समाज

कला संस्कृति जोगाउन देउडा प्रतियोगिता

स्थानीय कला संस्कृति जोगाउन पुर्चौडी नगरपालिकाले देउडा प्रतियोगिता गर्ने भएको छ। हरिबोधनी एकादशीको अवसरमा लाग्ने कफलखाना गिरेगडा मेलाको अवसरमा खुला देउडा प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

स्थानीय कला, संस्कृतिको जगेर्ना र कलाकारको संरक्षणको लागि  कार्तिक १६ र १७ गते देउडा प्रतियोगिता गरिएको नगरप्रमुख दिपकबहादुर बमले बताए। ‘कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगडा मेला पुर्चौडीको पहिचान’ भन्ने नारासहित देउडा प्रतियोगिता सञ्चालन हुने वडा नं. १ का वडाध्यक्ष गणेशबहादुर गडाले जानकारी दिए।

प्रतियोगितामा भाग लिन चाहने देउडियाले कार्तिक १६ गते बिहानसम्म नाम दर्ता गराइसक्नुपर्ने उनले बताए। हरिबोधनी एकादशीको दिन पुर्चौडी नगरपालिका–१ स्थिति हाटको कफलखानामा ठूलो मेला लाग्ने गरेको छ।

कफलखाना गिरेगडा मेलाको नामले प्रचलित यो मेला हेर्न बैतडी, बझाङ, दार्चुला लगायत जिल्लाबाट सर्वसाधारण आउने गरेका छन्। यो मेलामा जिल्लाका विभिन्न ठाउँका ख्याती कमाएका देउडियाहरुले देउडा खेल्ने गरेका छन्।

नगरपालिकाले देउडा प्रतियोगिता राखेपछि स्थानीय देउडिया उत्साही भएको देउडा व्यवस्थापन समितिका डम्वर कुवँरले बताए। प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, दोश्रो हुनेलाई १० हजार, तेश्रो हुनेलाई नगद साढे  ७ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद ५ हजार रुपैयाँ पुरस्कार वितरण गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७९ १२:५६ सोमबार

स्थानीय कला संस्कृति जोगाउन पुर्चौडी नगरपालिकाले देउडा प्रतियोगिता गर्ने