खेल

सोमबारदेखि पोखरामा आईटिएफ जुनियर–५ टेनिस प्रतियोगिता

वर्षदिनपछि पोखराले फेरी अन्तर्राष्ट्रिय उमेर समूहका खेलाडीको टेनिस प्रतियोगिता हेर्ने अवसर जुरेको छ। अन्तर्राष्ट्रिय टेनिस महासंघ(आईटिएफ)को वार्षिक कार्यक्रम आईटिएफ जुनियर–५ पोखरामा सोमबारदेखि शुरु हुदैंछ। नेपाल टेनिस संघको आयोजना र कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा पोखरामा आयोजित यो पाँचौ आईटिएफ जुनियर–५ प्रतियोगिता हो।  

अण्डर १८ वर्ष उमेर समूहको अन्तराष्ट्रिय प्रतिस्पर्धामा विजेता खेलाडीले विशेष गरी अंक जोड्ने छन्। जोडिएको अंकले उनीहरुको बरियता निर्धारण गर्ने छ। वर्षेनी बरियताको लागि आईटिएफले जुनियर–५ प्रतियोगिताको आयोजनाको जिम्मेवारी सुम्पिने गर्छ। त्यही जिम्मेवारीलाई नेपाल टेनिस संघले कास्की जिल्ला टेनिस संघलाई व्यवस्थापनको जिम्मेवारी दिदैं आएको छ।  

उमेर समूहको प्रतिस्पर्धाको लागि विदेशी खेलाडीहरु आईपुगेका छन्। दुईदिन क्वालिफाईड प्रतिस्पर्धा गरेर उनीहरु सर्किट १ को फाईनल इभेण्टमा उत्रिने छन्। प्रतियोगिताको लागि १० देशका खेलाडीहरु पोखरा आईपुगेका छन। सर्किट–१ र २ गरी दुई सातासम्म चल्ने प्रतियोगितामा ब्वाईज तथा गल्र्स सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए। प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडीहरु सहभागी छन्।  

पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा चाईनिज ताईपेईबाट ५ जना, दक्षिण कोरियाबाट १० जना, रसियाबाट १ जना, भारतबाट ३१ जना, स्पेनबाट १ जना, जर्मनीबाट १ जना, जापानबाट ३ जना ,श्रीलंकाबाट २ जना, अष्ट्रेलियाबाट २ जना र नेपालबाट ८ जना गरी जम्मा ६४ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए। गल्र्सतर्फ नेपालबाट ९ जना, भारतबाट ३७ जना, रसियाबाट १ जना, श्रीलंकाबाट १ जना, संयुक्त राज्य अमेरिकाबाट २ जना, दक्षिण कोरियाबाट ६ जना, चाईनिज ताइपेईबाट ३ जना, हङकङबाट १, अष्ट्रेलियाबाट ३ जना, फिलिपिन्सबाट १ जना गरी जम्मा ६४ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्।  

प्रतियोगितामा सिंगल्स तर्फ विजेताले ३० अंक, रनरअपले १८ अंक, सेकेण्ड रनरअपले ९ अंक, क्वाटर फाईनलिष्टले ५ अंक र फस्ट राउण्ड जित्नेले २ अंक पाउनेछन भने डवल्स प्रतियोगिता तर्फ सिंगल्स प्रतियोगितामा पाउने पोईण्टको २५ प्रतिशत मात्र अर्थात विजेताले ७ अंक, रनरअपले ४.५ अंक, सेकेण्ड रनरअपले २.२५ अंक, क्वाटर फाईनलिष्टले १.२५ अंक पाउने छन।  

पोखरामा आयोजना गरिएको यो पाँचौपटक हो। प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने संघ कास्कीका कोषाध्यक्ष अनुज कुमार बाँस्तोलाले बताए। प्रतियोगितामा अनुमानित कूल आम्दानी २० लाख र खर्च १५ लाख लाग्ने बाँस्तोलाको भनाई छ। पोखरा महानगरपालिकाले प्रवद्र्धकका रुपमा ५ लाख सहयोग गरेको छ।  

प्रकाशित: १० मंसिर २०७९ ०८:४७ शनिबार

आईटिएफ जुनियर–५ टेनिस प्रतियोगिता