खेल

विश्वकप फुटबल: दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’ को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

खेलको २४ औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको ३४ औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए।

कोरियाका लागि चो गी सुङ्गले दुई गोल गरे। उनले खेलको ५८ औँ र ६१ औँ मिनेटमा दुई गोल गरे। त्यस्तै खेलको ६८ औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गरे भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गरे।

यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अङ्क जोडेको छ। यता हारसँगै दक्षिण कोरिया एक अङ्कका साथ समूहको पुछारमा रहेको छ। घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको थियो। दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो।

प्रकाशित: १२ मंसिर २०७९ १५:५० सोमबार