समाज

‘जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्नेलाई मतदान’

आगामी प्रतिनिधि र प्रदेशसभाको चुनाव आउन केही साता बाँकी रहँदा उम्मेदवार घरदैलामा पुगेर मतदाता रिझाउनमा व्यस्त छन्। उम्मेदवार घर–घरमा पुगेर आफ्ना एजेण्डा मतदातालाई सुनाउँदैछन्। मतदाता घरदैलोमा आउने उम्मेदवारसँग गाउँबस्तीका समस्या दर्साउँदैछन्।

मतदाताले आगामी पाँच वर्षका लागि कस्ता व्यक्तिलाई जनप्रतिनिधि चुनेर पठाउने भनेर मनस्थिति बनाउँदैछन्। महाकाली पारी दोधारा चाँदनी नगरपालिका–१ स्थित पूर्णागिरी टोलकी हरिना धामीले यसपटक जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्ने उम्मेदवारलाई मतदान गर्ने बताए। 'बाँदर, बँदेलको समस्या बढी छ, खेती जोगाउन रातदिन जाग्राम बस्नुपर्छ', उनले भने, 'त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ, सबैभन्दा बढी समस्याका रुपमा जङ्गली जनावरको आतङ्क छ।'

वर्षौदेखि जङ्गली जनावरको समस्या झेल्दै आएको हरिनाले बताए। उनको जमिन नेपाल भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टी जङ्गल छ। 'हाम्रो यो समस्या जसले सुनेर समाधानका लागि काम गर्छ, उसैलाई मतदान गर्छौंँ', उनले भने। जङ्गलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश बस्तीका किसानले हात्ती, बाँदर, बँदेललगायत जनावरको समस्या भोग्नुपरेको छ। स्थानीयवासीलाई जङ्गली जनावरबाट बाली जोगाउन हम्मेहम्मे पर्ने गरेको छ।  

वषैंदेखि जङ्गली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी–१ कै जग्गु धामीले गुनासो गरे। 'नेता चुनावका बेला आएर समस्या समाधान गर्ने आश्वासन दिनुहुन्छ', उनले भने, 'तर, चुनावपछि फर्किएर पनि हेर्दनन्, अर्को चुनावमा मत माग्न मात्रै आउँछन्, जङ्गली जनावरको समस्या ज्यूँका त्यूँ छ।' 

दोधारा चाँदनी–३ की आशा राना क्षेत्री जङ्गलबाट आउने हात्तीले राति सुत्न नपाउने गरेको गुनासो गर्छन्। 'बालीनाली भएको बेला रातभरी सुत्न पाइँदैन', उनले भने, 'जङ्गली हात्तीले बितण्डा मच्चाउँछ, बाली त बचाउन सकिँदैन, भागेर ज्यान जोगाउनुपर्ने हुन्छ।'

प्रकाशित: १७ कार्तिक २०७९ ०८:३३ बिहीबार