समाज

नहान मेलामा कपिलवस्तुका ३ स्थानीय तहले दिए सार्वजनिक बिदा

कार्तिक पुर्णिमाका दिन मंगलबार लाग्ने नहान मेलाका लागि कपिलवस्तुका ३ स्थानीय तहले सार्वजनिक बिदा गरेका छन्।

कपिलवस्तु, महाराजगंज र शिवराज नगरपालिकाले कार्तिक पुर्णिमाका दिन लाग्ने मेलाका लागि कार्तिक २२ गते बिदा गरेका हुन।  

स्थानीय तहले एक वर्षमा ५ दिन स्थानीय बिदा दिन पाउने प्रावधान छ। कपिलवस्तुको बाणंगा नदीको रामघाट, लक्ष्मणघाट, बर्गदीघाट र हदौना लगायतका स्थानमा नहान मेला लाग्ने गर्दछ।  

कार्तिक पुर्णिमाका दिन बाणगंगा लगायतका जिल्लाका विभिन्न स्थानमा वर्षौदेखि मेला लाग्ने गर्दछ। कार्तिक पुर्णिमामा लाग्ने नाहन मेला जिल्ला कै सबै भन्दा पुरानो मेला भएको कबि तथा लेखक हरिराज शर्माले बताए। ‘नहानका दिन रामघाटमा लाग्ने मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो’ उनले भने।  

रामघाटमा लाग्ने मेलामा रामघाटमा स्नान गर्न  र मेला भर्न भारतका विभिन्न स्थान तथा छिमेकी जिल्लाबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन्। आइतबार राति नदी किनार र रामजानकी मन्दिर वरिपरि भजन किर्तन गर्ने गरिन्छ।  

जिल्ला कै सबै भन्दा पुरानो रामघाट मेलाका लागि एक दिन बिदा गरिएको कपिलवसतु नगरपालिकाका मेयर किरण सिंहले बताए। मंसिर ४ गते हुने निर्वाचनका बेला लाग्ने मेलामा हुन सक्ने झडप र अशान्तिलाई मध्य नजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए। उनले मेलामा जुवातास खेल्न र मेला परिसरमा रक्सी बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको बताए।  

प्रकाशित: २१ कार्तिक २०७९ ०८:३६ सोमबार

नहान मेला