समाज

फुङ्लिङमा दुई दिने अनुशिक्षण सुरु

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन तथा वित्तीय शुसासन जोखिम मूल्यांकन सम्बन्धी दुई दिने अनुशिक्षण कार्यक्रम बिहीबारबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु भएको छ।

स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न तथा विकास र सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिइ आवधिक समिक्षाको आधार प्राप्त गर्न संस्थागत क्षमता स्वमूल्यांकन गरिन्छ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन वित्तीय शुसासन जोखिम मूल्यांकन गरिन्छ। यी प्रकृयाले सेवा वितरणको प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्छ।

‘स्थानीय तहले गरेका राम्रा अभ्यास, सिकाई र उपलब्धिहरूलाई उजागर गर्दै सुशासन प्रवर्द्धन गर्न समेत यो अभियान कामयावी हुनेछ’ अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले उनले संस्थागत क्षमता स्वमूल्यांकन आफैंमा कठिन कार्य भएपनि यसबाट प्राप्त हुने नतिजाले संस्थागत क्षमताका चुनौती पहिचान गरी त्यसलाइ अवसरको रुपमा लैजान महत्वपूर्ण भूमिका प्राप्त हुने विश्वास समेत लिए।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापाका स्थानीय शासन विज्ञ अनिता गुरागाँईले संस्थागत क्षमता स्वमूल्यांकन कार्यले स्थानीय तहको कार्य प्रकृया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सकिने बताइन्।

यस्तै गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराउन समेत यो कार्य निकै प्रभावकारी हुने उनको भनाइ थियो। स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न सकिने भएकोले सरकारका लागि वित्तीय शुसासन जोखिम मूल्यांकन अनिवार्य भएको गुरागाँइले बताइन्।

कार्यक्रममा प्रदेश अनुसन्धान तथा प्रतिष्ठान केन्द्रका लैंगिक समता तथा सामाजिक समावेशीकरण विज्ञ गीता श्रेष्ठले समेत सहजीकरण गर्नेछिन्। शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र तीनै तहका सरकारबीच सहकार्य र समन्वयका आधारलाई संस्थागत क्षमता स्वमूल्यांकनका सर्तको रुपमा लिइन्छ।

अनुशिक्षणपछि निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाइ स्वमूल्यांकनका उद्देश्य र विधिका बारेमा जानकारी गराउने, विषयगत क्षेत्रहरुको स्वमूल्यांकनका लागि स्थानीय तहका सम्बन्धित विभाग, महाशाखा र शाखालाइ सहभागी गराउने, सबै विभाग, महाशाखा र शाखाहरुसँग समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृतले एकजना अधिकृत कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्ने, विभाग, महाशाखा र शाखाहरुले आफ्नो विषयगत क्षेत्रसँग सम्बन्धित सूचकको लेखाजोखा गरी यसको नतिजा सम्पर्क व्यक्तिलाई उपलब्ध गराउने र सम्पर्क व्यक्तिले एकीकृत रुपमा प्रारम्भिक नतिजा प्रस्तावित गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने लगायतका कार्य हुनेछन्।

स्वमूल्यांकनले स्थानीय तहको सुधारात्मक पक्ष तथा चुनौतीको पहिचान गर्न तथा नीतिगत कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सघाउ पुर्‍याउने बताइन्छ। वित्तीय शुसासन जोखिम मूल्यांकन अन्तरगत योजना, बजेट र कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापनलाई मूल्यांकनका विषयक्षेत्र, तह र सूचकको रुपमा लिइन्छ।

अनुशिक्षण कार्यक्रममा फुङ्लिङ नगरपालिका र आठवटै गाउँपालिकाका योजना शाखा, प्रशासन तथा लेखा शाखा, शिक्षा शाखा, राजश्व शाखा र सूचना प्रविधि शाखाका कर्मचारीको सहभागीता रहेको जिल्ला समन्वय समितिका आशिष बिजयनाथ चौधरीले जानकारी दिए।

प्रकाशित: २४ कार्तिक २०७९ ०८:५० बिहीबार

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन तथा वित्तीय शुसासन जोखिम मूल्यांकन अनुशिक्षण कार्यक्रम