रौतहट सदरमुकाम गौरको एक नालामा मंगलबार बिहान भेटिएको मृत युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
गौर भन्सार कार्यालय छेउमा रहेको नालामा मंगलबार बिहान युवकको शव फेला परेको थियो। गौर नगरपालिका १ स्थित गौर भन्सार कार्यालयको छेउमा सुरक्षा चौकीको अगाडि रहेको नालामा करिब २४ वर्षका युवकको शव फेला परेको थियो।
नालामा भेटिएको शवको पहिचान मंगलबार दिउँसोसम्म हुन नसकेको प्रहरीले जनाएको छ। शव कुनै भारतीय युवकको हुन सक्ने आशंका रहेको छ। सोमबार अबेर राति कतै मदिरा सेवन गरेर घरतर्फ फर्किने क्रममा लडेर नालामा खसेपछि मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मंसिर ४ गते हुने निर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय सार्वजनिक सूचना जारी गरेर मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा जिल्लाभर रोक लगाइसकेको छ।
प्रकाशित: २९ कार्तिक २०७९ १२:५१ मंगलबार