समाज

‘लालपुर्जा’ सधैंको चुनावी मुद्दा

रत्ननगर नगरपालिका ९ स्थित पूर्वपश्चिम राजमार्गको टिकौली जंगल नपुग्दै दोभान टोल छ। यहाँ वर्षौंदेखि सिँचाइ जमिनमा भूमिहीन बस्दै आएका छन्। त्यसमध्येका एक हुन् दलबहादुर आलेमगर। उनका घरमा उम्मेदवार भोट माग्न आइसकेका छन्। अधिकांशले उनलाई लालपुर्जा (जग्गाधनी पुर्जा) दिने आश्वासन दिन्छन्। यो आश्वासन उनका लागि नयाँ होइन; २०५६ सालदेखि नै उनले उम्मेदवारबाट यही सुन्दै आएका छन् तर उनी लालपुर्जा पाउनेमा भने आशावादी छैनन्।

‘नेताहरू आउनुहुन्छ, लालपुर्जा दिन्छु भन्नुहुन्छ’, बिहीबार हाँसलाई चारो हाल्दै गर्दा भेटिएका दलबहादुरले भने, ‘उहाँहरूको भर त लाग्दैन।’ सानैमा बाबुसँग उनी धादिङबाट चितवन झरेका हुन्। सुरुमा जहाँ कमाए त्यहीं खाने र बस्ने गर्दथे। बिहे गरेपछि यो ठाउँमा उनी २०४६ सालदेखि बस्दै आएका हुन्। यहाँ दुई छोरा र एक छोरी हुर्काए। छोराछोरीको बिहेदान गरिदिए। लालपुर्जाको आश्वासनमा भोट माग्ने गरेको उनले सुनाए। उम्मेदवारले आश्वासन दिए पनि उनमा उत्साह छैन।

मिना मुखिया ३१ वर्ष पुगिन्। लालपुर्जा पाउने आशामा उनले तीनपटक भोट दिइन्। अहिले पनि चुनाव आउनुभन्दा एक महिनाअघिदेखि नै उम्मेदवारहरू लालपुर्जा दिने भन्दै भोट माग्न आइसकेका छन्। टिकौली जंगलमा दाउरा खोज्न जाने तयारीमा रहेकी मिनाले भनिन्, ‘हामी सधैं सुकुम्बासीको सुकुम्बासी हुने भइयो। नेताहरूले आश्वासन मात्र दिनुहुन्छ। हामीलाई कहिल्यै हेर्नुहुन्न। भोट पाएपछि आउनुहुन्न।’ उनी लालपुर्जा पाउनेमा भने अझै आशावादी नै छन्। उनका पतिले सौराहामा टाँगा चलाएर जीवन गुजारा चलाउँदै आएका छन्।

हरेक चुनावमा भोट माग्दा नेताले सम्झन्छन्, पछि बिर्सन्छन्। सोही बस्तीकी सन्तोषी परियार यसपटक मतदान नगर्ने मनस्थितिमा पुगेकी छन्। ‘नेताहरूले दलितका लागि केही गर्दैनन्। नेताहरू भोटका लागि मात्र आएर ज्यूज्यू गर्नुहुन्छ। भोट दिनुस् है हामी गर्दछौं भन्नुहुन्छ’, उनले भनिन्, ‘लालपुर्जा पाउने आशा पनि छैन भोट पनि हाल्ने।’ उनीहरू जंगलछेउमै बस्छन्। घाँस–दाउरा गरेर जीवन गुजारा गर्नुपर्ने हुन्छ, तर जग्गाधनी पुर्जा नहुँदा जंगलमा पस्न नपाएको उनी बताउँछिन्।

६२ वर्षीय कुलचन्द्र दराई जग्गाजमिन छैन। अर्कैका घरमा हुर्किएका दराई २०४६ सालदेखि टिकौली जंगलनजिक रहेको सुकुम्बासी टोलमा बस्छन्। २०३८ सालदेखि नै ठेला चलाएर जीवन निर्वाह गर्दछन्। लालपुर्जा नपाए पनि भोट हाल्ने उनले बताए। ‘हामीले भोट नहाले पनि जितेर जानुहुन्छ’, ठेला चलाउँदै गर्दा भेटिएका दराइले भने, ‘लालपुर्जा नदिए पनि भोट त दिनुपर्ने होला।’ उनले २०४६ सालदेखिका सबै निर्वाचनमा मतदान गरेको बताए।

दोभानमा १ सय ५० घरधुरी छन्। अधिकांश मानिस २०४६ सालपछि आएर बसेका हुन्। कोही राप्तीमा बाढी आएपछि आएका हुन् भने कोही जग्गाजमिन नभएपछि बसेको पाइन्छ। यहाँका बासिन्दाले मजदुरी गरेरै जीवन निर्वाह गर्ने गर्दछन्।

उनीहरू बसेको यो सरकारी जग्गा व्यक्तिका नाममा दिन मिल्दैन, तर नेताहरूले भोटका लागि आश्वासन दिने गरेका छन्। भूमि आयोगले समेत निस्सा दिएको दोभान टोलकी अध्यक्ष उर्मिला पास्वाङ बताउँछिन्। ‘हामी पहिलेदेखि सिँचाइको अफिस भनेर झाडी फाँडेर बसेका हौं’, उनले भनिन्, ‘रातो पुर्जा दिन्छौं भनेर निस्सा बाँड्नुभएको छ।’ यहाँ सिँचाइले डाँडो काटेर माटो लगेपछि मानिसहरू बस्न थालेका हुन्, तर व्यक्तिका नाममा पुगेको उनीहरू बताउँछन्।

दोभान टोलछेउमा प्रदेशसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद खनालको घर छ। उनीले यसपटक पनि भोट मागिसकेका छन्। बागमती प्रदेशका आन्तरिक मामिला तथा सामाजिक विकासमन्त्रीसमेत रहेका खनालले निर्वाचित भएपछि लालपुर्जा दिने आश्वासन दिएको पास्वाङ बताउँछिन्।

‘रत्ननगरमा १ हजार ५०० घरधुरी सुकुम्बासी छ। हामीले यहाँ लालपुर्जा बाँड्ने तयारी गरेका छौं। अहिले निर्वाचन आचारसंहिताले दिँदैन। निर्वाचन भएपछि हामी स्थायी घर दिन्छौं भन्नुभएको छ’, उनले भनिन्, ‘सरकारले दिने भनेको सरकारी जग्गा त होला नि ?’

यस टोलमा सबै समुदायका मानिसको बसोवास छ। खोलाछेउमै रहेको यस बस्तीमा बाढी आउने सम्भावना बढी छ। यहाँ नभए पनि अन्यत्र ठाउँमा व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।

चितवनमा ४१ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको भूमि आयोगको तथ्यांकमा उल्लेख छ। यसमध्ये ४ हजार ५ सय ८३ जना भूमिहीन दलित, १२ हजार ८६ जना भूमिहीन सुकुम्बासी, २४ हजार ६ सय ६५ जना अव्यवस्थित बसोबासी छन्। उनीहरूका समस्या समाधान गर्ने भन्दै उम्मेदवारले आफ्नो चुनावी घोषणापत्र बनाएका छन्।

प्रकाशित: १ मंसिर २०७९ १२:५० बिहीबार