समाज

म्याग्दीमा २३ जनाले हतियार बुझाए

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको आधारमा २३ जनाले प्रहरीमा हतियार बुझाएका छन्।  

जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंसिर ४ गते सम्पन्न हुने निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन सबै वैध तथा अवैध हतियार संकलन गर्ने क्रममा हालसम्म २३ जनाले जिल्ला प्रहरी कार्यालय मातहतका निकायमा बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए। ‘मिति गुज्रिएपनि अझै बुझाउन सकिन्छ,‘वैध हतियार निर्वाचनपछि फिर्ता गछौं’ सहायक प्रजिअ शर्माले भने।  

यसैबीच अवैध हतियार भएको सूचना समेत जिल्ला प्रहरी कार्यालय र विभिन्न ठाउँमा रहेका प्रहरी युनिटहरुलाई दिन प्रशासनले अपिल गरेको छ। जिल्लाबाट अनुमति लिएकाले जिल्ला बाहिर समेत प्रहरीलाई बुझाएको हुनसक्ने भएकाले यकिन संख्या प्राप्त नभएको प्रशासनले जनाएको छ। प्रशासनबाट व्यक्तिगत सुरक्षाका लागि झण्डै ८० जनाले बन्दुक लगायत विभिन्न प्रकृतिका हतियार राख्ने अनुमती लिएका छन्। अनुमति लिएका अधिकांश संग टुभेल्वर बन्दुक छ।  

हतियारको आडमा कतिपयले मतदातालाई त्रसीत र आतंकीत बनाई स्वतन्त्र रुपमा मताधिकार प्रयोग गर्नबाट बञ्चित गर्न सक्ने भएकाले निर्वाचनको मिति घोषणा गरेपछि संकलन गर्न निर्देशन दिने गरिएपनि अटेर गर्ने गरेको पाइएको छ। म्याग्दीको ग्रामिण क्षेत्रमा बैध र अवैध हतियार निर्वाचनको सुरक्षा चुनौतीको रुपमा लिने गरिन्छ।  

प्रकाशित: ३० कार्तिक २०७९ ११:५० बुधबार

हतियार