समाज

सडक बिस्तारले चराको बासै गुम्यो

बगर बट्टाई

पृथ्वी राजमार्ग अन्तरगत पोखरा–मुग्लिन खण्ड विस्तारको काम शुरु भईसकेको छ। राजमार्ग विस्तारकै क्रममा सडक किनारका अग्ला ठूला रुख कटान गरिएको छ। पोखरा–दमौलीसम्मको क्षेत्रको रुख कटान गरिदाँ त्यहाँका रुखमा आश्रित चराचुरुंगी बढी प्रभावित भएका छन्।  

रुख कटान भईरहँदा पंक्षी समाज कास्कीले चराको अध्ययन गरेको थियो। अध्ययनकै क्रममा नेपालमै संकटापन्न बगर बट्टाई पोखरा–दमौली क्षेत्र अन्तर्गत कोत्रेमा भेटिएको अभिलेख छ। बगर बट्टाई नेपालमा कम देखिने चराको सूचीमा सूचिकृत गरिएको छ। ‘बगर बट्टाई कोत्रेमा भेटिएको अभिलेख राखिएको छ,’ पंक्षी समाज कास्कीका सचिव हेमन्त ढकालले बताए। ढकालका अनुसार पोखरा–दमौली क्षेत्रमा १४० प्रजातिका चराचुरुंगी भेटिएको अभिलेख छ।  

पोखरा–दमौली क्षेत्र खास गरी गिद्ध र चीलको लागि राम्रो क्षेत्रको रुपमा रहेको उनको भनाई थियो। राजमार्ग विस्तार गर्न एशियाली विकास बैंकको ऋण सहयोगमा काम अघि बढाइएको हो। मापदण्ड भित्र परेका रुखलाई अन्धाधुन्ध काटिएको पंक्षी समाज कास्कीको ठम्याई थियो। समाजले गुँड भएका रुखलाई नकाट्न आग्रह गरेपनि सुनुवाई नहुदाँ त्यसको प्रत्यक्ष असर चरालाई परेको जनाएको छ।  

‘रुखमा चराका गुँड भए नभएको सर्वेक्षण गरेर मात्रै रुख काट्न आग्रह गरेका थियौं,’ उनले भने, तर, आग्रहलाई बेवास्ता गरे। गिद्धको गुँड रहेको रुख काट्दा बच्चा खसेर मर्यो।’ उनका अनुसार गिद्ध लोपोन्मुख अवस्थामा छ। गिद्धको गुँड निकै कम मात्रै पाईने गरेको छ। रुख कटानले चरा विस्थापित हुने जोखिम छ।  

पोखरा–दमौली  क्षेत्रको  सिमल चौतराको रुखमा रहेको सानो खैरो गिद्धको गुँड भेटिएको थियो। अति संकटापन्न सानो खैरो गिद्धको बच्चा नै खसेर मरेपछि चरा सम्बन्धि काम गर्ने संघसंस्थाले चिन्ता व्यक्त गरे। ‘यो समय चराले गुँड लगाउने समय हो। यतिबेला रुख कटान गर्न नहुने सूचना सम्बन्धित निकायले भनेका थियौं,’ उनले भने–‘तर ध्यान दिएनन्। धमाधम रुख काटिदिए।’ नेपालमा सानो खैरो गिद्ध, डंगर र सुन गिद्ध अति संकटापन्न सूचीमा छन्।  

चराको बासस्थान नै लोप भएपछि पंक्षी समाज कास्कीले चराको बासस्थान संरक्षणको लागि पहलकदमी गरेको थियो। तर सरकारी निकायले चासो नदिएपछि पंक्षी समाज कास्कीले एशियाली विकास बैंक समक्ष नै उजुरी गरे। उनले सडक विस्तारको नाममा चराको बासस्थानलाई संरक्षण गर्नुपर्नेमा जोड दिए। ‘एडिबीलाई नै चरा संरक्षणको लागि उजुरी दिएपछि एडिबीले नै त्यस क्षेत्रमा चरा अध्ययन गर्न बजेट नै छुट्टाई टोली पठाएको छ,’ उनको भनाई थियो। उनका अनुसार एडिबीले चराको विषय बढी संवेदनशिल भएकोले गम्भीर चासो दिएको हो। पंक्षी समाज कास्कीले गत अगष्टमा एडिबीलाई चरा संरक्षण गर्नुपर्ने भन्दै उजुरी दिएको थियो।

प्रकाशित: १७ कार्तिक २०७९ ०९:०४ बिहीबार

पोखरा–मुग्लिन खण्ड विस्तार चरा