समाज

निर्वाचनको मुखमा, गाउँका युवाहरु मजदुरी गर्न भारततिर

गोल्डेन बुढा, जुम्ला

सिंजा गाउँपालिका ६ जोडु गाउँका दिनेश बुढा बुधबार रुपडिया नाका हुँदै मजदुरीका लागि भारतको सिमलातर्फ लागे।

उनीसँगै गाउँका युवा भोट हाल्न छाडेर भारततर्फ लागेका हुन्। उनीहरूलाई चुनावी माहोलले छोएको छैन। देशभर आउदो मंसिर ४ गते प्रतिनिधिसभा प्रदेशभाको निर्वाचन हुँदै छ। भोटभन्दा परिवारमा रोजीरोटी जुटाउन घर छाडेर भारत हिँडेको उनीहरूले बताए। यसअघि थुप्रै पटक भोट दिए पनि बेरोजगारी समस्या समाधान नभएको उनीहरूको गुनासो छ। 

भोट हालेर के हुन्छ र?  निर्वाचनको पूर्वसन्ध्यामा मजदुरी गर्न छिमेकी देश भारत जान लागेका बुढाले उल्टै प्रश्न गरे। पहिलेको चुनावमा भोट हालेकै हो। नेताहरूले हाम्रा लागि केही गर्ने होइनन्। उनका अनुसार यो वर्ष झन वर्षाले लगाएको आलु, कोदो, फापर मकैर सिमी लगायतका बालिहरु बगाएर विजोग छ।

घरको चुलो बाल्न पनि कठिन छ। जितेकाले रोजगारी दिएको भए किन भारत जानुपथ्र्यो। राजनीतिक दलहरूले मतदातामाझ गाउँ विकास र युवा स्वरोजगारको लगायतका विभिन्न चुनावी आश्वासन बाँडिरहेका बेला जुम्ला क्षेत्र नम्बर (ख) सिंजाका  कतिपय युवा धमाधम कामको खोजीमा भारत पस्न थालेका हुन्।

शुक्रबार सिंजा ६ का पनि ४ देखि १० जना युवा भारत गएका छन्। राजनीतिप्रति नै विरक्तिएका उनीहरूको साझा चिन्ता छ। नेताले गाउँघरको विकास गरेनन्, रोजगारी दिएनन्। निर्वाचनको मुखमा घर छाड्नेहरूमा सिंजा गाउँपालिका ५ र ६ नम्बर वडाका युवा बढी छन्। उनीहरूमध्ये अधिकांशले भारतको कालापहाड,सिमला, गुजरात, दिल्ली, पन्जाबलगायत सहरमा काम गर्ने बताए।

'बढीजसो उनीहरू त्यहाँ सडक निर्माण,फलफूल खेतीका लागि र अन्य विभिन्न मजदुरी गर्छन्। नेताहरू चुनावका बेला रोजगार दिन्छु भन्छन्। गाउँको विकास गर्ने आश्वासन दिन्छन्। घोषणा पत्रमार्फत भन्छन्। व्यहारमा कार्यनयन हुदैनन्। जितिसकेपछि हाम्रा लागि केही गर्दैनन्।' भारत जाँदै गरेका सिंजा गाउँपालिका ६ का मनोज बुढा भन्छन् 'त्यसैले यो निर्वाचनमा भोट नहाल्ने निर्णय गरेर भारत जाँदै छौं। तीनरचार महिना काम गरेर घर फर्किन्छौं।

निर्वाचनको मुखमा भारत जाने युवाहरु उल्लेख्य छन्। उनीहरूमा निर्वाचनप्रति कुनै मोह देखिँदैन। चुनावले खानलाउन नदिने उनीहरूको भनाइ छ। कमाउन भारत नजाने हो भने परिवार पाल्न सकिँदैन। हाम्रो समस्या नेताले बुझ्दैनन्। सोही वडाका कमल बुढा भन्छन्। गाउँमै रोजगारी हुने हो भने भारत जाने रहर कसैलाई छैन। अधिकांश खेती सकेपछि काम गर्न भारत जानछन्। 

मतदानको मिति नजिकिँदै गए पनि दसैं, तिहारलगायत चाडपर्वका लागि घर फर्किएकाहरू धमाधम भारततर्फ लागिरहेका छन्। मजदुरी गर्न भारत जानेका लागि यो उपयुक्त समय हो। अहिले भारत पसेकाहरू कोही चैत र वैशाखतिर अन्नबाली भित्र्याउन आउँछन् भने कतिपय दसैंतिहारमा। 

बर्खे बाली भित्र्याइसकेको र चाडपर्व मनाइसकेकाले उनीहरू मजदुरीका लागि निस्केका हुन्। चुनाव आए पनि आफूहरूलाई ठेकेदारले बोलाएकाले जान लागेको कमलले बताए। उनी विगतका वर्षदेखि मजदुरीका लागि भारत जान थालेका हुन्। मतदाता नामावलीमा नाम छ तर भारतमा काम पाइने मौसम यही भएकाले जान थालेको उनले भने।

'हामी जस्ता गरिबलाई चुनाव आए पनि नआए पनि मजदुरीका लागि जानैपर्ने बाध्यता छ।' उनीसँगै सिमलामा काम गर्न जाने ९ जनाको समूह बुधबार भारत पसेको छ। चुनावका बेला सबै पुर्‍याउँछौं भन्ने नेताले जितेर गएपछि फर्केर नहेर्ने गरेकाले भारतमा मजदुरी गर्न जानेका लागि निर्वाचन महत्त्वको विषय नभएको बताए।

प्रकाशित: २५ कार्तिक २०७९ १७:३६ शुक्रबार