समाज

सिन्धुलीगढीमा २५५ औँ विजय उत्सव

सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीको ठूलो गढीमा झन्डा फहराउन ठुलो गढीतर्फ जादै नगरप्रमुखसहित तस्विर: अनिल भण्डारी/ नागरिक

सिन्धुलीको  ऐतिहासिक सिन्धुलीगढीमा २५५ औँ सिन्धुलीगढी विजय उत्सव मनाइएको छ। कमलामाई नगरपालिकाको आयोजनामा कमलामाई नगरपालिका ३ मा रहेको सिन्धुलीगढीमा विजयी उत्सव मनाइएको हो।  

सिन्धुलीगढीको ठूलो गढीमा कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलले नेपालको राष्ट्रिय झन्डा फहराएर विजयी उत्सव मनाइएको हो। नेपाल पत्रकार महासंघले २०६७ सालदेखि सुरु गरि प्रत्येक वर्ष कार्तिक २४ गते विजयी उत्सव मनाइदै आएको छ। नेपाल एकिकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई हराएर बिरासत बोकेको सिन्धुलीगढीको बिजय उत्सवलाई स्थानीय तह कायम भइसकेपछि कमलामाई नगरपालिकाले निरन्तर रुपमा विजयी उत्सव मनाउदै आएको छ।  

पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आएको सिन्धुलीगढीमा एक औपचारिक कार्यक्रम गरि सिन्धुलीगढी विजयी उत्सव मनाइएको थियो। विजयी उत्सव कार्यक्रममा सिन्धुलीको कलाघरका कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत राखेका थिए। नेपाल एकिकरणका बेला बिं. सं. १८२४ मा सिन्धुलीगढीको युद्धमा काठमाण्डौ कब्जा गर्न ईष्टईण्यिा कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको इतिहास सिन्धुलीगढीले बोकेको छ।  सोही खुसीयालीमा सिन्धुलीगढीलाई अन्तराष्ट्रिस्तरमा चिनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न वर्षेनी सिन्धुलीगढी विजय उत्सव मनाईदै आएको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिए।  

सिन्धुलीमाढीबाट विपी राजमार्ग हुदै २० किलोमिटर उत्तरतर्फ लागेपछि पुगिने सिन्धुलीगढीमा पछिल्लो समय पर्यटक थपिदै गएका छन्। सिन्धुलीगढी क्षेत्रमा रहेको ऐतिहासिक महत्व, हावापानी र नागबेली सडकको मज्जा लिन तराइबाट सयौ सवारी साधनमा आन्तरिक पर्यटकहरु सिन्धुलीगढी पुग्ने गरेका छन्। सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रालय र निर्माण सम्पन्न हुने चरणमा रहेको सिन्धुलीगढीको रानीदरबार पर्यटकका थप आकर्षण हुन्।  

विश्वमा साम्राज्य फैलाएको शक्तिशाली राष्ट्रलाई नेपालले यूद्धमा पराजित गरेको स्थानको अबलोकन गर्नु पर्यटकको मुख्य उदेश्य हो। सिन्धुलीगढीबाट मौसम सफा रहदा गौरी शंकर हिमाल समेत देखिने भएकाले गढी क्षेत्रमा आउने जो सुकै पनि तस्बिर खिच्नमै व्यस्त हुन्छन्।  

यतिमात्रै नभएर पछिल्लो समय सिन्धुलीगढीको पुर्ननिर्माणमा नगरपालिका जुटेपछि सेल्फी खिच्ने ठाँउ थपिएको छ। युद्धको समयमा प्रयोग भएका तोप गोर्खाली सेनाका प्रतिविम्ब युद्ध संग्रालय पृश्वीनारायण शाहको शालिक जस्ता थुप्रै घुम्ने र फोटो खिच्ने ठाँउ भएपछि पछिल्लो समय पर्यटक थपिएका हुन्।  

बीपी राजमार्ग हुँदै पूर्वी नेपाल जाने र फर्कने होस वा राजधानीतर्फ जाने जो कोही पनि गढी क्षेत्र घुम्न लालायित हुने गरेको कमलामाई नगरपालिकाले जनाएको छ। भग्नावशेष दरबारलाई पुरानै शैलीमा पुर्ननिर्माण गरिएको छ। राणाकालिन कार्यालय संचालन, वीरवीराङ्गनाको इतिहास खुलाइएको तस्बिर, सानोगढी, ठुलोगढी, पौवागढी, तोप हान्ने प्वाल, फहराइरहेको राष्ट्रिय झण्डा, टुंडिखेल, सिद्धबाबा मन्दिर तथा स्तम्भ सिन्धुलीगढीका हेर्न र दर्शन गर्न सकिने क्षेत्र हो।  

बिसं १८२४ को कात्तिक २४ मा कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिश सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको इतिहासकार बताउँछन्। नेपाल एकिकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाइ सहयोग गर्न आएको ब्रिटिश सेनालाइ बंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेरको इतिहास छ। गोर्खाली सेनाले आक्रमण गरेर मात्र नभइ अरिङालका गोला, अल्लो, सिस्नु लगाएतको समेत मद्धत लिएको सिन्धुलीगढीका खोजकर्ता सागरकुमार ढकाल बताउँछन्।  

प्रकाशित: २४ कार्तिक २०७९ १३:२१ बिहीबार

सिन्धुलीगढी