समाज

निर्वाचन सामग्री बोकेको जिप दुर्घटना

जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ। सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ। 

भे १ च २१८८ नम्बरको जिप तातोपानी–४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिप सडकदेखि २० मिटर तल खसेको छ। दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएको प्रमुख जिल्ला अधिकरी मुकेशकुमार केशरीले जानकारी दिए।

घाइतेमध्ये प्रहरी हवलदार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले बताए। अहिले घाइते भएकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७९ १६:४१ बिहीबार