समाज

वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिको घरघरमै गएर स्वास्थ्य परीक्षण गर्दै मैवाखोला

गत असार ९ गते आफ्नो पालिकाको नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेमले घोषणा गरेका थिए ‘६८ वर्ष उमेर पूरा गरेका वृद्धवृद्धा र ‘क’र ‘ख’वर्गका अपाङ्गता भएका व्यक्तिका घरघरमै गएर मासिक रुपमै स्वास्थ्य परीक्षण गर्ने’। घोषणा गरेको त्यो बाचा पूरा गर्दै चालू आर्थिक वर्षको पहिलो  

चौमासिक अवधिदेखि पालिका अध्यक्ष वनेमले बिहीबारबाट अभियान सुरुवात गरेका हुन्। मैवाखोला गाउँपालिका वडा नं ४ साँघु ओदकबाट ६८ वर्ष उमेर पूरा गरेका वृद्धवृद्धा र ‘क’र ‘ख’वर्गका अपाङ्गता भएका व्यक्तिका घरघरमै गएर प्राथमिक स्वास्थ्य परीक्षण र स्वास्थ्य परार्मश सेवा सुरु भएको हो।  

पालिका अध्यक्ष वनेमले आफुले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गरेको घोषणा अनुसार अभियान प्रारम्भ भएको बताए। अभियानलाई पालिकाका ६ वटै वडाहरुका सेवाग्राहीमाझ लगिने उनले जानकारी दिए।  

अभियान अन्र्तगत सेवाग्राहीलाई पालिकाले प्राथमिक औषधिले भरिएको एक–एकथान किट बक्स समेत उपलब्ध गराएको छ। स्वास्थ्य परीक्षणमा क्रममा देखिएको स्वास्थ्य समस्याका आधारमा न्यूनतम् प्राथमिक औषधिले भरिएको किट बक्स उपलब्ध गराइने पालिकाले जनाएको छ।  

अभियान सुरु गर्नुपूर्व पालिकाले पालिकाभित्र रहेका ६८ वर्ष उमेर पूरा गरेका वृद्धवृद्धा र ‘क’र ‘ख’वर्गका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्को एकिकृत सूची तयार गरेको थियो।  

सूचीका आधारमा अब प्रत्येक महिनामा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली मासिक रुपमा पालिकाका ६८ वर्ष पूरा भएका वृद्धवृद्धा र ‘क’र ‘ख’वर्गका अपाङ्गता भएका व्यक्तिहरुको घरघरमै पुगी स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य परार्मश सेवा प्रदान गर्ने कार्यमा खटिने भएको छ।  

पालिकाले ६८ वर्ष पूरा भएका र ‘क’र ‘ख’वर्गका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्लाई नियमित अद्यावधिक गर्ने भएको छ। यसोगर्दा लाभग्राहीको सूची नियमित रुपले अद्यावधिक हुने र सहि तथ्याङ्क आउने पालिकाले ठम्याएको छ।  

नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको कार्यक्रम कार्यान्वयन चरणमा लैजाँदा खुशी लागेको पालिका अध्यक्ष वनेमले बताए। सेवाग्राहीमाझ प्रत्यक्ष रुपले घरघरमै सेवा वितरण गर्दै जान पाउनु गौरवको विषय भएको उनले बताए।

प्रकाशित: १६ कार्तिक २०७९ १०:०६ बुधबार

ताप्लेजुङको मैवाखोला गाउँपालिका