा मेक्सिको र अन्तिम खेलमा पोल्यान्डमाथिको जितपछि अन्ततः अर्जेन्टिनाले समूह ‘सी’ को विजेताका रूपमा नकआउट चरणको टिकट काटेको हो। अर्जेन्टिनाले समूहविजेता बनेसँगै फ्रान्ससँगको सम्भावित भेटसमेत टारेको छ। रूस विश्वकपमा फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई हराएको थियो। अर्जेन्टिनाले समूह ‘डी’ को उपविजेता अस्ट्रेलियालाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो।  

समूह ‘सी’ को उपविजेता पोल्यान्डले अन्तिम १६ मा समूह ‘डी’ को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

‘अस्ट्रेलिया पनि कठिन प्रतिद्वन्द्वी हो। साउदी अरेबियाविरुद्धको खेलबाट हामीले ठूलो पाठ सिकिसकेका छौं,’ स्कोलानीले भने, ‘अस्ट्रेलियालाई सहज प्रतिद्वन्द्वीका रूपमा लिनुभयो भने त्यो ठूलो भूल हुनेछ। उनीहरूले बलिया टोलीलाई पनि कठिन चुनौती दिन्छाैं भन्ने प्रमाणित गरिसकेका छन्।’

त्यस्तै स्कोलानीले समूहचरण सकिएको भोलिपल्ट बाट अन्तिम १६ को खेल सुरु हुने तालिकाको पनि विरोध गरे।

‘हामी खुसी छाैं तर ज्यादै उत्साही छैनाैं,’ स्कोलानीले भने, ‘हामीले बुधबार खेल्यांै तर अब दुई दिनपछि नै हामीले अस्ट्रेलियाको सामना गर्नुपर्छ, खेलाडीले आराम नै पाउँदैनन्। मैले खेलतालिका कसरी निर्धारण गरियो बुझ्न सकेको छैन।’  

स्कोलानीले साउदी अरेबियाविरुद्धको हारपछि टोलीले जित्नै पर्ने दबाबका बीच सुधारिएको प्रदर्शन गरेको पनि बताए।

‘कुनै पनि खेल हार्नु, कसरी फाइदाजनक हुँदैन,’ उनले भने, ‘सो हारले हामीलाई दबाबमा राख्यो। अन्तिम खेलसम्म पनि हामीले संघर्ष गर्नुपर्‍यो।’ साउदी अरेबियामाथि जितसहित प्रतियोगिताको सुखद सुरुआत गर्न पाएको भए दोस्रो र तेस्रो खेलमा हामी दबाबरहित हुने थियाैं। यद्यपि हाम्रा खेलाडी सहजै निराश हुने खालका छैनन्। उनीहरूले दबाबबीच पनि दोस्रो र तेस्रो खेलमा पनि उच्च मनोबलका साथ प्रदर्शन गरे। जसको सफल नेतृत्व कप्तान लियोनल मेसीले गरे।’

प्रकाशित: १६ मंसिर २०७९ ०२:०० शुक्रबार