परिवार नियोजन सम्बन्धी विश्वव्यापी पहुँच भन्ने उदेश्य सहित युवा परामर्श कार्यक्रम सम्पन्न भएको छ।
युवाहरूलाई गर्भ निरोधकहरूको पहुँच र उपलब्धता सुनिश्चित गर्ने कार्यको लागि युवा आह्वान विकास गर्न बियोण्ड बेङजिङ कमिटी (बिबिसी) नेपालले आयोजना गरेको कार्यक्रम 'राईट हियर राइट नाउ' को सहयोगमा सम्पन्न भएको हो।
ज्ञान वा सेवाको कमी तथा आफ्ना साझेदार वा समुदायबाट सहयोगको अभाव जस्ता विभिन्न कारणहरूले गर्दा युवाहरूले अझै पनि सुरक्षित र प्रभावकारी परिवार नियोजन विधिहरूको पहुँचबाट बञ्चित भएको अवस्थामा परिवार नियोजनको जानकारी र सेवाहरूमा पहुँच गर्न कार्यक्रम आयोजना गएिको बिबिसीको परियोजना अधिकृत रेयुसा चालिसेले बताईन्।
नेपाल अपेक्षाकृत उच्च किशोरी प्रजनन दर र परिवार नियोजनको अपरिहार्य आवश्यकता भएका राष्ट्रहरू मध्ये एक हो। मुलुकमा उनीहरूलाई आफ्नो जीवन र शरीरको बारेमा पूर्ण रूपमा सूचित, स्वायत्त निर्णयहरू गर्न अझै पनि प्रतिबन्धित भएको अवस्थामा छ। त्यसैले परिवार नियोजन सम्बन्धी सूचना र सेवाहरूको पहुँचमा बाधा पुर्याउने चुनौतिहरूबारे छलफल गरी सरकार तथा सम्बन्धीत राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरूमा यस सम्बन्धी आवश्यक सिफारीस तयार गर्न कार्यशाला आयोजना गरिएको परियोजना अधिकृत चालिसेले बताईन्।
कार्यशालामा स्वास्थय तथा जनसंख्या मन्त्रालयको प्रतिनिधि, विभिन्न संस्थाका पदाधिकारी र विविध क्षेत्र, वर्ग, तथा समुदायका युवाहरू समावेश भएका थिए।
प्रकाशित: २२ कार्तिक २०७९ १२:४२ मंगलबार