खेल

सहारा र हिमश्री फुड्सबीच थपियो दशवर्षे सम्झौता

सहारा क्लब पोखरा र हिमश्री फुड्स प्रालि बीच दशवर्षे सम्झौता भएको छ। क्लब र फुड्स बीचको सम्झौता यो तेस्रो पटक हो। हिमश्री फुड्ससँग पहिलो दशवर्षे सम्झौता भएपछि पोखरामा क्लबले आहा गोल्डकप शुरु गरेको थियो।

आहा गोल्डकपको दशवर्षे सम्झौता सकिएपछि फुड्स प्रालिले दोस्रो पटक दशवर्षे सम्झौता गर्यो। दोस्रो सम्झौतापछि क्लबले आहा! रारा गोल्डकपको नामबाट फुटबल प्रतियोगिता सञ्चालन गर्यो। दुईदशकको सम्झौता टुंगिएपछि सहारा क्लब र हिमश्री फुड्स बीच तेस्रो पटक दशवर्षे सम्झौता भएको छ।

सम्झौतापत्रमा हिमश्री फुड्स प्रालिकी कार्यकारी अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) बीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। हस्ताक्षरपछि गोल्डकपको नाम समेत परिवमार्जित गरिएको छ। गोल्डकपकै पूर्वसन्ध्यामा क्लब र  प्रालि बीच सम्झौता भएको हो। सम्झौतासँगै गोल्डकपको नाम ‘आहा ! रारा पोखरा गोल्डकप’ नामाकरण गरिएको छ।

क्लबको यो २२ औं सस्करणको प्रतियोगिता हो। क्लबले २०५८ सालमा पहिलो पटक ‘क्याराभान गोल्डकप’ आयोजनासँगै पोखरामा नकाउट फुटबल प्रतियोगिताले निरन्तरता पाएको थियो। निरन्तर फुटबल प्रतियोगिताको लागि हिमश्री फुड्सले मुख्य प्रायोजन गर्दै आएको हो।  

सम्झौतापछि प्रालिका निर्देशक प्रकाश केसीले सहारा क्लब मार्फत खेलकुदमा सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरिएको बताए। उनले सहरा क्लबसँग नयाँ सम्झौतासँगै ३० वर्षे सहयात्रा शुरु भएकोपनि पनि खुशी व्यक्त गरे। आहा रारा चाउचाउको उत्पादन फुड्स प्रालिले क्लबसँग फुटबल प्रतियोगिताको लागि मात्रै नभई क्लबले सञ्चालन गर्ने एकेडेमीमा आश्रित बालकहरुको लागि समेत वर्षेनी १५ लाख रुपैयाँ दिदैं आएको छ। एकेडेमीसँग दुईवर्ष अघि सम्झौता भएको थियो।  

गोल्डकपको लागि प्रालिले पहिलो ३ वर्ष १८ लाख रुपैयाँ क्लबलाई उपलब्ध गराउने सम्झौता छ। त्यस्तै दोस्रो ३ वर्षमा २१ लाख, तेस्रो ३ वर्ष २४ लाख रुपैयाँ र अन्तिम वर्ष २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने छ। सम्झौतासँगै क्लबलका अध्यक्ष हरिराम गुरुङले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा अभिबृद्धि गरी पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।  

सम्झौता समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले सम्झौताले सहारा क्लबद्वारा आयोजित गोल्डकपको उचाईमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। सहारा क्लबले आगामी पुस १४ गतेदेखि आहा ! रारा पोखरा गोल्डकप आयोजना गर्ने निर्णय गरिसकेको छ। गोल्डकपको लागि आन्तरिक तयारी गरेको छ।  

प्रकाशित: १३ मंसिर २०७९ ०७:४१ मंगलबार

सहारा र हिमश्री फुड्स दशवर्षे सम्झौता