खेल

चर्चित अनुहारको अवस्था कमजोर

मिश्रित भावनासहित ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सले कतार छाड्दै छ। छ दशकपछिको विश्वकप सहभागिता उनीहरूका लागि खुसीको क्षण थियो।

यस्तै समू हचरण पार गर्न नसक्नु र विश्वकपको अघिल्लो यात्रा गुमाउनु निकै दुखद रह्यो। दुई खेलमा पराजय र एक खेलमा बराबरी खेलेको वेल्सले कतार छाड्नुपर्ने भएको हो।

अपेक्षा अनुसारको नतिजा निकाल्न नसक्नुलाई उनीहरू आफैंले आफैंलाई न्याय दिन नसकेको मानिरहेका छन्। रोब पेजको टोलीले खाडी देशमा विश्वकप सहभागिता जनाउँदा पहिलो खेलमा अमेरिकासँग बराबरी खेल्दै विश्वकप आरम्भ गरेको थियो।

उक्त खेलमा १-१ गोलको बराबरी भएको थियो। दोस्रो खेलमा इरानलाई २-० को नतिजा सुम्पिएको वेल्सले मंगलबार राति इङ्ल्यान्डलाई ३–० को नतिजा सुम्पियो। सो नतिजासँगै वेल्सको घर फर्किने टिकट पक्का भएको थियो भने इङ्ल्यान्ड समूह ‘बी’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गर्‍यो। सोही समूहबाट इरानलाई पराजित गरेको अमेरिका उपविजेता बन्यो। अमेरिकासँग १–० ले पराजित  हुँदा इरानको यात्रा पनि समाप्त भएको थियो।

पछिल्लो पटक सम्पन्न युरोपियन च्याम्पियनसिपमा नकआउट चरणसम्म पुगेको वेल्सले उदाउँदै गरेको राष्ट्रको परिचय पाए पनि कतारमा निकै संघर्ष गर्नुपर्‍यो। अनुभवी ग्यारेथ बेल र आरोन राम्सेजस्ता खेलाडी भए पनि वेल्सले अघिल्लो चरण पार गर्न असफल रह्यो। यसमा प्रशिक्षक पेज अलि निराश छन् र स्वाभाविक खेल पछिल्ला दुई खेलमा देखाउन नसकेकोमा आफू दुखी रहेको प्रतिक्रिया दिए।

यससँगै विश्व फुटबलका चर्चित अनुहार ३३ वर्षिय ग्यारेथ बेल, ३२ वर्षिय जोए एलिन, ३१ वर्षिय राम्से जस्ता खेलाडीको राष्ट्रिय टोलीमा रहिरहने अवस्था कमजोर भएको छ। प्रशिक्षकले उदाउँदै गरेका खेलाडीलाई प्राथमिकता दिने भनेसँगै उनीहरूको स्थानमा प्रतिस्थापन हुने संकेत देखिएको हो।  

प्रकाशित: १५ मंसिर २०७९ ०२:०७ बिहीबार

कतार विश्वकप २०२२