खेल

आफ्नै जन्मभूमिलाई हराएका वाहबी

फ्रान्सविरुद्ध जितपछि ट्युनिसियाका वाहबी खाजरी अभिवादन गर्दै । तस्बिर: एएफपी/एजेन्सी

आफ्नै जन्मभूमिविरुद्ध वाहबी खाजरीले गरेको गोलमा ट्युनिसियाले बुधबार फ्रान्समाथि १–० को जित निकाल्यो। जुन जित ट्युनिसियाको फुटबल इतिहासकै सबैभन्दा यादगार जित हुनेमा कुनै शंका छैन। तर, सो जित ट्युनिसियालाई कतार विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न भने पर्याप्त बनेन।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले यस अघि नै अन्तिम १६ को टिकट काटिसकेको भन्दै ट्युनिसियाविरुद्ध ९ परिवर्तन गर्दा प्रमुख खेलाडीलाई आराम दिएका थिए। फ्रान्सको चाहाना थियो, ट्युनिसियाविरुद्ध सहज जितसहित सफल यात्राको निरन्तरता। तर, ५८औं मिनेटमा खाजरीले गरेको गोलले एजुकेसन सिटी स्टेडियममा डेसच्याम्पको सो निर्णयलाई गलत साबित गरिदियो। इन्जुरी समयको आठौं मिनेटमा ग्रिजम्यानको गोलमा फ्रान्सले खेल बराबरीमा ल्याएका थिए।

तर, भिडियो सहायक रेफ्री(भिएआर) ले सो गोललाई अफसाइड भएको भन्दै मान्यता दिएन। फ्रान्सकै एक टापु कोर्सिकामा हुर्किएका खाजरी फ्रेन्च लिग वानकै क्लब मोन्टेपिलरबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। खाजरीसँगै टोलीमा भएका कुल ६ खेलाडी फ्रान्समै जन्मिएका हुन्। यीमध्ये खाजरीले फ्रान्सको यु–२१ टोलीबाट समेत खेलेका थिए। तर, उनीसहित ती खेलाडी हाल विश्वकपमा भने ट्युनिसियालाई प्रतिनिधित्व गरिरहेका छन्। फ्रान्समा अहिले पनि ठूलो संख्यामा ट्युनिसियाका नागरिकहरू छन्।

ट्युनिसियाले विश्वकपमा युरोपेली प्रतिद्वन्द्वीलाई हराएको यो पहिलोपटक हो। छैटौं पटक विश्वकप सहभागितामा १८ खेल खेलेको ट्युनिसियाको यो समग्रमा तेस्रो जित हो। यद्यपि, ट्युनिसियालाई फ्रान्सविरुद्धको जितले पनि समूहचरण पार गर्न भने पर्याप्त भएन। समूह ‘डी’ कै अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कविरुद्ध निकालेको जितसँगै ट्युनिसियाको नकआउट चरण प्रवेशको लक्ष्यले पूर्णता पाउन सकेन। समूह ‘डी’ को शीर्ष स्थानको फ्रान्सको तीन खेलबाट ६ अंक रह्यो।  

दोस्रो स्थानको अस्ट्रेलियाको पनि समान खेलमा ६ अंक रह्यो। तीन खेलमा एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको ट्युनिसियाको चार अंक रह्यो। चौथो स्थानको डेनमार्कको भने मात्र एक अंक रह्यो। समूह चरणको पहिलो खेलमा डेनमार्कलाई गोलरहित बराबरीमा रोकेको ट्युनिसियाले दोस्रो खेलमा अस्ट्रेलियालाई १–० को नतिजा सुम्पियो। जुन नतिजा ट्युनिसियाका लागि निकै महंगो साबित बन्यो। फ्रान्स भने अस्ट्रेलिया र डेनमार्कमाथिको जितसँगै जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको थियो।  

फ्रान्सले सन् २०१० पछि विश्वकपको समूहचरणमा व्यहोरेको यो पहिलो हार हो। यता ६०औं मिनेटमा म्याथ्यु लेकीले गरेको गोल अस्ट्रेलियालाई समूहचरणबाट माथि उठ्न पर्याप्त बन्यो। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई हराएको थियो। सन् २००६ पछि अस्ट्रेलियाले विश्वकपको समूहचरण पार गरेको यो पहिलो पटक हो। सन् २०१०, ०१४ र २०१८ मा भने अस्ट्रेलियाको यात्रा समूहचरणमा सीमित भएको थियो।

प्रकाशित: १५ मंसिर २०७९ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App